संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र परिणाममुखी बनाउनुपर्छ : राष्ट्रिय सभाका अध्यक्ष

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र परिणाममुखी बनाउनुपर्ने बताएका छन्।

 मंगलबार ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति दिने सर्वोच्च मञ्च भएको उल्लेख गरे। उनले संसदमा उठ्ने आवाज जनप्रतिनिधिको व्यक्तिगत विचार मात्र नभई जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब हुनुपर्ने बताए।

कानुन निर्माण, कार्यपालिकामाथि निगरानी, बजेट तथा सार्वजनिक नीतिको समीक्षा, जनचासोका विषयको प्रतिनिधित्व र उत्तरदायित्व सुनिश्चित गर्नु संसद्का मूल दायित्व भएकाे उनले बताए। उनले संसद्को प्रभावकारिताबारे आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै समयमै आवश्यक ऐन–कानुन निर्माण, कार्यपालिकाको उत्तरदायित्व तथा जनताका समस्याको सम्बोधनबारे गम्भीर प्रश्न उठाए।

अध्यक्ष दाहालले लोकतन्त्रमा संवादको महत्त्व औँल्याउँदै असहमति लोकतन्त्रको सौन्दर्य भए पनि संवाद र सहमति यसको वास्तविक शक्ति भएको बताए। उनले संसदीय गतिविधि र नियमावलीलाई अनुसन्धानमा आधारित, जनमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।

सुझावित समाचार