जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ ले सुनिश्चित गरेका प्रमुख उपलब्धिहरूको संरक्षण र संस्थागत विकासमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक हक, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षण संविधानका ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ ।
यादवले यी उपलब्धिहरूलाई थप सुदृढ गर्दै समानता, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको लक्ष्य हासिल गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई कमजोर बनाउने वा भत्काउने कुनै पनि प्रयास भए त्यसको सशक्त प्रतिरोध हुने चेतावनी दिँदै यस्ता गतिविधिले मुलुकलाई पुनः द्वन्द्व र अशान्तितर्फ धकेल्न सक्ने बताए।