शनिबार १० बजेसम्मको प्रमुख १० खबर

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

लेखा अधिकृतद्वारा श्रीमती हत्या प्रकरण : चारजनालाई थुनामा पठाउन अदालतको आदेश

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दोघर्रेनिवासी कमला खड्का वलीको हत्या मुद्दामा चारजनालाई पुर्पक्षकालाग थुनामा राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ। यसअघि जिल्ला अदालत दाङले श्रीमान् गोपाल वलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो, भने बुबा कर्णबहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला वलीलाई धरौटीमा छोड्न आदेश गरेको थियो। त्यसपछि पीडितले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार अन्य तीनजनालाई पनि  पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो। 

एकैदिन देशका पाँच जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

देशका विभिन्न पाँच जिल्लामा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सिराहाको नरहा गाउँपालिका–३ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिहान करिब ८ बजे अज्ञात सवारीसाधनले पैदलयात्री धनुषाको मिथिला नगरपालिका–१०, प्रगति टोल घर भई हाल नरहा–३, नयाँ चोहर्वामा होटेल व्यवसाय सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णुप्रसाद न्यौपानेलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा बिहान ९:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ।

रास्वपा उपसभापतिमा पराजित भएपछि डा. तोसिमा कार्कीको सन्देश : ‘पार्टीको आवाज हुँ, रहिरहनेछु’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा पराजित भएपछि डा. तोसिमा कार्कीले पार्टीका प्रतिनिधि, समर्थक र शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छिन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले  महाधिवेशनको सम्पूर्ण यात्रालाई आफ्नो जीवनको अविस्मरणीय अनुभव भएको उल्लेख गर्दै संगठनबाट पाएको माया, साथ, विश्वास र शुभेच्छाले आफूलाई अझ जिम्मेवार र भाग्यमानी महसुस गराएको बताइन्।

डा. कार्कीले सात दिनसम्म घाम, पानी, हिलो र प्रचण्ड गर्मी सहेर मतदान प्रक्रियामा सहभागी भएका प्रतिनिधि तथा आफ्ना समर्थकप्रति विशेष धन्यवाद व्यक्त गरेकी छिन्। उनले महाधिवेशनमा देखिएको उत्साह, ऊर्जा, धैर्यता, सहिष्णुता र सद्भावको पनि प्रशंसा गरेकी छिन्।

रास्वपाको पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्यमध्ये ४९ महिला निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । केन्द्रीय समिति, पदाधिकारी तथा सदस्यहरूको निर्वाचनसँगै महाधिवेशन औपचारिक रूपमा समापन भएसँगै संस्थागत वैधता प्राप्त गरेको छ ।

रास्वपाको पहिलो महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यमध्ये ४९ जना महिला छन् । शुक्रबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार खुला, समावेशी तथा प्रदेशगत क्लस्टरबाट भएको निर्वाचनमा ५० पुरुष र ४९ महिला विजयी भएका हुन् ।

नागढुंगा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टबाट ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला, सिलगुडी चम्पासारीनिवासी ३४ वर्षीया मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरूलाई नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको हो।

सवारी दुर्घटनामा परी स्वर्गद्वारी नगरपालिकाका उपमेयरको निधन

प्युठानको स्वर्गद्वारी नगरपालिका–२, बांगेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज रानामगरको निधन भएको छ।

प्रहरीका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका ५० वर्षीय उपमेयर रानामगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रानामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दाङको एक खानेपानी समितिमा कांग्रेस, एमाले र रास्वपाको गठबन्धनलाई हराउँदै नेकपा विजयी

दाङको एक खानेपानी समितिमा कांग्रेस, एमाले र रास्वपाको गठबन्धनलाई हराउँदै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) विजयी भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ७ स्थित बुटनिया–बुट्टीपुर खानेपानी तथा सरसफाइ आयोजना समितिको शनिबार भएको निर्वाचनमा रास्वपाका एकजना सदस्यबाहेक अन्य सबै पदाधिकारी तथा सदस्यमा नेकपा नै विजयी भएको हो।

कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का रद्द गर्ने प्रक्रिया सुरु

जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गअन्तर्गत निर्माण कार्य अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।

कार्यालयले १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै कालिकोट, जुम्ला र मुगु जिल्लामा रहेका ठेक्काहरू सम्झौताअनुसार समयमा सम्पन्न नभएकाले ठेक्का अन्त्यको प्रक्रिया सुरु गरिएको जनाएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले सम्झौतापछि पनि काममा अपेक्षित प्रगति नगरेकाले कानुनी प्रक्रिया अघि बढाइएको हो।

नमुना विद्यालयमा दलित महिला अध्यक्ष

बैतडी सदरमुकामकाे वीरेन्द्र माविकाे अध्यक्षमा पारवती भुल चयन भएकी छिन्। जिल्लाकाे नमुना विद्यालयसमेत रहेकाे वीरेन्द्र माविले पहिलाेचाेटी महिलाकाे नेतृत्व पाएकाे प्रधानाध्यापक हर्कबहादुर चन्दले बताए। 

विद्यालय व्यवस्थान समितिका लागि चारजना सदस्यहरुमध्ये जनक भट्ट, नरेश ठगुन्ना र खीमा थापा आकांक्षी थिए। छलफल गर्दै जाँदा अन्तिममा चाेैथाे सदस्यकाे रूपमा रहेकी पारवतीलाई नेतृत्व दिन सबै सहमत भएपछि उनलाई अध्यक्षमा चयन गरिएकाे दशरथचन्द नगरपालिका-४ का वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य भानदेव भट्टले जानकारी दिए।

आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अन्तिम चरणमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठन गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि सुरु गरेको छ।

समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिरहेको जनाएको छ। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार