- विचारधाराले राजनीतिक दललाई जोड्ने काम गर्छ भने विचारले नबाँधिएका दल सहजै टुटफुटबाट गुज्रिन्छन्
भारतमा अहिले एकपछि अर्को पार्टी फुटिरहेका छन् । र, फुटेका अधिकांश दल प्रायः भाजपामा विलय हुने तयारीमा छन् वा भइसकेका छन् । सुरुमा ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस (टिएमसी) फुट्यो । टिएमसीको आन्तरिक कलहको विषय सेलाउन नपाउँदै महाराष्ट्रमा उद्धव ठाकरे नेतृत्वको शिव सेना फेरि विभाजित भयो । यी त हालैका घटना भए । केही अघि आम आदमी पार्टीका सात सदस्य भाजपामा प्रवेश गरे । ओडिसा राज्यमा कुनै समय प्रभावशाली रहेको बिजु जनता दलका तीन सदस्य भाजपा/एनडिए गएको धेरै भएको छैन ।
भाजपामा सामेल भएका पूर्वकंग्रेस सदस्यको सूची लामै छ । तीमध्ये केही भाजपामा सामेल भएपछि मुख्यमन्त्री वा केन्द्रीय मन्त्रीसम्म बने । आजको दिनमा भाजपाका तीन मुख्यमन्त्री कुनै वेला कंग्रेसबाट भाजपा प्रवेश गरेका थिए । तिनमा आसामका हिमान्त विश्व शर्मा, अरुणाचल प्रदेशका पेमा खान्डु र त्रिपुराका माणिक साह छन् । केही अघिसम्म मणिपुरका मुख्यमन्त्री रहेका एन बिरेन सिंह पनि कंग्रेसबाटै भाजपा पसेका हुन् । चारैजना कंग्रेसमा पनि महत्वपूर्ण पदमै थिए ।
त्यसबाहेक नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका मन्त्रीहरू ज्योतिरादित्य सिन्धिया, किरण रिजिजु, राव इन्दरजित सिंह, जितिन प्रसाद र रवनीत सिंह बिट्टु पनि पुराना कंग्रेस नेता हुन् । अझ कंग्रेस छाडेर भाजपा सामेल हुने पूर्वमुख्यमन्त्रीको संख्या एक दर्जनबराबर पुग्छ । यीमध्ये धेरै लाभको पदका लागि भन्दा पनि कारबाहीबाट बच्न भाजपा प्रवेश गरेका हुन् । पछिल्लो समय कारबाहीमा पर्ने खतरा भएका अन्य दलका नेताका लागि भाजपा आश्रयदाताजस्तो देखिँदै गएको छ । भाजपा प्रवेश गरेपछि नेतामाथि चलिरहेका भ्रष्टाचार मुद्दाका फाइल आफैँ बन्द हुन्छन् ।
उसो त विपक्षी दल फुटाउने प्रवृत्ति अहिले सुरु भएको भने होइन । विगतमा कंग्रेस सत्तामा हुँदा पनि मनोमानी ढंगले राज्यका विपक्षी सरकार ढाल्न धारा ३५६ प्रयोग गरिन्थ्यो । अहिले फरक यति हो कि भाजपाले यस कार्यलाई औद्योगिक स्तरमा सम्पन्न गरिरहेको छ । तथापि, सत्ताबाट बाहिरिनासाथ सबै दल विभाजित भइहाल्दैनन् । यसमा विगतको भाजपा, अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र वामपन्थी दलहरू विशेष उल्लेखनीय छन् । हुन त वामपन्थीहरू ट्रट्स्कीवाद, लेनिनवाद, बेइजिङ पक्ष वा मस्को पक्षलगायत मुद्दामा धेरैपटक फुटे । तथापि उनीहरू अहिले एउटा मोर्चाका रूपमा एकताबद्ध छन् । विचारधाराप्रतिको प्रतिबद्धताले यी दलहरूलाई एकताबद्ध राख्छ । त्यसैले त अहिले देशका कुनै भागमा सत्तामा नरहे पनि वामपन्थी दलमा विभाजन देखिएको छैन ।
