बाटोको विकटताले पर्यटकीय गन्तव्य जेफाले ओझेलमा

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण
  • मोरङको खोर्सानेबाट उत्तर पहाडीमार्ग हुँदै जेफालेसम्म पुग्ने सडक ०५८ देखि निर्माण हुन थाले पनि अझै ट्र्याकमै सीमित हुँदा सूर्योदय चम्किने पर्यटकीय गन्तव्य ओझेलमा

प्राकृतिक सौन्दर्य बोकेको मोरङको केराबारी गाउँपालिका– २ मा रहेको जेफाले पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य बन्न थालेको छ । तर, आफ्नै जिल्लाबाट आउने–जाने सडक सहज नहुँदा सूर्योदय चम्किने जेफाले पर्यटन विकासमा उपेक्षितजस्तै छ । पूर्व–पश्चिम एसियन हाइवेमा पर्ने खोर्साने चोकदेखि ३२ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय गन्तव्य हो, जेफाले । खोर्सानेबाट उत्तर पहाडीमार्ग हुँदै जेफालेसम्म ०५८ देखि निर्माण हुन थालेको सडक अझै ट्र्याकमै सीमित हुँदा सूर्योदय चम्कने पर्यटकीय गन्तव्य अँध्यारो भोगिरहन बाध्य भएको हो । 

गाउँपालिकाको मुकाम केराबारी बजारबाट भोगटेनीसम्म १२ किमि सडक स्तरोन्नति भए पनि अझै जेफालेसम्मको सडक स्तरोन्ननति नहुँदा ट्र्याकमा सीमित छ । जसका कारण जेफाले पुग्न पर्यटक धनकुटाको भेडेटार भएर जानुपर्ने बाध्यता छ । पहिले विकट पहाडी गाउँ भनेर ओझेलमा रहेको जेफाले ०७० देखि भ्यु टावर निर्माण भएर होमस्टे सञ्चालन हुन थालेपछि पर्यटकीय गन्तव्यका रूपमा चर्चामा आएको हो । साथै, जेफाले उचित गन्तव्य भएको भन्दै पर्यटक लामो यात्रा गरेर पनि धनकुटाको भेडेटार, डाँडाबजार, राजाराजी हुँदै समेवा भएर जेफाले पुग्ने गरेका छन् । 

जेफाले पर्यटन विकास समितिका सचिव भीम ठकुरीका अनुसार भ्यु टावर बनेपछि सूर्योदय र सूर्यास्त अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तर, आफ्नै जिल्लातर्फको बाटो वर्षौँदेखि कष्टकर नै रहिरहँदा आउनुपर्ने पर्यटक सहजै आउन नपाइरहेको उनले बताए । उनका अनुसार मोरङकै एक मात्र चर्चित चियाबगानसमेत रहेको जेफाले डाँडामा छिनछिनमै कुहिरो लाग्ने, घाम लाग्ने र फेरि पानी पर्ने गर्छ । वर्षभरि चिसो हुने र कोशी प्रदेशका प्रायः सबै जिल्ला देख्न र सूर्योदयसमेत हेर्न पाइने भएकाले जेफाले पर्यटकको रोजाइमा पर्न थालेको ठकुरीले बताए । ‘केराबारीदेखि सहज मोटरबाटो नहुँदा अझै जेफाले पर्यटन विकासमा ओझेलमा परिरहेको छ,’ सचिव ठकुरी भन्छन्, ‘सडक चाँडो स्तरोन्नति भएमा जेफाले देशकै उत्कृष्ट प्राकृतिक पर्यटनको गन्तव्य बन्ने पक्का छ ।’ 

