रोप अहिले घातक हिटवेभ (तापलहर)सँग जुधिरहेको छ । तापलहरका कारण युरोपभर अहिले एकपछि अर्को उच्च तापक्रमको रेकर्ड कायम भइरहेको छ । गत मंगलबार र बुधबार फ्रान्सले रेकर्ड राख्न थालिएयताकै सबैभन्दा तातो दिनको सामना ग¥यो । देशको पश्चिमी क्षेत्रमा तापक्रम ३९ डिग्री सेल्सियसदेखि ४३ डिग्री सेल्सियसबिचसम्म पुगेको थियो ।
त्यस्तै, गत बुधबार बेलायतको तापक्रम जुन महिनाको सबैभन्दा तातो दिन साबित भयो, जुन दिन तापक्रम ३६.१ डिग्री सेल्सियस मापन भएको थियो । प्रारम्भिक तथ्यांकअनुसार, स्पेन, जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स र स्विट्जरल्यान्डका पनि धेरै स्थानहरूमा जुन महिनाको सबैभन्दा उच्च तापक्रमको रेकर्ड कायम भएका छन् । र, अवस्था अझै अन्त्य भएको छैन ।
दुर्भाग्यवश, यो पीडादायी गर्मीका कारण धेरैको ज्यान पनि गएको छ । फ्रान्समा गर्मीबाट राहत पाउन पौडी खेल्न गएका दर्जनौँ मानिसको डुबेर मृत्यु भएको छ । युरोपमा ऐतिहासिकस्तरको तापलहर देखिएकै वेला विश्वव्यापी समुद्री सतहको तापक्रमले फेरि अर्को रेकर्ड छोएको छ । युरोपलाई तापलहरले छोप्नुअघि नै अस्ट्रेलियाको मौसम ब्युरोले ‘एल निनो’ सक्रिय भएको घोषणा गरेको थियो । त्यस सामुद्रिक प्रक्रियाले अस्ट्रेलिया, एसिया र दक्षिण प्रशान्त क्षेत्रमा तातो, सुक्खा वर्ष बनाउने सम्भावना बढेर गएको छ ।
युरोपको तापलहरले चर्चा पाउनुअघि नै अप्रिलदेखि नै भारत र पाकिस्तानले निरन्तर उच्च तापलहरको सामना गरिरहेका छन् । त्यसोभए यो पछिल्लो तापलहर के कारणले चलिरहेको छ ? र, यो किन यति धेरै गम्भीर बन्यो ? औसत तापक्रमभन्दा बढीको तापक्रम लगातार तीन वा त्योभन्दा बढी दिनसम्म असामान्य रूपमा कायम भएमा तापलहर आएको मानिन्छ । यसपटक युरोपमा देखिएको तापलहरलाई दुई कारणले वैज्ञानिकहरूले असामान्य मानेका छन् :
समयअघिको उच्च तापमान
युरोपमा, वर्षको सबैभन्दा तातो समय जुलाईको मध्यदेखि अन्त्यबिचको समयमा आउँछ । तर, हालैको अनुसन्धान र अनुभवले पनि युरोपमा तीव्र गर्मीका दिनहरू एक महिनाअगाडि नै सरेको संकेत गर्छ । अहिले जुन महिनामा आएको तापलहरले पनि त्यही संकेत गर्छ । यस वर्षबाहेक सन् १९५० देखियता बिचमा अर्को एकपटक मात्र तापलहर समयअघि नै देखिएको थियो, जब युरोपेली गर्मी शिखर पुग्नुभन्दा हप्तौँअघि नै तापलहर फैलिएको थियो ।
कैयौँ प्रमाणले जलवायु परिवर्तनका कारण अहिले तापलहर छिटोछिटो र तीव्र बनेको इंगित गर्छ । एउटा अध्ययनले गत वर्ष जुन महिनामा दक्षिणपूर्वी इंगल्यान्डमा आएको तापलहरको अध्ययन गर्दा के पत्ता लाग्यो भने मानवनिर्मित हरितगृह ग्यास उत्सर्जन नभएको भए उक्त तापलहर प्रत्येक ५० वर्षमा एकपटक मात्र हुने थियो । तर, अहिले मानवसिर्जित उत्सर्जन र १.३ डिग्री सेल्सियसको तापक्रम वृद्धिले उत्पन्न जलवायु परिवर्तनका कारण यस्तो मौसमी परिघटना प्रत्येक पाँच वर्षमा एकपटक हुन थालेको अनुसन्धानकर्ताहरूले पाए ।
हरितगृह ग्यासको उच्च मात्रा
जलवायु परिवर्तन नहुँदो हो त, संसारमा यस्तो विषम तापलहर वर्षको यति अगाडि नै विरलै हुने थियो । न त अहिलेजस्तो उच्च तापक्रमको रेकर्ड नै बन्ने थिए । तर मानवसिर्जित हरित गृह ग्यासको उच्च मात्राका कारण अहिले आश्चर्यजनक परिमाणमा उच्च तापक्रम मापन हुन थालेका छन् । गत मंगलबार र बुधबार फ्रान्समा सन् १९४७ मा रेकर्ड सुरु राख्न सुरु भएदेखि कै सबैभन्दा उच्च तापक्रम रेकर्ड भयो । ती दुई दिन देशभरि औसत तापक्रम २९.९ डिग्री सेल्सियस थियो । ४१ स्थानीय मौसम स्टेसनहरूले ४३ डिग्री सेल्सियसभन्दा माथिको तथ्यांक रेकर्ड गरे ।
मंगलबार फ्रान्सका १४७ वटा सहरहरूमा इतिहासमै सबैभन्दा गर्मी जुन महिनाको रेकर्ड बन्यो । मंगलबारदेखि बुधबारसम्म उच्च तापक्रमले फ्रान्सका केही नदीहरू यति तातेका थिए तिनलाई आणविक ऊर्जा केन्द्रहरूलाई चिसो पार्न सुरक्षित रूपमा प्रयोग गर्न सकिएन ।
उही समय स्पेनमा पनि उच्च गर्मी दिन र रातका कैयौँ रेकर्ड बन्यो । एउटा स्थानमा कहिल्यै नदेखिएको लगातार तीन रात ३० डिग्री सेल्सियस वा सोभन्दा माथिको तापक्रम कायम भयो । स्पेनका केही भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्यो । पश्चिमी युरोपबाट तापलहर बिस्तारै पूर्व सर्दै गएपछि बल्ल त्यस भेगमा यो साताको बिचबाट गर्मीको लहर चरम सीमामा पुग्ने अपेक्षा गरिएको छ । तर, त्यसपछि पूर्वका पोल्यान्ड र जर्मनीले सप्ताहान्तमा उच्च गर्मी भोग्नै पूर्वानुमान गरिएको छ ।
किन लम्बिरहेको छ तापलहर ?