हाल शक्तिशाली भए पनि सन् १९८४ को आमचुनावमा भाजपाले केवल दुई सिट जितेको थियो । तैपनि पार्टी एकताबद्ध रह्यो । वास्तवमा स्थापनाको ७५ वर्षको अवधि (पहिले भारतीय जनसंघको नाममा रहेको समयसमेत) भाजपा सन् २०१४ अघि केवल ६ वर्ष मात्र सत्तामा थियो । यद्यपि, पार्टीले उल्लेखनीय विभाजन सामना गरेन । उसो त जम्मुका ‘स्वयंसेवक’ बलराज मधोकको पार्टी परित्यागलाई उल्लेख गर्न सकिन्छ । पार्टी छाडेपछि मधोकले खोलेको पार्टीले सन् १९६७ को चुनावमा ३५ सिट जितेको थियो, जुन तत्कालीन जनसंघले कल्पना नगरेको संख्या हो । तथापि पार्टीपछि लामो समय टिक्न सकेन ।
भाजपामा विद्रोह गर्नेमध्ये अलि सफल भने शंकरसिंह बाघेला बने । उनले सन् १९९५ मा गुजरात राज्यका ४७ जना भाजपा विधायक लिएर राष्ट्रिय जनता पार्टी नामको नयाँ दल बनाएका थिए । बाघेला कंग्रेसको समर्थनमा एक वर्षसम्म मुख्यमन्त्री रहे । पछि, आफ्नो दललाई कंग्रेसमा विलय गराएपछि उनी पनि स्वतन्त्र बल बन्न सकेन । पछि भाजपाका पूर्वमुख्यमन्त्री कल्याण सिंह, उमा भारती र बिएस येदियुरप्पाले पनि विद्रोह नगरेको होइनन्, तथापि उनीहरू सबै पछि पुनः पार्टीमा फर्किए ।
भाजपा र वामपन्थी दलहरूजस्तै सत्ताबाहिर रहँदा पनि नफुट्ने दलका रूपमा समाजवादी पार्टी देखिएको छ । मुलायम सिंह यादवद्वारा स्थापित यस पार्टीले सन् १९९२ को बाबरी मस्जिद विध्वंसपछि उत्तर प्रदेशका ‘तल्लो जात’ (ओबिसी) मुस्लिम भोट बैंकलाई जोडेर राजनीति गरिरहेको छ । यसको विचारधारा स्पष्ट छ र नै वर्तमान पार्टी नेता अखिलेश यादवले आफ्नो भोट बैंकको विश्वास कायम राखेका छन् । सत्ताबाहिर रहे पनि पार्टीमा एक दिन पुनः शक्तिमा फर्किने विश्वास देखिन्छ । यस्तै विश्वास कंग्रेसजनमा पनि कायम छ, कुनै दिन केन्द्रमा फर्किन सकिन्छ भन्ने विश्वास ।
उता धेरै क्षेत्रीय दल भने कुनै विचारधारामा जोड दिनेभन्दा पनि कसरी हुन्छ सत्तामै पुग्ने भन्ने ध्याउन्नमा रहन्छन् । यस्तो पार्टीमा हरेक नेता कार्यकर्ताको ध्यान पनि सत्ता नै हुने रहेछ । त्यसैले त पार्टीले शक्ति गुमाएलगतै सत्तामा पुगेको दलमा सहजै जान थाले । भाजपा, वामपन्थी दल, समाजवादी पार्टी र केही हदसम्म कंग्रेस भने आफ्नो विचारधाराप्रति स्पष्ट र अडिग देखिन्छन् । यिनमा पार्टीभित्र असन्तुष्टि नहुने होइन तैपनि पार्टीमा ठुलो विद्रोह हुँदैन । खासमा विचारधारा राजनीतिक दल र यसका सदस्यलाई जोड्ने माध्यम बन्दो रहेछ । विचारविहिन दलमा भने पार्टी सत्तामा रहुन्जेल मात्र नेता कार्यकर्ता यसमा जोडिने रहेछन् ।
द प्रिन्टबाट
(वरिष्ठ पत्रकार गुप्ता हाल द प्रिन्ट डट इनका प्रधानसम्पादक हुन्)