मेलौलीका वडाध्यक्षविरुद्ध अनशनमा वडासदस्य

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

बैतडीको मेलौली नगरपालिका– ९ का वडाध्यक्षविरुद्ध वडासदस्यले आमरण अनशन सुरु गरेका छन्। नगरपालिकादेखि वडा नं. ९ जोड्ने निर्माणाधीन सडकको काममा वडाध्यक्ष लोकराज भट्टलगायतले अवरोध गरेको भन्दै वडासदस्य जनकराज भट्ट अनशन बसेका हुन्। उनीसँगै पूर्ववडा सदस्य भीमदेव भट्ट पनि अनशनमा छन्।

सडक डिभिजन कार्यालय पाटनबाट निर्माण भइरहेको तिनजोर्ना–हरडाखान हुँदै वडा नं. ९ को कार्यालय तथा विशालपुर स्वास्थ्यचौकी जोड्ने सडकको काममा अवरोध गरेकाले आमरण अनशन बस्नुपरेको पूर्ववडासदस्य भीमदेव भट्टले बताए। अनशनमा सहभागी दुवैजना मेलौली नगरपालिकाको मूलढोका छेउमै ब्यानर टाँगेर बसेका छन्।

सोमबार पालिकालाई सडकको समस्याबारे लिखित जानकारी गराएर अनशन सुरु गरेको भट्टले जानकारी दिए। सडक निर्माणमा भएको अवरोध नहट्दासम्म अनशन नतोड्ने उनले बताए। ‘हामीले पानीसमेत नखाएर अनशन सुरु गरेका छौँ, नगरपालिका र स्थानीय प्रशासनले समस्या सामाधान गर्न पहल गरोस्,’ अनशनरत वडासदस्य जनकराजले भने। तीन दिनभित्र सडक निर्माण कार्य नियमित गराउन आवश्यक पहल नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने उनको चेतावनी छ।

वडाध्यक्ष लोकराज भट्टले सडक चौडा पार्दा पहिरोको जोखिम हुने र बस्ती जोखिममा पर्ने देखिएकाले वन उपभोक्ता समिति र स्थानीयबाट विरोध भएको बताएका छन्। सडक डिभिजन कार्यालयले वडा कार्यालयसम्म सात किलोमिटर स्तरोन्नति गर्नुपर्ने ठाउँमा तीन किलोमिटरमा मात्रै काम गर्न खोजेकाले थप विवाद भएको उनले दाबी गरे।

सबै पक्षसँग समन्वय गरेर सात किलाेमिटर सडक स्तरोन्नतिको काम गरिदिए विवाद समाधान हुने उनको तर्क छ। तीन करोड रुपैयाँमा स्तरोन्नति भइरहेको उक्त सडकमा आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ।

सुझावित समाचार