अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेका फिफा विश्वकप, २०२६ अन्तर्गत नकआउट चरणका खेल आइतबार रातिबाट सुरु भएको छ । ४८ राष्ट्रबिच समूह चरणका ७२ खेलपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुंगो लागेको हो । १६ टोली समूह चरणबाटै बाहिरिएका छन् । दक्षिण अफ्रिका र क्यानडा पहिलोपटक नकआउट चरणमा पुगेका हुन् ।
यस खेलको विजेताले नेदरल्यान्ड्स र मोरोक्कोबिचको खेलको विजेतासँग अन्तिम १६ अर्थात् प्रिक्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाट दुईपटकको पूर्वविजेता उरुग्वे जितविहीन हुँदै बाहिरियो । फिफाले यसपटक उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट आठ टोली पनि नकआउट चरण पुग्ने प्रावधान बनाएको थियो । १२ समूहमा विभाजन गरेर समूह चरणको खेल खेलाइएको थियो ।
१२ वटै समूहको चौथो स्थानमा रहने १२ टोली र तेस्रो हुनेमध्ये उत्कृष्ट ८ मा नपरेका चार गरी १६ टोलीको विश्वकप यात्रा समूह चरणमै सकिएको छ । तेस्रो भएर छनोट हुन असफल टोलीमा उरुग्वे, दक्षिण कोरिया, इरान र स्कटल्यान्ड रहे । चेक रिपब्लिक, कतार, हैटी, टर्किए, कुरासाओ, ट्युनिसिया, न्युजिल्यान्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्वेकिस्तान र पानामा आ–आफ्नो समूहका पुछारमा रहे । समूह चरणमा अर्जेन्टिनी कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक पूरा गरे । मेसी विश्वकपमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । उनी लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । समूह चरणमा क्यानडाका जोनाथान डेभिड र फ्रान्सका उस्मान डेम्बेलेले पनि ह्याट्रिक गरेका थिए ।
ब्राजिल–जापान
जापान र ब्राजिलबिचको प्रतिस्पर्धा सम्भवतः नकआउट चरणकै सबैभन्दा हाई क्लासको हुनेछ । यो खेल सेलेकाओ र समुराई ब्लबिचको पनि हो । पाँचपटकको विजेता ब्राजिलमाथि जापानले गत अक्टोबरमा ३–२ को ऐतिहासिक जित निकालेको थियो । एसियाकै बलियो टोली जापानले ब्राजिलविरुद्ध कुनै योजना बनाएको छैन । उसले आफ्नो स्वाभाविक खेल खेल्नेछ । ब्राजिलले पनि एसियन टोली जापानलाई कमजोर रूपमा लिएको छैन । विश्वकपमा यी दुई टोलीबिच अन्तिमपटक सन् २००६ को समूह चरणमा प्रतिस्पर्धा भएको थियो । जसमा ब्राजिल ४–१ ले विजयी रह्यो ।
जर्मनी–पाराग्वे
नकआउट चरणमा अर्को रोमाञ्चक प्रतिस्पर्धा जर्मनी र पाराग्वेबिच हुन सक्छ । यो दक्षिण अमेरिकी तथा युरोपियन शैलीबिचको भिडन्त पनि हो । जर्मनी आफ्नो समूह चरणको अन्तिम खेलम इक्वेडरसँग २–१ ले पराजित भएको थियो । १२ वर्ष विश्वकपको नकआउट चरणमा पुगेको जर्मनीले पाराग्वेलाई हल्का रूपमा लिनेछैन । तर, जर्मनीले अप्रत्याशित नतिजा डार्क हर्स टोलीबाट व्यहोरेको छ । पाराग्वेले आफ्नो स्वाभाविक खेल देखाउँदा जर्मनी दबाबमा पर्न सक्छ । सन् २००२ को विश्वकपमा जर्मनीले पाराग्वेलाई १–० ले हराएको थियो ।
नेदरल्यान्ड्स–मोरोक्को
