बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

बैतडीको दशरथचन्द नगरपालिका– ४ स्थित ट्राफिक माेडमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस साँझ सडकबाट अनियन्त्रित भई करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा दशरथचन्द नगरपालिका– ६ का ३५ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको बैतडी प्रहरी प्रमुख दीपककुमार  रायले बताए। 
दुर्घटनामा घाइते भएका १० जनाकाे जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। 

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका- ४ बस्ने लक्ष्मी ऐरी (२७), हेमविक्रम जोशी (८), पूर्णदेवी जोशी (६०), पूजा कार्की (२२) र उनकी तीन वर्षीया छाेरी रहेकी छिन्। त्यस्तै, दशरथचन्द नगरपालिका- २ बस्ने ललिता लावड (२०), जानकी लावड (३२), दशरथचन्द नगरपालिका- ६ बस्ने लक्ष्मी साउद (३०), दशरथचन्द नपा- ५ बस्ने कर्णदेव भट्ट (५२), पाटन नगरपालिका- ९ का कविराज भट्ट (३५) रहेकाे प्रहरीले जानकारी दिएकाे छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बसमा पाटन- ८ का चालक केशव महरा (३७) सहित १२ जना सवार रहेको प्रहरीले बताएकाे छ । चालक महरालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

सुझावित समाचार