संदिग्ध आर्थिक कारोबार देखिएपछि एमाले उपाध्यक्ष पौडेल पक्राउ

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा देखियो बिचौलिया दीपक भट्टसँग करोडौँको अदृश्य कारोबार

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ । विभागको पत्राचारपछि प्रहरीले सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट उनलाई नियन्त्रणमा लिएको हो । उनी पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै सुर्खेत गएका थिए । 

अनुसन्धानका क्रममा बिचौलिया दीपक भट्टसँग पौडेलको अदृश्य व्यावसायिक साझेदारी देखिएको र उनीहरूबीच ३० करोडभन्दा धेरैको कारोबार भेटिएको विभाग स्रोतले जनाएको छ । भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि नै अभियोग दायर भई जेल चलान भइसकेका छन् ।

विभाग स्रोतका अनुसार पौडेलले सत्तामा हुँदा भट्टलगायतका व्यावसायीलाई हित पुग्नेगरी केही नीतिगत निर्णय र केही दबाब दिएर काम गराएका थिए । त्यसबापत आर्थिक लाभ लिने गरेका थिए । यसरी आर्थिक सम्पत्तिबाट विश्वासिला सामान्य व्यक्तिको नाममा जग्गा तथा सेयर खरिद गरी सम्पत्ति लुकाउने प्रयाससमेत गरेको केही प्रमाण पनि विभागले फेला पारेको छ । ती सम्पत्तिको वास्तविक स्वामित्व र स्रोतबारे अनुसन्धान जारी छ । अनुसन्धानका क्रममा विभागले पौडेलको भैँसेपाटीस्थित निवासमा छापासमेत मारेका थिए ।

केही समयदेखि गोप्य अनुसन्धान गरिरहेका विभागले पर्याप्त प्रमाण संकलन भइसकेपछि मात्र पौडेललाई पक्राउ गरिएको स्रोतको दाबी छ । तर, विभागले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन । अनुसन्धानमा संकलित प्रमाणका आधारमा बयान लिएर सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ । 

केपी ओली नेतृत्वको सरकारमा गत वर्ष पौडेल अर्थमन्त्री थिए । योसहित उनी पाँचपटक अर्थमन्त्री भइसकेका छन् । अर्थमन्त्रीका रूपमा उनले बिचौलिया भट्टकै इसारामा नियामक निकायहरू चलाएको र त्यसबापत लाभ लिएको विभागको छानबिनमा भेटिएको छ । त्यस्तै, तीनपटक अन्य मन्त्रालयको नेतृत्व गरेका थिए । ०५१ यता पौडेल पाँचपटक सांसद भइसकेका छन् । 

नेता पौडेल यसअघि बालुवाटार जग्गा प्रकरणमा पनि मुछिएका थिए । छोरा नवीनको नाममा ललिता–निवासपरिसरमा चार आना जग्गा रहेको पाइएको थियो । पछि सो जग्गा फिर्ता गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने निर्णय गरेको थियो । 

उनलाई पक्राउ गर्न सुर्खेतका एसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा १० जनाको प्रहरी टोली एमालेको कार्यक्रमस्थल पुगेको थियो । उनलाई सोमबार साँझ नेपालगन्ज पुर्‍याएर प्रहरीको तालिम केन्द्रमा राखिएको छ । मंगलबार जहाजमार्फत काठमाडौं ल्याउने तयारी छ ।

