यसकारण पद त्याग्न बाध्य भए स्टारमर

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण
  • समर्थकका लागि स्टारमर एक अदम्य र सभ्य व्यक्ति भए पनि आफ्नै पार्टीका सांसदले उनीविरुद्ध पाइलैपाइलामा अवरोध खडा गरे

जुलाई ५, २०२४ को बिहान केयर स्टारमर पहिलोपटक बेलायती प्रधानमन्त्रीका रूपमा डाउनिंग स्ट्रिट प्रवेश गरे । अघिल्लो दिनको आमनिर्वाचनमा ऐतिहासिक जितपछि लेबर दलका तर्फबाट उनी प्रधानमन्त्री निवास प्रवेश गरेका थिए । दुई वर्षभन्दा अलि कम समयपछि त्यस्तै न्यानो बिहान उनी डाउनिंग स्ट्रिटबाहिर उभिएर आफ्नो राजीनामा घोषणा गर्न बाध्य भए । कसरी यस्ता घटनाक्रम विकसित भए ?

विनम्रता र मर्यादाले भरिएको राजीनामा भाषण विशेषगरी आश्चर्यजनक थियो, किनभने प्रधानमन्त्रीले दाबी गरेझैँ उनले लेबर नेताहरूले गर्नुपर्ने काम गर्दै उल्लेखनीय कीर्तिमान बनाएका थिए । न्यूनतम ज्याला बढेको छ, कामदारको रोजगार अधिकार बढेको छ, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचसी) मा प्रतीक्षा सूची घटेको छ, पाँच लाख बालबालिका गरिबीबाट बाहिर निस्किरहेका छन् र अर्थतन्त्र कठिन समयबाट गुज्रिरहेको छ । आप्रवासनको संख्या घटेको छ ।

उनका समर्थकका लागि स्टारमर एक अदम्य तर सभ्य व्यक्ति हुन्, जसले उचित गम्भीरता र राष्ट्रिय हितको भावनासाथ आफ्नो काम गर्छन् । तैपनि, उनका पाइलापाइलामा आफ्नै पार्टीका सांसदले अवरोध खडा गरे । सन् २०२४ मा ‘परिवर्तन’ ल्याउने उनको वाचा पूरा नभएको गुनासोबिच उनीप्रतिको समर्थनमा निरन्तर गिरावट आएको सर्वेक्षणले देखाए ।

विगतका प्रधानमन्त्रीले प्रायः अलोकप्रियताको अवधि भोगेका छन् । १९८०–८१ मा मार्गरेट थ्याचर अत्यन्तै अलोकप्रिय थिइन्, तैपनि उनले थप दुई आमचुनाव जितिन् । यस्तोमा यो क्षण फरक महसुस हुन्छ, जसका कारण स्टारमरले आफू पदमुक्त हुनुपर्छ भन्ने महसुस गरे ।

विशाल बहुमतका बाबजुद स्टारमर सरकार कहिल्यै त्यति लोकप्रिय थिएन । विशेषगरी बोरिस जोनसन र लिज ट्रसको प्रधानमन्त्रीकालमा कन्जर्भेटिभहरूको ठुलो अलोकप्रियताका कारण लेबरले जित्यो । ऐतिहासिक रूपमा कम मतदान भएको चुनाव (३३.७ प्रतिशत सहभागी) मा लेबरले ठुलो सफलता हासिल गरेको थियो ।

नयाँ सरकार उद्देश्यविहीन देखियो, किनभने यसले देशका लागि कहिल्यै आकर्षक दृष्टिकोण स्थापित गर्न सकेन । यद्यपि, प्रधानमन्त्रीले दाबी गरेका छन्, ‘स्टारमरवादजस्तो कुनै चिज छैन र कहिल्यै हुनेछैन !’ स्टारमरको दृष्टिकोण गम्भीर तर प्राविधिक थियो । उनी विचार वा सिद्धान्तमा कुनै चासो देखाउँदैनथे । यसले गर्दा दक्षिणपन्थी (निगेल फराजको रिफर्म युके) र वामपन्थी (ज्याक पोलान्स्कीको ग्रिन्स) को लोकप्रियतावादी आन्दोलनको सामना गर्नुपर्दा उनी निरीह देखिए । विपक्षीले मतदातासँग बलियो भावनात्मक सम्बन्ध स्थापित गरे, जसका कारण आगामी आमनिर्वाचनमा विपक्षीको प्रभाव देखिने सम्भावना बढ्यो ।

सरकार सुरुदेखि नै समस्यामा पर्यो । यसले पेन्सनधारीबाहेक सबैका लागि हिउँदमा इन्धन भुक्तानी कटौती गर्ने निर्णय गर्यो । यो कदम राजनीतिक रूपमा अपरिपक्व देखियो, जसको प्रभाव आममानिसमा पर्यो । यसको केही समयपछि, सरकारले कल्याणकारी विधेयकलाई कटौती गर्ने प्रयास गर्यो । पछि दुवै मुद्दामा यू–टर्न गर्न बाध्य भयो । उता जेफ्री एपस्टाइन फाइलहरूबाट (अमेरिकी वाल यौन दुराचारी जेफ्री एपस्टाइनसँग सम्बन्धित यौन काण्ड) सार्वजनिक भएपछि पिटर मन्डेलसनलाई वासिंटनमा राजदूतका रूपमा नियुक्त गर्ने निर्णय थप विनाशकारी साबित भयो । इमानदारी र निष्ठाका लागि प्रतिष्ठा निर्माणको प्रयास गर्ने स्टारमर अयोग्य देखिए ।

तर, मतदाताका लागि ठुलो मुद्दा जीवनयापनको लागत थियो, यद्यपि सरकारले न्यूनतम ज्याला र रोजगारीको अधिकारमार्फत गरिबीसँग लड्न प्रयास गरेको थियो । अधिकांश मतदाताका लागि वास्तविकता यो थियो कि धेरै केही परिवर्तन भएको थिएन । मानिसले आफूहरू अझै पनि मितव्ययिताको युगमा बाँचिरहेको महसुस गरे ।

यसले मे २०२६ मा बेलायतमा भएको स्थानीय चुनावको नतिजालाई आंशिक रूपमा व्याख्या गर्यो, जब लेबरले केवल १७ प्रतिशत मत जित्यो, जब कि रिफर्म युकेले २६ प्रतिशत मत प्राप्त गर्यो । लेबर पहिलोपटक वेल्सको सिनेडमा पराजित भयो । त्यहाँ लेबर तेस्रो स्थानमा खुम्चियो । नेतृ एलुनेड मोर्गनले आफ्नो सिट गुमाइन् । स्थानीय निर्वाचनमा पराजयपछि स्टरमरप्रति पार्टी नेताले असन्तुष्टि जनाउँदै राजीनामा दिनुपर्ने माग गरे ।

सरकारको सुधार प्रयासले लेबर सांसदहरूलाई चिन्तित बनायो र स्टारमरलाई नेतृत्वबाट हटाइदियो । मेकरफिल्डमा एन्डी बर्नह्यामको विजय (जहाँ रिफर्म युकेले धेरैजसो काउन्सिल सिट जितेको थियो) ले सुझाव दियो कि उनले पार्टीलाई गिर्दो साखबाट जोगाउन सक्नेछन् । सम्भवतः अगामी दिनमा बर्नह्यामले बेलायतको नेतृत्व गर्नेछन् । 

(म्याकविलियम एंग्लिया रस्किन विश्वविद्यालयका प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट

See More On

सुझावित समाचार