भारतको महाराष्ट्रमा प्रभावशाली रहेको शिव सेनाको एउटा समूह अन्ततः फुटेको छ । उद्धव ठाकरे नेतृत्वको शिव सेना पार्टीभित्र केही समयदेखि सुरु तनावले अन्ततः मंगलबार टुंगोमा पुग्यो । सो पार्टीका ६ जना सांसद– नागेश आष्टिकर, सञ्जय देशमुख, सञ्जय जाधव, सञ्जय दिना पाटिल, ओमप्रकाश राजे निम्बलकर र भाउसाहेब वाकचौरे औपचारिक रूपमा एकनाथ सिन्दे नेतृत्वको शिव सेनामा पार्टीमा सामेल भएका छन् ।
योसँगै सिन्दे समूहको शिव सेनाको लोकसभामा सांसद संख्या सातबाट बढेर १३ पुगेको छ । साथै यस क्रममा भारतको दल परिवर्तन रोक्न कठोर मानिने कानुनको समेत उल्लंघन भएन । कानुनले कुनै दलका दुईतिहाइ सांसदले एकैपटक दल त्यागे उनीहरूको सांसद सदस्य नजाने उल्लेख छ ।
केन्द्रको मोदी नेतृत्वको गठबन्धनले चलाएको भनिने ‘अप्रेसन टाइगर’का क्रममा उद्धव ठाकरेको शिव सेना पार्टीका नौमध्ये ठ्याक्कै दुईतिहाइ सांसद अर्थात् ६ जनाले पार्टी छाडे । मंगलबार मुम्बईमा एक पत्रकार सम्मेलन गर्दै ६ सांसदले दल परिवर्तन गरेको पुष्टि गरेका थिए ।
सिन्दे समूहको शिव सेना प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए)मा सामेल भएकाले सो गठबन्धनमा ६ सांसद थपिएका छन् । विपक्षीले एनडिए अहिले केन्द्रीय सांसद सदस्य बढाउन संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ मत पुर्याउन अन्य दल फुटाउने अभियानमा रहेको आरोप लगाइरहेका छन् ।