- राजनीतिक बैठक, सार्वजनिक जुलुस वा परम्परागत सञ्चारमाध्यमको सट्टा लोकतान्त्रिक सहभागितामा युवाको भेट डिजिटल माध्यममार्फत भइरहेको छ
अघिल्ला पुस्ताका लागि सार्वजनिक क्षेत्र भौतिक स्थल थियो । तर, आज लाखौँ युवाका लागि यो डिजिटल छ । सात करोड ७० लाखभन्दा बढी मानिसले इन्टरनेट प्रयोग गर्ने बंगलादेशमा सामाजिक सञ्जाल प्लाटफर्म{हरू नागरिक संलग्नताका लागि केन्द्रीय स्थान बनेका छन् । युवाले यी प्लाटफर्म एकले अर्कालाई सञ्चार गर्न मात्र नभई सार्वजनिक विषयमा छलफल गर्न, सामुदायिक पहल व्यवस्थित गर्न, जानकारीमा पहुँच राख्न, परिवर्तनको वकालत गर्न र संस्थाहरूलाई जवाफदेही बनाउन प्रयोग गर्छन् । राजनीतिक बैठक, सार्वजनिक जुलुस वा परम्परागत सञ्चार माध्यमको सट्टा लोकतान्त्रिक सहभागितामा युवाको पहिलो भेट डिजिटल माध्यममार्फत बढ्दो रूपमा भइरहेको छ ।
यो वास्तविकतालाई बेवास्ता गर्न झन् गाह्रो हुँदै गएको छ । धेरै युवा बंगलादेशीका लागि डिजिटल प्लाटफर्महरू नागरिक र लोकतान्त्रिक सहभागितामा सबैभन्दा पहुँचयोग्य प्रवेशविन्दु बनेका छन् । बंगलादेशबारे हालै प्रकाशित ‘डिजिटल डेमोक्रेसी इनिसिएटिभ’ (डिडिआई) ले यो परिवर्तनशील परिदृश्यलाई प्रतिबिम्बित गर्छ ।
डिडिआईले त्यस्ता प्लाटफर्मले नागरिक सहभागिता, राजनीतिक संलग्नता र जानकारीमा पहुँचलाई कसरी पुनः आकार दिइरहेका छन् भन्ने प्रकाश पार्छ । ‘भर्चुअल कनेक्टिभिटी’ विस्तार हुँदै जाँदा यी प्लाटफर्मले नागरिकलाई (विशेषगरी युवालाई) जानकारी पहुँच गर्न, सार्वजनिक चासोका विषयमा संलग्न हुन, समुदायसित जोडिन र परम्परागत स्थानभन्दा बाहिर नागरिक जीवनमा भाग लिन बढ्दो रूपमा सक्षम बनाइरहेका छन् ।
साथै, प्रतिवेदनले गलत सूचना, डिजिटल अधिकार, प्लाटफर्म शक्ति र नियामक निरीक्षणबारे बढ्दो चिन्तालाई प्रकाश पार्छ । साथै, यसले बढ्दो डिजिटल भविष्यको अवसर र जोखिम दुवैलाई लोकतान्त्रिक समाजले कसरी प्रतिक्रिया दिनुपर्छ भन्नेबारे महत्वपूर्ण प्रश्न उठाउँछ । तैपनि, धेरैजसो नीतिगत छलफल मुख्यतया जोखिम, नियन्त्रण र प्रतिबन्धको चस्मामार्फत सामाजिक सञ्जाललाई हेर्न केन्द्रित हुन्छन् । नीति निर्माताहरू प्रायः डिजिटल प्लाटफर्मसँग सम्बन्धित जोखिम व्यवस्थापनमा ध्यान केन्द्रित गर्छन्, जबकि यी ठाउँहरू नागरिक सहभागिता, सार्वजनिक संलग्नता र लोकतान्त्रिक अभिव्यक्तिका लागि कति महत्वपूर्ण माध्यम बनेका छन् भन्नेबारे बेवास्ता गर्छन् ।
