बागलुङ नगरको नीति : ‘एक बोट, सयको नोट’

आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ९४ लाखकाे बजेट

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

जिल्लाको सबैभन्दा जेठो र ठुलो स्थानीय तह बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम ल्याएका थिए ।

देशैभरबाट २५ स्थानीय तहले असार १० गते बजेट ल्याउन सकेका थिएनन् । त्यसमध्ये बागलुङ नगरपालिका पनि एक थियाे। बुधबार नगरप्रमुख वसन्तकुमार श्रेष्ठद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक वर्ष ०८३/८४ का लागि उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारलाई केन्द्रमा राखिएको छ ।  नगरपालिकाको १९औँ नगरसभामा नगरप्रमुखद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलाई उच्च प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा छोरी जन्म प्रोत्साहनका लागि सञ्चालन हुँदै आएको ‘नगरको छोरी’ कार्यक्रमअन्तर्गत दिइँदै आएको पाँच हजार रुपैयाँलाई बढाएर १० हजार रुपैयाँ पुर्याउने घोषणा गरिएको छ । त्यसैगरी बाँझो जमिनमा फलफूल, कफी, टिमुर वा जडीबुटीका बिरुवा रोपेर संरक्षण गर्ने किसानलाई ‘एक बोट, सयको नोट’ कार्यक्रममार्फत पहिलो वर्ष प्रतिजीवित बिरुवामा एक सय रुपैयाँ प्रोत्साहन अनुदान दिने व्यवस्था गरिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षभित्र वडा नम्बर ९, १० र ११ लाई कालोपत्रे सडक सञ्जालमा जोड्ने, बागलुङ बजारको भलपानी व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने तथा बजारका मुख्य तथा सहायक सडकहरू स्तरोन्नति गर्ने लक्ष्य पनि लिएको छ।

कृषि उत्पादन प्रवर्द्धनका लागि सुन्तलामा प्रतिकेजी १० रुपैयाँ, हरियो तरकारीमा प्रतिकेजी पाँच रुपैयाँ, दुधमा प्रतिलिटर पाँच रुपैयाँ तथा अन्डामा प्रतिक्यारेट २० रुपैयाँ प्रोत्साहन अनुदान दिने नीति लिइएको छ। भैँसीबाट जन्मिएका पाडा–पाडी संरक्षण गर्ने किसानलाई प्रतिपशु १० हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम पनि समावेश गरिएको छ।

शिक्षातर्फ प्रत्येक माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड, डिजिटल सिकाइ प्रणाली, एआई र रोबोटिक्समा आधारित शिक्षण तथा प्रत्येक वडाबाट कृषि प्राविधिक अध्ययन गर्ने एक–एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख छ। स्वास्थ्य क्षेत्रमा बागलुङ नगर अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अन्तरंग सेवा सञ्चालन, विशेषज्ञ चिकित्सक व्यवस्थापन, पूर्ण खोप सुनिश्चितता, मानसिक स्वास्थ्य कार्यक्रम तथा विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

पर्यटन प्रवर्द्धनका लागि ‘जाऊ है बागलुङ’ अभियान विस्तार गरिने, राँयराँयकोटमा अन्तर्राष्ट्रियस्तरको रक क्लाइम्बिङ पूर्वाधार निर्माणका लागि पहल गरिने तथा होमस्टे सञ्चालन गर्नेहरूलाई वार्षिक १५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइने नीति लिइएको छ।

सुझावित समाचार