एन्फामाथि प्रतिबन्ध लाग्ने अवस्था किन आयो ?
आफ्नो निर्देशन अवज्ञा गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ३ महिनाका लागि एन्फामाथि प्रतिबन्ध लगायो । तर, ५० दिनमै प्रतिबन्ध हटे पनि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले बैठक बस्ने, छलफल गरी समस्याको समाधान खोज्ने, मन्त्रालय र राखेपसित संवाद अघि बढाउने जस्ता कुनै पनि सकारात्मक पहल गर्नुभएन । निर्वाचन समितिले पनि कुनै पहल गरेन । जसले गर्दा अहिलेको यो अवस्था सिर्जना भएको हो । यो अवस्था आउनुको प्रमुख जिम्मेवारी पनि एन्फा अध्यक्षले नै लिनुपर्छ ।
यो प्रतिबन्धले नेपाली फुटबलको भविष्य कस्तो होला ?
यस प्रतिबन्धले नेपाली फुटबललाई अँध्यारो भविष्यतिर धकेलेको छ । प्रतिबन्धपछि फिफा र एएफसीबाट आउने ‘ग्रान्ट’ रोकिन्छ । त्यसबाट हाम्रा ग्रासरुट लेभलका कार्यक्रमहरू बन्द हुन्छन् । एन्फाका सम्पूर्ण गतिविधि रोकिन्छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीको सहभागिताको बाटो बन्द हुन्छ । विदेशी खेलाडीहरू नेपाल आउँदैनन् । स्थानीय गोल्ड कपहरू आयोजना गर्दैमा नेपाली फुटबलको स्तर बढ्दैन । यस्ता आन्तरिक प्रतियोगिताले खास अर्थ पनि राख्दैनन् ।
प्रतिबन्ध फुकुवा गर्न अब के गर्नुपर्छ त ?
यसका लागि एन्फा अध्यक्ष नेम्बाङ स्वयं तत्काल सक्रिय हुनुपर्छ । उहाँ साँच्चै नेपाली फुटबलको भविष्य उज्ज्वल भएको देख्न चाहनुहुन्छ भने उहाँले दुई कदम पछि हटेरै भए पनि पहल सुरु गर्नुपर्छ । उहाँले नेपाली फुटबल बचाउन चाहनुभयो भने १५ दिनमै यो प्रतिबन्ध फुकुवा हुन पनि सक्छ । त्यसका लागि उहाँले मन्त्रालय र परिषद्सँग संवाद एवं समन्वय गरी अघि बढ्नुपर्छ । मन्त्रालय या परिषद्ले मात्र चाहेर यो प्रतिबन्ध हट्दैन ।