जैमिनीको बजेट ७६ करोड ८८ लाख

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ७६ करोड ८८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले उक्त बजेट प्रस्तुत गरेका हुन्।

नगरपालिकाले आगामी वर्षको बजेटको प्राथमिकतामा पूर्वाधार विकासलाई राखेको छ। नगरको विकास योजनाको दीर्घकालीन सोच, लक्ष्य र उद्देश्य सार्वजनिक भवनहरू, सिँचाइलगायतका पूर्वाधार विकासमा ११ करोड ८२ लाख ९१ हजार ४४२ रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शर्माले जानकारी दिए। दिगो र वातावरणमैत्री पूर्वाधार, जैमिनी नगर समृद्धिको आधारको नारा साथ नगर क्षेत्रका १३ वटा दिगो सडकहरूका लागि बाह्रै महिना सञ्चालन र स्तरोन्नतिका निम्ति १०  लाखका दरले एक करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधार विकासतर्फ नै संघीय सरकारको समपूरकमा साझेदारीसहित कालीगण्डकी करिडोर कुस्मिसेरा–दमके–बनहुँ–गाजादह मध्यपहाडी लोकमार्ग सडकका लागि ७० लाख बजेट विनियोजन गरिएको छ भने प्रदेश समपूरकको साझेदारीमा न्यार–ढिक–धुल्लु–बिहारथला सडकका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा सामाजिक विकासतर्फ कुल ५ करोड ६६ लाख ९३ हजार ५५८ रुपैयाँ छुट्याइएको छ। जसमा लिड विद्यालय, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र प्रअहरूका लागि थप प्रोत्साहनलाई निरन्तरता दिँदै १ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले उत्कृष्ट वर्ष विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनका निम्तिसमेत बजेट व्यवस्थापन गरेको उपप्रमुख शर्माले बताए। नगरपालिकाले स्थापना गरेको जैमिनी नागरिक स्वास्थ्य उपचार कोषलाई थप प्रभावकारी बनाउन यस वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

नगरपालिकाले आर्थिक विकासतर्फ १ करोड ८८ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमा जैमिनीको सान परिचययुक्त किसान, निःशुल्क नश्ल सुधार दुग्ध उत्पादन कार्यक्रम, हरेक खेतमा सिँचाइ हरेक किसानमा समृद्धि, किसानका लागि निःशुल्क कल सेवाजस्ता कार्यक्रम अगाडि सारेको छ। 

नगरपालिकाको चर्चित कार्यक्रमको रूपमा रहेको सेरा जाउँ केरा खाउँ कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिँदै १२ लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाले गाउँ फर्कौँ, आफ्नै गाउँ बनाऔंँ कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर उपप्रमुख शर्माले जानकारी दिए।

वन, वातावरण र भूसंरक्षण तथा विपत् व्यवस्थापनका निम्ति ६१ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। जैमिनी नगरपालिकाको सुशासनमा जोड दिई कार्यक्रमहरूको प्रभावकारी तथा गुणस्तरीय कार्यान्वयन तथा संस्थागत विकासका निम्ति ४९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाभित्र कार्यान्वयन हुने विभिन्न अन्तर सम्बन्धित विषयहरूको कार्यान्वयनका लागि १ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नगरपालिकालाई वातवरणमैत्री बनाउने र लोपोन्मुख वृक्षहरूको संरक्षण एवं पर्यावरणीय अनुकूलनका लागि १० हजार ८ वरपिपल, समीका बिरुवा रोप्ने अभियानका निम्ति ८ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसमा खानेपानीका मुहान कुवा, चौतारा र सार्वजनिक पोखरीसमेत निर्माण गरिनेछ।

आवासविहीनका लागि घर बनाउन नगरपालिकाले ३१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै,  खरका छाना विस्थापित गर्ने योजनाका लागि ४ लाख ५० हजार विनियोजन गरेको छ। पछिल्ला केही वर्षदेखि नै खरका छाना भएका परिवारलाई जस्ता पाता खरिद गरेर दिने गरेको छ।

नगरपालिकाले चालूतर्फ कुल १२ करोड ६५ लाख तथा पुँजीगततर्फ ४२ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका निम्ति संघीय सरकारको राजस्व बाँडफाँट कार्यक्रममार्फत ९ करोड १७ लाख ९ हजार रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड १३ लाख रुपैयाँ, समपूरक अनुदान २ करोड तीन लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

प्रदेश सरकार राजस्व बाँडफाँटतर्फ १ करोड १ लाख नौ हजार रुपैयाँ, वित्तीय समानीकरण अनुदानमा १ करोड ४२ लाख २२ हजार रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदान ६० लाख रुपैयाँ, विशेष अनुदान ४० लाख रुपैयाँ, सडक बोर्ड नेपालको ६० लाख रुपैयाँ र गत आवको मौज्दात ५ करोड ४१ लाख १० हजार रुपैयाँ र आन्तरिक स्रोत राजस्वका विभिन्न शीर्षकको १ करोड ५५ लाख ५० रुपैयाँ आय हुने अनुमान गरिएको छ।

सुझावित समाचार