०५८ देखि ट्र्याक खुल्न थालेको सडक अझै अलपत्र 
मोरङको उत्तरी क्षेत्रमा ०५८ मा स्थानीयवासी र जिल्ला विकास समितिको पहलमा कृषि उत्पादनका लागि मोटरबाटोको ट्र्याक खोल्न थालिएको थियो । सुस्त निर्माणकार्य र जहिल्यै बजेटै अभावले अझै पनि काम सकिएको छैन । दातृ निकाय डिएफआईडीको सहयोगमा सञ्चालित ग्रामीण सडक निर्माण कार्यक्रम (आरटिआई)अन्तर्गत खोर्सानेदेखि केराबारी हुँदै जेफालेदेखि धनकुटा जोड्ने ३२ किमि सडक पाँच वर्षभित्र निर्माण गर्ने गरी कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तर, उसले अलपत्र बनाइरहेपछि सरकारले ठेक्का तोड्यो । तर, अझै नयाँ ठेक्का भने लागेको छैन । यसका लागि मोरङको १ (२) निर्वाचन क्षेत्रमा पर्ने जेफालेको विकासमा संघ र प्रदेशका सांसदले पहल गरे पनि त्यो काम सफल हुन सकेको छैन । पूर्वप्रदेश सांसद उपेन्द्र घिमिरे भन्छन् ‘पहिले केन्द्रीय सरकारमार्फत ठेक्का लागेको प्रदेशले बजेट हाल्न पाएन । तर, अहिले संघीय सरकारले बेवास्ता गर्दा सडक स्तरोन्नति अलपत्र भयो ।’ 

धनकुटावासीका लागि पनि महत्वपूर्ण सडक 
धनकुटाको समेवासम्म जोडिएको केराबारी–जेफाले सडक करिडोरका रूपमा समेत चिनिन्छ । केराबारीदेखि भोगटेनीको रामपुर, आरुबोटे हुँदै सिंहदेवीको जेफालेदेखि धनकुटाको  समेवासम्म सडक जोडिने भएकाले धनकुटा र मोरङ दुवैका लागि कृषि उत्पादन ओसारपसारमा सडक महत्वपूर्ण मानिन्छ । 

वर्षौँदेखि पहाडी क्षेत्रका मानिसले तराई–पहाड आवतजावत गर्न यही बाटो प्रयोग गर्दै आएका छन् । उत्तरी मोरङको तराई र पहाड जोडने मुख्य मार्ग भएकाले पनि यो सडक चाँडो स्तरोन्नति भएमा आर्थिक विकासमा सहयोगी हुने सिंहदेवीका कृषक बताउँछन् । मोरङको खोर्साने र लेटाङदेखि धनकुटाको समेवासम्म जोडिएको यो सडक पूर्ण स्तरोन्नति भएमा धनकुटाको भेडेटार, ६ नम्बर बुधबारे, पाँचथरको रविसम्म आवतजावत गर्न र कृषि सामग्री ओसारपसार गर्न पनि सजिलो हुनेछ । बाटो नहुँदा शिक्षा, स्वास्थ्य र सुरक्षामा पनि स्थानीयले समस्या भोग्दै आएका छन् । 

प्राकृतिक वतावरणमा आनन्द लिन पुग्छन् पर्यटक 
समुद्री सतहबाट करिब एक हजार नौ सय ७० मिटर उचाइमा रहेको जेफाले डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य विशेष आकर्षक मानिन्छ । जेफाले डाँडामा निर्माण गरिएको भ्यु टावरबाट साबिक कोशीका १४ वटै जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका वेला सगरमाथा, कञ्चनजंघा र मकालु हिमालका सेता शृंखला स्पष्ट देखिन्छन् । 

बाह्रै महिना चिसो हावापानी र मनोरम दृश्य देखिने जेफाले डाँडामा चढेर सूर्योदय हेर्न र प्रदेशका विभिन्न जिल्ला अवलोकन गर्न सकिन्छ । सडकको समस्या समाधान भएमा यहाँ पर्यटक पुग्ने मात्र होइन, ओइरिने विश्वास स्थानीयको छ । स्थानीय चिया उद्यमी खुजुमविना राई भन्छिन्, ‘आफ्नै जिल्लाको सडक मात्र बनिदिने हो भने जेफालेमा पर्यटक आउने मात्र होइन, ओइरिने थिए ।’ 
 

सुझावित समाचार