किन घटिरहेको छ पुँजीबजार ?

बजेटयता नेप्से परिसूचक १०७.६२ अंकले घटेको छ । यसबिचमा लगानीकर्ताले एक खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी गुमाए

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

सरकारले पुँजी बजारको दीर्घकालीन सुधार गर्ने नीति लिइएको बताइरहँदा सेयर बजार भने निरन्तरजसो घटिरहेको छ । बजेटयता नेप्से परिसूचक १०७.६२ अंकले घटेको छ । यसबिचमा लगानीकर्ताले एक खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी गुमाएका छन् । 

जेन–जी आन्दोलनको जगमा बनेको सरकारले सेयर बजार सुधारलाई आफ्नो घोषणापत्रमा पनि समेटेको थियो । झन्डै दुईतिहाइ बहुमतनजिकको सरकारले ल्याउने बजेटपछि बजार बढ्ने लगानीकर्ताको अपेक्षा थियो । तर, बजेटले लगानीकर्ताको सुझावअनुसार नै पुँजीगत लाभकरमा कानुनी स्पष्टता दिए तापनि बजार भने बढ्न सकेन । पछिल्लो समय उद्योग–व्यवसाय एवं वित्तीय क्षेत्रसँग सम्बन्धित मुद्दा–मामिलामा व्यवसायीसमेत पक्राउ पर्न थालेपछि अन्योलता बढेको लगानीकर्ता बताउँछन् । नयाँ सरकार आउँदा बढ्न नसेकको बजार बजेटले बढाउने अपेक्षा गरिए पनि पछिल्लो समय सरकारका कामकारबाहीका कारण पुँजीबजार ‘पर्ख र हेर’को स्थितिमा रहेको लगानीकर्ता बताउँछन् । 

यसबिचमा सरकारले वित्तीय अपराधसँग सम्बन्धित अनुसन्धान र मुद्दालाई अघि बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता संसद्मा बोल्दै मनोवैज्ञानिक त्रासका कारण बजार घटेको स्पष्टीकरण दिएका थिए । उनले हालै सरकारले पुँजी बजार र बिमा क्षेत्र केन्द्रित रहेको एक खर्बभन्दा बढीको बिगोमा मुद्दा चलाएको र त्यसमा कतिपय लगानीकर्ता ‘आफू पनि पर्छु कि’ भन्ने भ्रम वा त्रासमा रहेको बताएका थिए । यसैको प्रभावस्वरूप सेयर बजारमा उतारचढाव देखिएको उनको भनाइ थियो । 

नेप्से घट्ने क्रम मंगलबार पनि जारी रह्यो । सो दिन नेपाल स्टक एक्सचेन्च (नेप्से) २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा कायम भयो । ‘क’ वर्गका कम्पनीको कारोबारमापक सेन्सेटिभ इन्डेक्समा ०.५० प्रतिशतको गिरावट भएको छ । 

त्यस्तै, कारोबार रकममा समेत गिरावट आएको छ । सो दिन चार अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोमबार चार अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । मंगलबार तीन सय ५३ कम्पनीको एक करोड ४० हजार कित्ता सेयर खरिद–बिक्री भयो । नेप्सेका १३ समूहमध्ये म्युचुअल फन्ड ०.४५ प्रतिशतले वृद्धि हुँदा बाँकी १२ समूह घटेका छन् । वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लागे ।

नेप्से घटे पनि टक्सार पिखुवा र यम्बलिङ हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ, सनराइज ब्लुचिप फन्ड पाँच प्रतिशतभन्दा धेरैले बढेका छन् । तर, बुंगल हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एपोलो हाइड्रो, सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोका लगानीकर्ताले क्रमशः ११, ७ र ५ प्रतिशतभन्दा धेरै गुमाए । 

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । उक्त कम्पनीको नौ लाख १३ हजार ६ सय ५० कित्ता सेयर ३४ करोड १६ लाख २९ हजार रुपैयाँमा कारोबार भएको हो ।

सुझावित समाचार