डेढ करोडको क्रिप्टोकरेन्सी कारोबार आरोपमा २५ वर्षीय युवक पक्राउ

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

झन्डै डेढ करोड रुपैयाँबराबरको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ५ का मुकेश प्रजापतिलाई नियन्त्रणमा लिएको हो।

प्रजापतिले एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँबराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ। क्रिप्टोकरेन्सी कारोबार गर्ने विभिन्न खाताहरूमा ११ लाख ४१ हजार ९८३ रुपैयाँबराबरको अमेरिकी डलर मौज्दात रहेको पाइएको प्रहरीले जनाएको छ।

प्रजापतिले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई प्रलोभन देखाई ठगी गरेको रकमलाई क्रिप्टोकरेन्सीमा साटी कारोबार गरेको प्रहरीको आरोप छ।

बिहीबार दिउँसो साढे २ बजे माइतीघरबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।
 

सुझावित समाचार