सकियो सम्झौता अवधि, सुरु भएन दोमुख पुलको काम

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

मुगु र हुम्ला जोड्ने दोमुख पुल पाँच वर्षसम्म पनि नबनेपछि निर्माण कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्झौता अवधि सकिँदासमेत काम अघि नबढेपछि जिल्ला पूर्वाधार विकास कार्यालय मुगुले  निर्माण कम्पनीसँग जवाफ मागेको हो।

कार्यालयले सार्वजनिक सूचनामार्फत निर्माण कम्पनीलाई १५ दिनभित्र प्रमाणसहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। तोकिएको समय अवधिभित्र सन्तोषजनक जवाफ नआए प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने कार्यालयले प्रस्ट पारेको छ।

दोमुख पुल निर्माणमा भएको चरम ढिलासुस्ती, अनियमितता तथा जिम्मेवार निकायको लापरबाहीविरुद्ध मुगुका युवाहरूले सञ्चालन गरिरहेको ‘भ्रष्टाचारविरुद्ध जरा अभियान’ले निरन्तर खबरदारी गर्दै आएको थियो। अभियानकर्ताको दबाब, सञ्चारमाध्यमको निरन्तर समाचार सम्प्रेषण तथा बढ्दो जनचासोपछि सम्बन्धित निकाय कारबाही प्रक्रियातर्फ अघि बढेको हो।

अभियानका संयोजक आशिष देवकोटाले पुल निर्माणमा भएको ढिलासुस्तीबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको अभियानको निरन्तरको दबाबपछि जिल्ला पूर्वाधार विकास कार्यालय मुगुले ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको बताए।

श्री मृत सञ्जीविनी सेवा प्रालि हेटौँडाले ०७८ पुस १४ गते १५ करोड ९३ लाख ७३ हजार रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का प्राप्त गरेको थियो। सम्झौताअनुसार ०८३ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म पुलको भौतिक प्रगति शून्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुका प्रमुख कृष्ण चापागाईंले जानकारी दिए। हालसम्म डिजाइन र डुरिङ मात्रै पास गरेकाले समग्रमा २ प्रतिशत मात्रै काम भएको उनको भनाइ छ।

यसैबिच असार १० गते सम्पन्न सोरु गाउँपालिकाको गाउँसभाले दोमुख क्षेत्रमा स्थायी पुल निर्माण नहुँदासम्म आवतजावत सहज बनाउन बेलिब्रिज निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ। दोमुख पुल निर्माणमा भएको ढिलाइका कारण मुगु र हुम्लाका हजारौँ स्थानीय शिक्षा, स्वास्थ्य, व्यापार, आपतकालीन सेवा तथा दैनिक आवतजावतमा वर्षौँदेखि सास्ती भोग्दै आएका छन्। कर्णाली करिडोर हुँदै रारा पुग्ने छोटो मार्ग प्रयोग गर्ने पर्यटकसमेत प्रभावित हुँदै आएका छन्।

मुगु जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, ताँजाकोट गाउँपालिका हुम्लाका अध्यक्ष लालकेश जैसी, प्रशासकीय अधिकृत तीर्थराज शाही, पत्रकार तथा नागरिक अगुवा तथा स्थानीय सरोकारवालाहरूले हालै दोमुख पुलको संयुक्त स्थलगत अनुगमनसमेत गरेका छन्। अनुगमनका क्रममा आयोजना स्थलमा कुनै पनि कार्य अगाडि नबढेकाले अनुगमन टोलीले निर्माण कम्पनीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन्। सो आयोजना स्थलमा तत्काल विकल्पका रुपमा बेलिब्रिज निर्माण गर्नसमेत माग गरेका छन्।

सुझावित समाचार