उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छिन् । मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोली लिएर मन्त्री यादव बिहानै कार्यालयको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेकी हुन् ।
मन्त्रालयका सचिवसहित उच्चस्तरीय टोलीसहित बिहानै कार्यालय पुगेकी मन्त्री यादवले कार्यालयको वर्तमान सेवा प्रवाह, सुधार तथा डिजिटल प्रणाली कार्यान्वयनको अवस्थाबारे जानकारी लिएकी छिन्। निरीक्षणका क्रममा कम्पनी रजिस्ट्रार कार्यालयकी प्रमुख (रजिस्ट्रार) कृष्णकुमारी श्रेष्ठले मन्त्री यादवलाई स्वागत गर्दै पछिल्लो एक महिनामा कार्यालयमा गरिएका सुधारका विवरणहरू सार्वजनिक गरेकी थिइन्।
उनका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ अनुसार पुराना झन्झटिला प्रक्रियाहरू अन्त्य गर्दै पूर्ण रूपमा डिजिटल सेवा प्रणाली लागू गरिएको छ।
नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ। घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ। कार्यालयले यो डिजिटल रूपान्तरणले सेवाग्राहीको समय र लागत दुवै उल्लेखनीय रूपमा घट्ने दाबी गरेको छ।
यसैबिच, कार्यालयको संरचनागत सुधारका क्रममा २८५ कर्मचारी कटौतीको प्रस्तावसमेत अघि बढाइएको उल्लेख गरिएको छ।