तुलसीपुरमा करिब २९ ग्राम ब्राउन सुगरसहित फरार अभियुक्त पक्राउ

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका–१४, खौसापुरस्थित ड्यामनजिकबाट प्रहरीले करिब २९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर–१३ निवासी २८ वर्षीय सचिन नेपालीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो। खोजतलासका क्रममा उनले लुकाएर राखेको ४३ वटा साना प्याकेटमा रहेको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद पदार्थको प्लास्टिकसहित तौल ३७ ग्राम ४९० मिलिग्राम र शुद्ध तौल २९ ग्राम १४० मिलिग्राम रहेको छ। साथै, उनको साथबाट २४ हजार ८५० रुपैयाँ नगद, एउटा स्मार्टफोन र दुईवटा साधारण मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद लागुऔषध, नगद तथा मोबाइल नियन्त्रणमा लिई सचिन नेपालीलाई कानुनबमोजिम पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका नेपाली यसअघि जबर्जस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तसमेत रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार