- विधानसभा निर्वाचन अभियानको क्रममा जोसेफ विजयले निरन्तर भ्रष्टाचारलाई चुनावी मुद्दाका रूपमा प्रस्तुत गरे । निर्वाचित भए स्वच्छ प्रशासन चलाउने वाचा गरेका थिए । यही वाचाले नै उनलाई सत्तामा पुर्याउन प्रमुख भूमिका खेल्यो । र, प्रारम्भमा उनले त्यसको छनक पनि देखाएका छन् ।
द न्यू इन्डियन एक्सप्रेसमा हालै प्रकाशित एउटा स्तम्भका केही विवरणले मेरो ध्यानाकर्षण गर्यो । साथसाथै, प्रकाशित विवरणले केही चासो पनि जगायो । तमिलनाडूका विद्यालय शिक्षामन्त्री ए राजमोहनले गत साता घोषणा गरे कि निजी विद्यालयले दर्ता प्रमाणपत्र (जसलाई चलनचल्तीमा नो–अब्जेक्सन सर्टिफिकेट भनिन्छ) का लागि आवेदन अब अनलाइनबाटै दिन सक्छन् । साथै, ‘भुक्तानी’ भनेर माग गर्ने व्यापक अभ्यास पनि अब बन्द हुनेछ ।
निलगिरि पहाडमा रहेको एउटा सानो आवासीय विद्यालयको प्रशासनमा आबद्ध व्यक्तिको रूपमा मलाई यस मुद्दाको केही व्यक्तिगत अनुभव छ । राजनीतिक रूपमा प्रभावशाली व्यक्तिको लगनशील प्रयासका बाबजुद राज्यको कानुनद्वारा अनिवार्य मान्यता प्रमाणपत्र प्राप्त गर्न निकै संघर्ष गर्नुपरेको छ । मलाई थाहा छैन, समस्या कहाँ थियो, तर स्पष्ट रूपमा यो समस्या स्थानीय वा कर्मचारीतन्त्रको तहभन्दा बाहिर गयो ।
दर्ता प्रमाणपत्रका लागि अनलाइन सुविधाको पहल नयाँ टिभिके सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो आशय घोषणा गर्न चालेका कदममध्ये एक हो । अन्य कदममा विद्युत् बोर्डमा टेन्डर र प्रक्रिया, राज्यमा कुख्याति कमाएको कुटिल राज्य मदिरा एकाधिकार (टिएएसएमएसी), र भूमि दर्ता विभागसँग सम्बन्धित अन्य विषय छन् । विधानसभा निर्वाचन अभियानको क्रममा जोसेफ विजयले निरन्तर भ्रष्टाचारलाई चुनावी मुद्दाको रूपमा प्रस्तुत गरे । आफू निर्वाचित भएमा धेरै स्वच्छ प्रशासन ल्याउने उनले वाचा गरेका थिए । मलाई लाग्छ कि यो नै (स्वच्छ प्रशासनको वाचा) उनलाई सत्तामा पुर्याउने प्रमुख कारणमध्ये एक थियो । र, अब उनको परीक्षणको समय आएको छ ।
भ्रष्टाचार अन्त्य गर्ने वाचा एउटा शक्तिशाली चुनावी मुद्दा हो, जुन सानो वा अत्याधुनिक भ्रष्टाचारबाट निराश भारतले बारम्बार देखेको छ । उदाहरणका लागि सन् १९८४ को लोकसभा चुनावमा राजीव गान्धीको कीर्तिमानी जितलाई उनकी आमा इन्दिरा गान्धीको हत्यापछिको सहानुभूतिलाई श्रेय दिनु भनेको कंग्रेसको जितमा भ्रष्टाचारको दाग नलागेका एक व्यक्तिको रूपमा उनको निष्कलंक छविको भूमिकालाई बेवास्ता गर्नु हो । सन् २०१५ को दिल्ली विधानसभा चुनावमा आम आद्मीको अविश्वसनीय र अभूतपूर्व विजय र २०२० मा पार्टीको लोभलाग्दो पकडले प्रणालीगत राजनीतिक फोहरसँग लड्ने अरविन्द केजरिवालको प्रतिबद्धताको धारणालाई धेरै हदसम्म श्रेय दिएको छ ।
विजयका ठुला चुनौती
चुनावी इतिहासले हामीलाई यो पनि बताउँछ कि राजनीतिक स्वच्छताभन्दा छिटो अरू केही पनि फोहोर हुँदैन, वास्तविक होस् वा कथित । अर्थात्, राजनीतिक स्वच्छतामाथि चाँडै दाग लाग्छ । हामीले राजीव गान्धीको ‘मिस्टर क्लिन’ छविलाई होविट्जर खोल (युद्धमा प्रयोग हुने उच्च विस्फोटक पदार्थयुक्त प्रक्षेपण) को गतिमा चकनाचुर भएको देख्यौँ । र, सन् २०२२ पछि आम आद्मी शासनविरुद्धको भ्रष्टाचार आरोपले केजरिवा लको ‘सिसमहल’ मा रहेको कमजोरीलाई बढावा दियो ।
यो कुरालाई हृदयंगम गर्दै विजयको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचारको मोर्चामा राजनीतिक अपेक्षा व्यवस्थापन गर्नु हुन सक्छ । भ्रष्टाचारविरोधी कदमको प्रारम्भिक लहर कायम रहन्छ कि रहँदैन भनेर हेर्न बाँकी छ । उनको सरकारमा रहेका सबै नेता लिली फुलजस्ता सेता छैनन् । अन्य पुराना दलबाट विद्रोह गरेर आएका व्यक्तिबाट राजनीतिक समर्थन जुटाउँदा पुरानै प्रवृत्तिमा फर्कने र फेरि पुरानो खाडलमा डुब्ने जोखिम मात्र बढ्छ । त्यसकारण, तिनीहरू पुरानाभन्दा झन् खराब बन्न सक्छन् ।
तर, राजनीतिका धेरैजसो पर्यवेक्षकलाई थाहा छ कि प्रणालीमा असल नियत भएकालाई सहयोग गर्ने र आत्मसात् गर्ने तरिका हुन्छ । भ्रष्टाचारमा उनीहरू जति माहिर हुन्छन्, त्यति नै छिटो पतन हुन्छन् । तैपनि, विजयले राम्रोसँग बुझेको देखिन्छ कि सानो भ्रष्टाचारको मुद्दाले पनि राजनीति प्रभावित हुन्छ । उनको चुनावी प्रदर्शनलाई नराम्रोसँग कम आकलन गर्नुको एउटा प्रमुख कारण मिडियाले यसलाई पहिचान गर्न असफल हुनु थियो । राजनीतिक भ्रष्टाचार (सानो वा ठुलो) छ भनेर सही रूपमा पहिचान गरिसकेपछि पनि यसलाई सामान्यीकरण गर्ने र कम ध्यान दिने प्रवृत्ति छ ।
तमिलनाडूमा टिभिके सर्वमान्य पार्टी बन्दै छ भन्नेबारे रिपोर्टिङ वा टिप्पणी किन भएन भन्ने कुराको म अरू कुनै कारण देख्दिन । धेरै वर्षदेखि चुनाव घुसखोरीको व्यापारिक दृष्टिकोणले चिनिन्छन्, राजनीतिक दलहरूले राज्यभरका साना सूक्ष्म–व्यवस्थित क्षेत्रमा मतदातालाई नगद वितरण गर्न पदाधिकारी प्रयोग गर्छन् । यी भुक्तानी व्यापक छन्, तिनीहरू कुनै गोप्य छैनन् र भुक्तानी प्रणाली सार्वजनिक गर्न अत्यन्तै सजिलो छ । गाउँ र साना सहरमा सामान्य मानिस कुन पार्टीबाट कति प्राप्त गरे भन्ने कुरा खुलासा गर्न इच्छुक छन् । तसर्थ, तपाईंले गर्नुपर्ने भनेको सोध्ने कार्य हो ।
मतदातालाई घुस नदिने एक मात्र पार्टी टिभिके
टिभिकेलाई अन्य दलबाट छुट्याउने कुरा के थियो भने यो मतदातालाई घुस नदिने एक मात्र राजनीतिक पार्टी थियो । सायद त्यसो गर्न (मतदातालाई पैसा बाँड्न वा घुस दिन) यसलाई आवश्यक पनि थिएन । म यो सुझाव दिइरहेको छैन कि यो यसलाई वा अन्य कुनै पार्टीलाई समर्थन गर्ने पर्याप्त कारण हो । तर, यो विडम्बनापूर्ण थियो कि भुक्तानी (जुन तर्कसंगत रूपमा लोकतन्त्रलाई ध्वस्त पार्ने प्रत्यक्ष प्रयास हो) ले मुस्किलले मतदातामा असर गर्यो ।
अहिले ठुला भ्रष्टाचार (बैंकिङ ठगी, कर्पोरेट संस्था र राज्यका विभिन्न अंगबिच मिलेमतोमा हुने अनियमितता र प्राकृतिक स्रोतको अनियन्त्रित शोषण समावेश गर्ने समष्टिगत वित्तीय घोटाला) मा ध्यान दिनु आवश्यक छ । तर, यो सामान्य नागरिकको जीवनलाई असर गर्ने सानोतिनो भ्रष्टाचारलाई बेवास्ता गर्ने मूल्यमा आउनुहुँदैन । भ्रष्टाचाररूपी बगैंचाको विविधतामा कुनै खास धर्म, जात, भाषा वा क्षेत्रलाई हेरिनुहुन्न । यो कुनै धर्मविहीन छ, यसको कुनै दर्शन छैन । आशा र निराशाको चक्रमा फसेका भए टिभिकेप्रति ठुलो भरोसा छ । मेरो हकमा, मलाई आशा छ कि स्कुलका लागि मान्यताको प्रमाणपत्र अन्ततः प्राप्त हुनेछ ।
(लेखक क्रेआ विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक र द हिन्दुका पूर्वसम्पादक हुन् ।)
द प्रिन्टबाट