यो बुझाइविना बनाइएका नियमले वैध सरोकारलाई सम्बोधन गर्न सक्छन्, तर तिनीहरूले अनजानमा धेरै युवा सार्वजनिक जीवनमा संलग्न हुने ठाउँलाई पनि साँघुरो पार्न सक्छन् । अन्तर्राष्ट्रिय संस्थाहरूले यो वास्तविकतालाई बढ्दो रूपमा पहिचान गरिरहेका छन् । इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) ले इन्टरनेट शासनलाई आकार दिन युवालाई संलग्न गराउने विषयलाई बारम्बार जोड दिएको छ, किनभने उनीहरू अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता, सूचनामा पहुँच र डिजिटल अधिकारसम्बन्धी निर्णयबाट सबैभन्दा बढी प्रभावित हुनेमध्ये पर्छन् । युनेस्कोका अनुसार डिजिटल प्लाटफर्म{हरू सहभागिता, सिकाइ र नागरिक संलग्नताका लागि आवश्यक ठाउँ बनेका छन् । जलवायु कार्य, लैंगिक समानता, मानव अधिकार, सार्वजनिक जवाफदेहिता, शिक्षामा सुधार र नागरिक संलग्नताजस्ता मुद्दा डिजिटल प्लाटफर्ममार्फत बढ्दो रूपमा छलफल र परिचालन भइरहेका छन् । धेरै अवस्थामा सामाजिक सञ्जालले सहभागितामा अवरोध कम गरेका छन् र पहिले मूलधारका बहसबाट बहिष्कृत गरिएका आवाजलाई बढावा दिएको छ । राजधानी ढाकाबाहिर बस्ने युवाका सन्दर्भमा अब सामाजिक सञ्जालले यसअघि पहुँचबाहिर रहेका व्यक्तिका विचारलाई अवसर प्रदान गर्न सक्छ । कुनै एक युवा उद्यमीका लागि यो उपर्युक्त बजार हुन सक्छ । त्यस्तै, एक स्वयंसेवकका लागि भने यो समुदाय परिचालनका लागि एउटा महत्वपूर्ण उपकरण हुन सक्छ । एक युवा कार्यकर्ताका लागि यो सरोकार उठाउन र परिवर्तनको वकालत गर्न सबैभन्दा प्रभावशाली प्लाटफर्म हुन सक्छ ।
‘डिजिटल स्पेस’ र यसका जोखिममा केन्द्रित नीतिगत कुराकानीमा यी वास्तविकता प्रायः हराइरहेका हुन्छन् । साथै, अनलाइन हानि वास्तविक छन् । घृणायुक्त भाषण, समन्वित गलत जानकारी, साइबरबुलिङ, अनलाइन उत्पीडन र प्रविधिमैत्री लैंगिक हिंसाले महिला, केटीहरू, पत्रकार, मानव अधिकार रक्षक र अल्पसंख्यक समुदायलाई असर गर्छ । यी खतरालाई बेवास्ता गर्न सकिँदैन । यद्यपि, लोकतन्त्र रक्षार्थ हानिकारक सामग्री र वैध अभिव्यक्तिबिचको भिन्नता छुट्याउन आवश्यक छ । व्यापक प्रतिबन्धले केही जोखिम कम गर्न सक्छ, तर त्यसले एक चिसो प्रभाव पनि पार्न सक्छ, जहाँ नागरिकहरू बोल्न, एक–अर्कालाई प्रश्न गर्न, संगठित हुन वा भाग लिन अनिच्छुक हुन्छन् ।
युवाहरू यस गतिशीलताका लागि, विशेषगरी कमजोर हुन्छन्, किनभने डिजिटल प्लाटफर्म{हरू प्रायः नागरिक संलग्नताका लागि उनीहरूको प्राथमिक माध्यम हुन् ।
(सैकत सार्क–बंगलादेशका कार्यकारी निर्देशक र विश्वव्यापी युवा नीतिविज्ञ हुन्)
ढाका ट्रिब्युनबाट