अफ्रिकन टोली मोरोक्को चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलिस्ट हो । पछिल्लो समयमा मोरोक्कोले अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । समूह चरणमा मोरोक्कोले ब्राजिलसँग १–१ को बराबरी नतिजा निकालेको थियो । नेदरल्यान्ड्स आफ्नो समूहको विजेता हो । मोरोक्कोसँग ठुलो प्रतिद्वन्द्वीविरुद्ध खेल्ने बानी परेको छ । नेदरल्यान्ड्सले मोरोक्कोको दरिलो डिफेन्स र चुस्त स्ट्राइकरविरुद्ध उत्कृष्ट खेल्नुपर्नेछ ।
आइभोरी कोस्ट–नर्वे
पहिलोपटकको विश्वकप सहभागितामै एर्लिन हाल्यान्डले उच्चकोटिको प्रदर्शन गरिरहेका छन् । लगातार दुई खेलमा समान दुई गोल गरेका हाल्यान्डले फ्रान्सविरुद्धको खेलमा आराम पाएका थिए । डालास मैदानमा हुने प्रतिस्पर्धामा आइभोरी कोस्टले नर्वेको स्पिड तथा काउन्टरबाट जोगिनुपर्छ । नर्वेको आक्रामण शैली पूरै पँखेटाझैँ छ । सबै खेलाडी एकैपटक अगाडि बढेर आक्रमण गर्न सक्छन् ।
फ्रान्स–स्विडेन
विश्वकपकै साबिक उपविजेता फ्रान्सले युरोपकै प्रतिद्वन्द्वी स्विडेनसँग राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्दै छ । स्विडेनका अधिकांश खेलाडीले इंग्लिस प्रिमियर लिग विजेता आर्सनलबाट खेलेका छन् । एक किसिमले स्विडेन सेट टिम हो । यसविपरीत फ्रान्स उत्कृष्ट सेपमा छ । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पे र डेम्बेले विश्वकपको गोल्डेन बुटको दाबेदारीमा उभिएका छन् । फ्रान्सले स्विडेनको डिफेन्स लाइन तोड्नुपर्ने देखिन्छ ।
मेक्सिको–इक्वेडर
मेक्सिकोले दक्षिण अमेरिकी राष्ट्र इक्वेडरलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । समूह ‘ए’को विजेता मेक्सिकोले इक्वेडरविरुद्ध सजक भएर खेल्नुपर्छ । इक्वेडरले समूह चरणको अन्तिम खेलमा जर्मनीलाई हराएको थियो । यसकारण इक्वेडरको आत्मविश्वास बलियो छ । यो खेल ल्याटिन अमेरिकी शैलीमा हुनेछ । यस खेलको रमाइलो पक्ष नै उनीहरूबिच एकअर्काको कमजोर र बलियो पक्षसँग परिचित छन् ।
इंग्ल्यान्ड–कंगो
नकआउट चरणमा तुलनात्मक रूपमा इंग्ल्यान्डले सहज प्रतिद्वन्द्वी पाएको छ । ५२ वर्षपछि विश्वकपमा स्थान बनाएको अफ्रिकी राष्ट्र कंगोले समूह चरणमा रक्षात्मक शैली अपनाएको थियो । प्रशिक्षक थोमस टुचलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले आक्रामक रूपमा खेलेको देखिन्छ । समूह चरणको दोस्रो खेलमा इंग्ल्यान्डले घानासँग गोलरहित बराबरी खेलेको थियो । विपक्षी टोलीले शारीरिक तथा स्पिड खेल्दा इंग्ल्यान्ड यस पक्षमा कमजोर देखिन्छ । जुन घानासँगको खेलमा देखिएको थियो । पुनः एकपटक अफ्रिकन राष्ट्र नै प्रतिद्वन्द्वी पाउँदा इंग्ल्यान्डले फरक रणनीति बनाउनेछ ।
बेल्जियम–सेनेगल
बेल्जियमले अफ्रिकी राष्ट्र सेनेगललाई नकआउट चरणको प्रतिद्वन्द्वी पाएको छ । फ्रान्सको समूहमा रहेको सेनेगलले पहिलो खेलबाहेक अन्यमा सुधारिएको प्रदर्शन गरेको थियो । बेल्जियम भने उत्कृष्ट फर्ममा छ । तर, सेनेगलले बेल्जियमलाई निराश बनाउन सक्ने आधार छन् । उत्कृष्ट तेस्रो भएर नकआउट चरणमा पुगेको सेनेगलले आक्रामक तथा डिफेन्स रणनीतिका साथ प्रतिस्पर्धा गर्नेछ ।