सुर्खेतमा यसरी पक्राउ परेका थिए पौडेल 
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलनका लागि एमाले नेताहरू सुर्खेत गएका थिए । सोहीअनुसार वीरेन्द्रनगर– ३, एरीचोकनजिकैको शुभ होटेलको सभाहलमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेलसहित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतका नेताहरू कार्यकर्तासँग सुझाव माग्दै थिए । सभाहलमा एमालेका प्रदेश र कर्णाली प्रदेशका १० वटै जिल्लाका पदाधिकारी सहभागी थिए । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई गरेको पत्राचारअनुसार प्रहरी पौडेललाई पक्राउ गर्न कार्यक्रमस्थल गएका थिए । पौडेललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी ठाकुरप्रसाद पोखरेलको कमान्डमा १० जनाको विशेष प्रहरी टोलीले गएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार सोही कार्यक्रमस्थलबाटै साँझ ५ः४५ बजे उपाध्यक्ष पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल मञ्चमा थिए । उक्त कार्यक्रममा प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू र जिल्ला पदाधिकारीहरू कार्यक्रममा चुनावी समीक्षा र पार्टीको पुनर्गठनका विषयमा छलफल गरिरहेका थिए । त्यही वेला सुर्खेत जिल्लाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक पोखरेलसहितको १० जनाको टोली त्यहाँ पुगेको थियो । 

कार्यक्रममा सहभागी एमाले नेताहरूका अनुसार उपाध्यक्ष पौडेललाई प्रहरीले ‘केही काम छ’ भनेर हलबाहिर बोलाएका थिए । प्रहरीले बोलाएपछि उनी बाहिर आएका थिए । तर, हलमा रहेका धेरै नेता–कार्यकर्ताले त्यसवेलासम्म पौडेललाई प्रहरीले किन बोलायो भन्ने मेसो पाएका थिएनन् । केहीबेरमै उपाध्यक्ष पौडेल पक्राउ परेको समाचार आउन थाले । त्यसपछि मात्र उनी पक्राउ परेको जानकारी आएको र हलमा खैलाबैला भएको एक सहभागीले बताए । पौडेल पक्राउ परेको थाहा पाएपछि तत्काल कार्यक्रम स्थगित गरिएको थियो । मंगलबार होटेल डिनमस्तेमा पुनः कार्यक्रम हुने एमालेका नेताहरूले बताएका छन् । 

पक्राउ परेलगत्तै उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । त्यसपछि उनलाई काठमाडौं लैजानका लागि नेपालगन्ज लगिएको थियो ।

पौडेल गिरफ्तारीपछि ओलीले भने– राजनीतिक प्रतिशोधको पराकाष्ठा, प्रतिवाद गर्ने चेतावनी
उपाध्यक्ष विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र राजनीतिक पूर्वाग्रहको निरन्तरता भएको भन्दै एमालेले यसको विरोध गर्दै प्रतिवाद गर्ने बताएको छ । सोमबार साँझ अध्यक्ष केपी ओलीद्वारा जारी प्रेस वक्तव्यमा सरकारले कानुनी प्रक्रिया र विधिको शासनको समेत अवहेलना गर्दै अधिनायकवादी शैलीमा कदम चालेको आरोप लगाइएको छ ।

एमालेले सार्वजनिक पदमा रहेका र कानुनको सम्मान गर्ने व्यक्तिलाई ‘सस्तो राजनीतिक स्टन्ट’का लागि नियतवश पक्राउ गरिएको दाबी गरेको छ । ‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै वेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने हुँदाहुँदै गिरफ्तार गरिएको छ । सार्वजनिक पद धारण गरेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तिलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि नियतवश गिरफ्तार गरिएको छ । सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,’ ओलीले जारी गरेको विज्ञप्तिमा छ, ‘वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ— विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।’

पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका वेला पौडेलको गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार भएको भन्दै अध्यक्ष ओलीले निन्दा र भर्त्सना गरेका छन् । उनले यसका विरुद्ध सामूहिक प्रतिवाद गर्नसमेत विभिन्न पक्षसँग आह्वान गरेका छन् । ‘एमाले सधैँ कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र एमालेमाथि लगातार भइरहेका षड्यन्त्रविरुद्ध प्रहार र राजनीतिक पूर्वाग्रहको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ ओलीले भनेका छन्, ‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछौँ ।’

सुझावित समाचार