नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन् ।
आजबाट चितवनमा सुरु हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा रास्वपा सभापति रवि लामिछानेलाई शुभकामना सन्देश दिँदै थापाले भनेका छन्, ‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।’
‘यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो,’ थापाले भने, ‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु। तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।’