नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबिच कार्यगत एकता गर्न सकिने भए पनि पार्टी एकता सम्भव नरहेको बताएका छन्।
पार्टीको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी समूहगत र संस्थागत एकता गर्दैनौँ, तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौँ।’
अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको उल्लेख गर्दै थपे, ‘एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखियो।’ पार्टीभित्रै एकता आवश्यक रहेकामा उनको जोड थियो।
२१ फागुनको निर्वाचनलाई उनले भदौ २३ र २४ गतेको अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटकको रूपमा टिप्पणी गरे। उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कस्ले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निष्प्रभावी भए भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको जिकिर गरे।