स्थानीय स्तरमा जब उच्च दबाब प्रणाली विकास हुन्छ तब तापको लहर थप घातक बन्छ । यी प्रणालीले ‘ढक्कन’को काम गर्छन्, जसले तापलाई पक्रेर राख्छ र सतहतर्फ नै धकेल्छ । अझ यस प्रणालीले बादललाई छिरल्ने भएकाले सूर्यको प्रकाश थप भित्रसम्म प्रवाह सहज बन्छ । व्यापकस्तरमा, तेल, कोइला र ग्यास जल्दा उत्सर्जन हुने हरित गृह ग्यासका कारण सिर्जित जलवायु परिवर्तनले तापको लहर पुनः आकार दिइरहेको छ ।
वायुमण्डलमा अतिरिक्त ताप फस्दा थप ठुलो मात्रामा मौसम ढाँचा पनि परिवर्तन हुन्छ जुन सामान्यतया पूर्ववाट पश्चिम सर्छ । यसले ढिलो गतिमा चल्ने उच्च–दबाब प्रणाली छिटोछिटो बनाउँछ र तापलहरको जोखिम बढाउँछ । सन् १९५० देखि सन् १९९९ सम्मका पाँच दशकमा युरोपले पाँचवटा तीव्र तापलहर भोगेको अनुसन्धानले देखाएको छ । जबकि सन् २००० देखि २०२१ बिचको पछिल्लो २० वर्षमै त्यस्ता तापहलर १८ वटा बनेका थिए । अझ सन् २०२२, सन् २०२३ र सन् २०२५ को चरम गर्मीको लहर ख्याल गर्ने हो भने यो संख्या २५ वर्षमा २० भन्दा बढी पुग्छ । त्यसैले उपलब्ध प्रमाणले स्पष्ट भन्छ – युरोपेली तापलहरमा जलवायु परिवर्तनको प्रभाव छ ।
उच्च आद्रताले बढाएको जोखिम
गर्मीको लहरले फ्रान्सलगायत देशहरूमा दर्जनौँको ज्यान लिइसकेको छ । युरोपेली जलवायु जोखिम मूल्यांकनका अनुसार, गर्मीको लहरले दक्षिणी युरोपभर आमनागरिकलाई गम्भीर स्वास्थ्य जोखिम निम्त्याएको छ । आगामी दिनमा दक्षिणी र मध्य–पश्चिम युरोपका आमसमुदाय गर्मीसँग सम्बन्धित रोग र मृत्युको सबैभन्दा बढी जोखिममा हुनेछन् ।
युरोपमा अहिलेदेखिको तापलहर अत्यधिक तापक्रमका अतिरिक्त उच्चआर्द्रताको संयोजनका कारण यति धेरै प्राणघातक भएको हो । यो दक्षिणी गोलार्द्धमा अनुभव हुने सामान्य सुक्खा गर्मीभन्दा पूर्ण रूपमा फरक छ । उच्च आद्र्रतायुक्त गर्मीमा बालबालिका र वृद्धवृद्धाहरू गर्मीसँग सम्बन्धित रोगको सबैभन्दा बढी जोखिममा हुन्छन् । तिनको शरीरले सहजै पसिना वाष्पीकरण गर्न र आफ्नो आन्तरिक तापक्रमलाई नियमन गर्न नसक्ने भएकाले जोखिम बढ्छ । यो जनसंख्याका लागि, आर्द्रतासँग जोडिएको अत्यधिक गर्मी अत्यन्त खतरा हुन सक्छ ।
दक्षिणी गोलार्द्ध पनि प्रभावित
ऐतिहासिक रूपमा युरोपको तपलहर प्रायः तल्लो भेगको दक्षिणी गोलार्द्धमा देखिने तापलहरसँग सम्बन्धित देखिँदैनन् । यद्यपि, जलवायु परिवर्तनले सबैतिर अत्यधिक गर्मीको जोखिम बढाइरहेको छ । अहिले हिन्द महासागरमा बनेको एल निनोको प्रभावलाई ख्याल गर्दा सन् २०२६ र २०२७ मा विश्वव्यापी औसत तापक्रम लगभग रेकर्डस्तरमा पुग्ने निश्चित छ । विश्वको बदलिँदो जलवायुका बिच अत्यधिक गर्मी अब विश्वव्यापी वास्तविकता बनिसकेको छ ।
द कन्भर्सेसनबाट