खाँडादेवी गाउँपालिकाका प्राविधिक कर्मचारीहरूमाथि स्थानीय केही व्यक्तिले हातपात गरेपछि सो गाउँपालिकामा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीले संयुक्त रूपमा बिहीबार राजीनामा पेस गरेर काम ठप्प पारेका छन् । सो गाउँपालिका वडा नं. ५ मा खानेपानीका लागि विनियोजित एक लाख रुपैयाँबाट खानेपानी लाइन खन्ने र पुर्ने कामको लागि प्राविधिक इस्टमेट भएको थियो ।
इस्टमेटअनुसारको काम नभएपछि प्राविधिक कर्मचारीले जति काम भयो त्यति मात्रैको मूल्यांकन गरी कामअनुसारको रकम मात्रै भुक्तानी गर्ने भनेपछि सोही विषयलाई लिएर खाँडादेवी गाउँपालिका– ५ का प्रेम तामाङले सबइन्जिनियर हरि मानन्धरलाई हातपात गरेका थिए ।
सोही विषयलाई लिएर गाउँपालिकाका सबै प्राविधिक कर्मचारीले सुरक्षाको प्रत्याभूति र दोषीउपर कानुनी कारबाही नभएसम्म काममा नफर्कने जनाउँदै सामूहिक राजीनामा प्रमुख प्रशासकीय अधिकृतसमक्ष बुझाएको खाँडादेवी गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुंगेलले जानकारी दिए ।
उनले भने, ‘काम भएअनुसारको प्राविधिक मूल्यांकन गरी त्यहीअनुसार रकम भुक्तानी गर्नेभन्दा तामाङले पूरै रकम नदिए तँलाई मार्छु भन्दै कर्मचारीमाथि गालीगलौज गर्ने, हातपात गर्ने र ज्यान लिनेसम्मको धम्की दिएकाले यस्तो अवस्थामा कर्मचारीले फिल्डमा गएर काम गर्न सक्ने अवस्था नभएपछि बाध्य भएर राजीनामा दिनुपरेको बताए ।
प्राविधिक कर्मचारीमाथि हातपात गर्ने तामाङलाई इलाका प्रहरी कार्यालय चोप्राङले हिजै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि वढाएको जनाएको छ । प्राविधिक कर्मचारीहरूले राजीनामा बुझाएपछि सो गाउँपालिकामा भए–गरेका विकास निर्माणका कामहरूको अनुगमन, मूल्यांकन भुक्तानीलगायतका सबै कामहरू रोकिएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेशकुमार यादवले जानकारी दिए । उनका अनुसार हिजोको घटनालाई लिएर आज (शुक्रबार) छलफलका लागि इलाका प्रहरी कार्यालय चोप्राङमा डाकिएकाले त्यसतर्फ जान लागेको बताए ।