ब्रिटिस राजनीतिमाथि सामान्य मात्र चासो राख्ने व्यक्तिहरूलाई ‘लिभ (छाड्ने)’ र ‘रिमेन (रहने)’ दुई पदावलीको धेरै परिचय दिइरहनुपर्दैन । यी दुई शब्दले कुनै ब्रिटिस मतदाताको बेलायत युरोपेली संघमा रहने कि नरहने भन्ने अडानलाई मात्र नजनाई तिनको फराकिलो विश्वास र मूल्यबारे संकेत गर्छ । यी शब्द ब्रिटिस राजनीतिमा समूह पहिचानका रूपमा विकास भएका छन्, जसलाई हरेक पक्षले अर्को शिविरलाई अपमानजनक रूपमा चिनाउन प्रयोग गर्न थालेको धेरै भयो ।
यी राजनीतिक ‘बिल्ला’हरू ब्रेक्जिट जनमतसंग्रहको १० वर्षपछि पनि शक्तिशाली रहनुले ब्रिटिस मतदाता अझै यसबाट बाहिरिन नसकेको देखाउँछ । राजनीतिज्ञहरूले अरस्तुले भनेजस्तै ठुलो भिडलाई आफ्नो पक्षमा मनाउने उपाय कसरी प्रयोग गर्छन् भन्नेबारे मलाई विशेष रुचि छ । अरस्तुले तीनवटा मनाउने उपायको चर्चा गरेका छन्– ‘इथोस’ (वक्ताको चरित्रले नै आममानिसलाई गर्ने आकर्षण), प्याथोस (भावनात्मक बयानबाजीमार्फत तान्ने शैली) र लोगोस (बलियो तर्कमार्फत गरिने आकर्षण) ।
ब्रिटिस राजनीतिक बहसमा ‘ब्रेक्जिट प्रभाव’ जनमतसंग्रहको सबैभन्दा हानिकारक विरासतमध्ये एक हो । यसले गर्दा राजनीतिक बहसमा इथोस र प्याथोस धेरै मूल्यवान् भएका छन् भने लोगोस छायामा पर्दै गएको छ । ब्रिटिस मतदाता चाहे ‘लिभ’ पक्षका हुन् वा ‘रिमेन’ पक्षका, उनीहरू यस परिर्वतनबाट प्रभावित छन् । ब्रेक्जिट बहसका क्रममा कैयौँपटक असभ्य बयानबाजी भएको थियो । जनमतसंग्रहमा देखिएको चर्को बयानबाजी सन् २०१६ र सन् २०१९ बिच भएका संसदीय चुनावमा पनि देखियो । त्यतिवेला ब्रिटिस पत्रकारले नै राजनीतिक बहस किन यति धेरै विषाक्त भयो भन्ने प्रश्न गरेको सुनिन्थ्यो ।
ब्रेक्जिटमा ‘लिभ’ पक्षको जितका लागि तिनका पक्षधरले बढी भावनात्मक रूपमा आफ्नो भाष्य प्रस्तुत गर्न सक्नुलाई श्रेय दिइएको थियो । त्यस क्रममा उक्त समूहले अभिजात वर्ग भर्सेस जनताको भाष्यलाई व्यापक बनाएको थियो, जसमा ‘पपुलिजम’को झल्को देखिन्थ्यो । उसो त पपुलिजम केही विवादित शब्द हो तैपनि अनुसन्धानले यस प्रकारको राजनीति गर्नेको एक सामान्य विशेषता आफूलाई जनताको पक्षबाट ‘अभिजात वर्ग’विरुद्ध लड्ने समूहमा प्रस्तुत गर्नु हो ।
पपुलिस्टहरू ‘जनता’ र ‘अभिजात वर्ग’बिच स्पष्ट विभाजन सिर्जना गर्छन् । तिनका भाषामा अभिजात वर्ग सधैँ लोभी, भ्रष्ट, अयोग्य वा केवल दुष्ट मात्र हुन्छन् । अर्कातर्फ ‘जनता’ सद्गुणी र सोझा हुन्छन् जसमाथि अभिजात वर्ग शोषण गर्न उद्यत हुन्छन् । उनीहरू राजनीतिलाई यी विरोधी पक्षबिचको प्रतिद्वन्द्विता बनाउन लाग्छन् । र, नयाँ राजनीतिक माहोलमा तिनै राजनीतिज्ञ सफल हुन्छन्, जो आफूलाई जति बढी अभिजात वर्गविरुद्ध जनताको पक्षमा रहेको देखाउन सक्छन् ।
सन् २०२० मा आएको पुस्तक ‘ब्रेक्सिटल्यान्ड’अनुसार युरोपेली संघ छोड्ने पक्षको जितमा पहिलोपटक ब्रिटिस राजनीतिमा निर्णायक निर्णय आर्थिक कारणले नभई पहिचानको भावनाका आधारमा लिइएको थियो । पुस्तकका लेखकद्वयको तर्कअनुसार ब्रेक्जिट जनमतसंग्रह आफैँले ‘लिभर (इयू छाड्नुपर्ने पक्षधर)’ र ‘रिमेनर्स (रहनुपर्ने पक्षधर)’का रूपमा पहिचान गर्नेबिच विभाजन सिर्जना गरेको थिएन । तर, जब दुई पक्ष अन्य कैयाैँ मुद्दामा पनि स्पष्ट विभाजित रहेको विषयमाथि प्रकाश पा¥यो दुई पक्ष अलग शिविरमा रहेको महसुस गर्न थाले ।
ब्रेक्जिटपछि पनि ब्रिटिस राजनीतिका निर्णायक मुद्दामा अर्थतन्त्रप्रधान रहेन । त्यसपछिको राजनीति तपाईं ‘जनता’को हिस्सा होइन भने ‘अभिजात वर्ग’को अंश हो भन्ने भाष्यमा बदलियो । बेलायतका निवर्तमान प्रधानमन्त्री केयर स्टार्मर र उनको सरकारको अलोकप्रियतालाई पनि यही राजनीतिको परिणामका रूपमा हेर्न सकिन्छ । स्टारमरको असफलतामा उनले आफ्नो कामका प्रचार गर्न नसकेको, राष्ट्रसँग भावनात्मक रूपमा जोडिने भाष्य सिर्जना गर्न नसकेको जस्ता विश्लेषण भइरहेको छ । स्टारमर र उनको सरकारको पतनसँगै अब एक सोझो ‘टेक्नोक्रेट’ले राजनीतिक सफलताको मार्ग पहिल्याउन सक्छ भन्ने विश्वास पनि मरेको छ । ब्रेक्जिटको १० वर्षपछि देशमा नयाँ दल ‘रिफर्म युके’ र ग्रिन पार्टीको लोकप्रियतालाई उही ब्रिटिस राजनीतिमा मौलाएको गुनासो राजनीतिको परिणामका रूपमा व्याख्या गर्न सकिन्छ ।
खासमा ब्रेक्जिट आफैँमा उही गुनासो राजनीतिको परिणाम थियो । तर, ब्रेक्जिटले जनताको मूल कारण सम्बोधन गर्ने कुरा थिएन र गरेन पनि । बरु यसले राजनीतिलाई दुई पहिचानमा विभाजित समूहबिचको ‘गर कि मर’को लडाइँमा बदलिदियो । यति लामो समयपछि पनि ‘लिभ’ र ‘रिमेन’ पक्षधर अझै पनि सन् २०२६ मा बेलायतका प्रमुख राजनीतिक चरित्र बनेर बसेका छन् । जारी राजनीतिक भाष्य बदल्न चाहने कुनै पनि राजनीतिज्ञसँग उत्कृष्ट वक्तृत्वकौशल हुनु आवश्यक छ । १० वर्षपछि पनि अवस्था नबदलिनुले ब्रिटिस राजनीतिज्ञमा यो सिप कति दुर्लभ रहेछ र समाजको मिलन अझै कति चुनौतीपूर्ण छ भनेर देखाउँछ ।
(लेखक ओपन विश्वविद्यालयका अध्येता हुन्) द कन्भर्सेसनबाट