धनगढीको नगर सभाबाट भलमन्सा–पधना प्रथा संरक्षणसम्बन्धी विधेयक पारित

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाले थारू तथा रानाथारू समुदायका परम्परागत प्रथाको संरक्षण, संवर्द्धन तथा विकासका लागि त्यससम्बन्धी कानुनी व्यवस्था गरेको छ। आइतबार भएको उपमहानगरको १५औँ नगर सभाले थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पारित गरेको हो।

‘रानाथारू समुदायको पधना र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पनि नगर सभाले सर्वसम्मत पारित गरेको छ। विधेयक पारित भएपछि थारू तथा रानाथारू समुदायमा परम्परादेखि अभ्यास हुँदै आएका भलमन्सा र पधना प्रथाको संरक्षण, अभिलेखीकरण, संवर्द्धन र विकासका लागि स्थानीय तहमा कानुनी आधार तयार भएको उपमहानगरले जनाएको छ।

विधेयकमा भलमन्सा तथा पधना प्रणालीको अभिलेखीकरण, संरक्षण, संवर्द्धन, विकास र अभ्यासलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। थारू र रानाथारू समुदायका परम्परागत सामाजिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय शासन प्रणालीसँग समन्वयात्मक रूपमा सञ्चालन गर्ने उद्देश्यले विधेयक ल्याइएको उपमहानगरले जनाएको छ।

समुदायमा परम्परादेखि प्रचलित भलमन्सा तथा पधना प्रणाली सामुदायिक संगठन, सामाजिक सदभाव, न्याय सम्पादन, विकास निर्माण, सांस्कृतिक संरक्षण तथा समाज सञ्चालनको महत्त्वपूर्ण परम्परागत संस्थागत अभ्यासका रूपमा रहेका छन्। पालिकाले बनाएको यो कानुनले नेपालको संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिका सांस्कृतिक अधिकार, परम्परागत ज्ञान, सिप, अभ्यास तथा संस्थागत संरचनाको संरक्षण र प्रवर्द्धन गर्ने राज्यको दायित्व कार्यान्वयनमा समेत सहयोग पुग्ने बताइएको छ।

सुझावित समाचार