अमेरिका–बो. हर्जगोभिना
सान फ्रान्सिस्कोमा आयोजक अमेरिकाले पहिलोपटक नकआउट चरण स्थान पक्का गरेको बोस्निया हर्जगोभिनाको प्रतिस्पर्धा गर्दै छ । बोस्नियाले चारपटकको विजेता इटालीलाई युरोपियन प्लेअफमा स्तब्ध पार्र्दै विश्वकपको टिकट पक्का पारेको हो । समूह चरणमा त्यति सुधारिएको प्रदर्शन गर्न नसकेको बोस्नियाले आयोजक राष्ट्र अमेरिकालाई कडा चुनौती दिने अपेक्षा छ । अमेरिका भने घरेलु मैदान र समर्थकको फाइदा लिने दाउमा छ ।
स्पेन–अस्ट्रिया
विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रमा स्पेन पर्छ । तर, प्रतियोगिताकै नवप्रवेशी केप भार्डेविरुद्ध स्पेन फिनिसिङमा कमजोर देखियो । दोस्रो खेलमा युवा स्ट्राइकर लामिन यामलको आगमनसँगै स्पेनको फाइनल थर्ड बलियो देखियो । अहिले युरोपियन राष्ट्र अस्ट्रिया प्रतिद्वन्द्वी पाउँदा स्पेनले आफ्नो रणनीतिमा सुधार गर्ने अपेक्षा छ ।
पोर्चुगल–क्रोएसिया
क्रोएसिया र पोर्चुगलका दुई भेट्रान खेलाडीबिचको महाभिडन्त हो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका लुका मोड्रिचले विश्वकपलाई ‘लास्ट डान्स’ भनेका छन् । सम्भवतः उनीहरूको यो नै अन्तिम विश्वकप सहभागिता हो । रोनाल्डोले सन् २००६ देखि विश्वकप खेल्दै आइरहेका छन् । लुका पनि ४० वर्षका भइसकेका छन् । उनी पनि अर्कोपटकको विश्वकपमा नदेखिन सक्छन् । समूह चरणमा यी दुवै टोलीको नतिजामा उतारचढाव आयो ।
स्विट्जरल्यान्ड–अल्जेरिया
स्विट्जरल्यान्डको खेल आक्रामक र छरितो छ । अल्जेरिया पनि यस्तै किसिमले खेल्छ । अल्जेरिया पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो । त्यसपछि उसले खेलमा सुधार गरी नकआउट चरण स्थान बनायो । तुलनात्मक रूपमा स्विट्जरल्यान्डभन्दा अल्जेरियाले दबाब सामना गर्नुपर्ने हुन्छ ।
अस्ट्रेलिया–इजिप्ट
एसिया तथा अफ्रिकाका शक्तिशाली राष्ट्रबिचको प्रतिस्पर्धामा दर्शकले रोमाञ्चकता पाउनेछन् । इजिप्टका मोहमद सलाहले अस्ट्रेलियाको डिफेन्स लाइन कसरी चिर्छन् भन्ने प्रश्न छ । त्यही नै युरोपियन बेसमा फुटबल खेलिरहेका खेलाडीले भरिएको अस्ट्रेलियाले पनि इजिप्टविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्ने हो । इजिप्ट दोस्रोपटक नकआउट चरणमा पुगेको राष्ट्र हो ।
अर्जेन्टिना–केप भार्डे
यो खेल अर्जेन्टिनी कप्तान लियोनल मेसी र भार्डेका अनुभवी गोलरक्षक भोजिन्हाबिचको लडाइँ पनि हो ।
मेसी सर्वाधिक ६ गोलका साथ गोल्डेन बुटको दाबेदारीमा अगाडि छन् । भार्डेले विश्वकपमा सशक्त बचाउ गर्दै चर्चा कमाएको छ । समूह चरणमा भोजिन्हाले लगातार दुई खेलमा क्लिन सिट राखेका थिए । भोजिन्हाकै उत्कृष्ट प्रदर्शनमा केप भार्डेले स्पेनलार्ई गोलरहित बराबरीमा रोकेको थियो ।
कोलम्बिया–घाना
पोर्चुगललाई गोलरहित बराबरीमा रोक्दै कोलम्बियाले नकआउट चरण स्थान गरेको हो । घानाले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । दुवै टोलीको समानता भनेको बल पोसेसन हो ।