बैतडी सदरमुकामकाे वीरेन्द्र माविकाे अध्यक्षमा पारवती भुल चयन भएकी छिन्। जिल्लाकाे नमुना विद्यालयसमेत रहेकाे वीरेन्द्र माविले पहिलाेचाेटी महिलाकाे नेतृत्व पाएकाे प्रधानाध्यापक हर्कबहादुर चन्दले बताए।
विद्यालय व्यवस्थान समितिका लागि चारजना सदस्यहरुमध्ये जनक भट्ट, नरेश ठगुन्ना र खीमा थापा आकांक्षी थिए। छलफल गर्दै जाँदा अन्तिममा चाेैथाे सदस्यकाे रूपमा रहेकी पारवतीलाई नेतृत्व दिन सबै सहमत भएपछि उनलाई अध्यक्षमा चयन गरिएकाे दशरथचन्द नगरपालिका-४ का वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य भानदेव भट्टले जानकारी दिए।
बि.सं.२०११ सालमा स्थापना भएकाे याे बिद्यालयकाे अध्यक्षमा चयन भएकी भुल दलित आन्दाेलनमा दुई दसक देखि सक्रिय महिला हुन्। उनी २०७४ सालमा दशरथचन्द नगरपालिकाकाे कार्यपालिका सदस्यसमेत रहेकी थिइन्।
विद्यालय व्यवस्थापन समितिमा एकजना शिक्षक प्रतिनिधि र दुईजना उद्याेग वाणिज्य संघबाट मनाेनीत गरी समितिलाई पूर्णता दिइने प्रअ चन्दले बताए।