विश्वकपकै सबैभन्दा खुसी टोली कुराकाओ

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण
  • कोराकाओका खेलाडीलाई परिवारसँग भेट्न, प्रेमिका वा श्रीमतीसँग खेलअगाडि सँगै सुत्न अनुमति नचाहिने टिम डाक्टर डिक एभोक्याटले बताए

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेका विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् यी सहभागीमध्ये खुसी टोली को होला ? बेलायती मिडियाहरूले गरेको सर्वेक्षणअनुसार अफ्रिकी महादेशबाट पहिलोपटक विश्वकप खेलिरहेको कुराकाओ सबैभन्दा खुसी राष्ट्र हो । यद्यपि, कुराकाओले विश्वकपमा जित निकाल्न सकेको छैन । तर, पनि बेलायती मिडियाहरूले उसलाई सबैभन्दा खुसी राष्ट्रको दर्जा दिएका छन् । यसको कारण के होला ? 

यसको सहज उत्तर छ । कुराकाओका टिम डाक्टरले सबै २६ खेलाडीलाई परिवारसँग समय बिताउन भरपुर छुट दिइरहेका छन् । कुराकाओका टिम डाक्टर नेदरल्यान्ड्सका डिक एभोक्याट हुन् । डाक्टर डिकले खेलाडीलाई परिवारसँग भेट्न छुट दिनुका साथै प्रेमिका वा श्रीमतीसँग खेलअगाडि सँगै सुत्न अनुमति नचाहिने बताएका छन् । 

‘अहिले खेलाडीहरूले आफ्नो कोठा परिवारसँग सेयर गरिरहेका छन् । अझ खेलाडीहरूलाई प्रेमिका वा श्रीमतीसँग प्रतिस्पर्धाको अघिल्लो रात यौन सम्पर्क गर्न छुट छ,’ डाक्टर डिकले भने, ‘खेलाडीलाई मानसिक तनावमुक्त बनाउन भावनात्मक सहयोग रणनीति अपनाइएको हो ।’ कुराकाओका सबै खेलाडी फ्लोरिडाको होटेलमा बसेका छन् । आधुनिक फुटबलको परिभाषा दिँदै डाक्टर डिकले प्रशिक्षणले मात्र खेलाडी फिट नहुने र परिवारसँग बिताएको एक रातले मैदानमा फरक पर्ने बताए । 
‘खेलमा नतिजा निकाल्न खेलाडीलाई कडा अभ्यास गराउनुपर्छ । तर, मेरो मनोविज्ञान शिक्षाले यो भन्छ, प्रशिक्षणले मात्र उनीहरूले राम्रो नतिजा निकाल्न सक्दैनन् । त्यसका लागि आफूसँगै आएका पार्टनरसँग बस्न दिनुपर्छ,’ तर्क प्रस्तुत गर्दै डिकले भने, ‘यसले मैदानमा प्रभाव देखाएको छ ।’ 

फरक जोशमा खेलाडी
कुराकाओका अर्का डाक्टर सुनाने हुर्मानले खेलाडीहरूलाई एक रात परिवारसँग बस्न दिँदा त्यसको असर मैदानमा परेको धारणा राखेका छन् । ‘खेलाडीहरूले परिवारसँग भेट्न पाउनुपर्छ,’ हुर्मानले भने, ‘उनीहरूलाई प्रेमिका वा श्रीमतीसँग यौन सर्म्पकबाट वञ्चित गर्न मिल्दैन । यो भनेको भावनात्मक सम्बन्ध हो ।’ खेलाडीभित्र प्रत्यक्ष शारीरिक प्रभावभन्दा भावनात्मक पक्ष हाबी हुने उनको भनाइ छ । ‘मलाई विश्वास छ । यौन सम्पर्कले सायद प्रत्यक्ष रूपमा शारीरिक प्रभाव हुन्छ, तर योभन्दा उनीहरू भावनात्मक सम्बन्ध बलियो हुन्छ,’ हुर्मानले भने, ‘यति लामो प्रतियोगितामा परिवारवरिपरि घुम्दा घरको याद अलिकति कम हुन्छ । जसले खेलाडीलाई शान्ति प्रदान गर्छ ।’ पहिलो खेलमा जर्मनीले कुराकाओलाई ७–१ ले हराएको थियो । दोस्रो खेलमा उसले इक्वेडरलाई गोलरहित बराबरी खेलेको थियो । 

इंग्ल्यान्डका खेलाडी परिवारबाट टाढा
कुराकाओले खेलाडीहरूलाई विभिन्न पक्षमा छुट दिए पनि विश्वकप दाबेदार टोली इंग्ल्यान्ड भने फरक छ । इंग्ल्यान्डका प्रशिक्षक थोमसले खेलाडीहरूलाई परिवार, प्रेमिका र श्रीमतीबाट टाढा राखेका छन् । सन् २००६ को विश्वकपमा तत्काल खेलाडीहरूलाई प्रेमिका र श्रीमतीसँग भेट्न र मनोरञ्जन गर्न छुट दिएको थियो । टिम म्यानेजरबाट छुट पाएपछि खेलाडीहरू नाइट क्लब गएर पार्टी मनाएका थिए । परिवारसँग समय बिताउँदा इंग्लिस खेलाडीहरू प्रशिक्षणमा सुस्त देखिएका थिए । जसका कारण इंग्ल्यान्ड विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेन । 

सन् २०१० मा फाबियो कापेलोको प्रशिक्षणमा रहँदा इंग्ल्यान्डका खेलाडीहरूमाथि परिवारसँग भेट्न नै प्रतिबन्ध लगाएको थियो । त्यसपछि इंग्ल्यान्डले विश्वकपमा सहभागी हुँदा यी सबै गतिविधिबाट खेलाडीलाई टाढा नै राखेको छ । अहिले प्रशिक्षक थोमासले प्रशिक्षणमा जोड दिएका छन् । इंग्लिस खेलाडीहरूले परिवारका सदस्य, प्रेमिका र श्रीमतीसँग कुराकानी गर्नुपरेको खण्डमा पनि प्रशिक्षकसँग अनुमति लिनुपर्ने अवस्था छ । 

See More On

सुझावित समाचार