- अमेरिका–इरान युद्धका क्रममा इस्लामिक शासन प्रणालीले स्थापनापछिकै ठुलो विदेशी चुनौतीलाई सफलतापूर्वक सामना गर्यो
अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्व क्षेत्र र विश्वव्यापी ऊर्जा बजारलाई तहसनहस पारेको युद्ध अन्त्य गर्न इरानी शासनबाट सम्झौता सुरक्षित गरेका छन् । शुक्रबार सम्झौतामा हस्ताक्षर हुने भनिएकोमा एक दिनअघि नै सहमतिमा हताक्षर भयो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको उक्साहटमा ट्रम्पले फेब्रुअरी २८ मा इरानी शासनलाई ध्वस्त पार्ने र तेहरानलाई आत्मसमर्पण गराउने लक्ष्यका साथ युद्ध सुरु गरे, जसरी उनले भेनेजुएलामा गरेका थिए । यद्यपि, तेहरानको बलियो रक्षात्मक प्रतिक्रियाको सामना गर्दै उनले यो लक्ष्य हासिल गर्न सकेनन् । विशाल घरेलु र अन्तर्राष्ट्रिय दबाबमा ट्रम्पले अन्ततः द्वन्द्वलाई सकेसम्म चाँडो अन्त्य गर्न उपलब्ध कूटनीतिक समाधान लिनुपर्ने निर्णय गरे ।
वासिंटन र तेहरानले हालै घोषणा गरेको समझदारी पत्र यस वास्तविकताको पुष्टि हो । यसले इरानलाई युद्धअघिको भन्दा बलियो स्थितिमा छाड्नेछ, अमेरिकाको यस क्षेत्रमा धेरै कम प्रभाव हुनेछ र इजरायल अन्योलमा पर्नेछ । यो सम्झौताले फारसी खाडीका अरब राज्यलाई अमेरिकासँगको आफ्नो सुरक्षा गठबन्धनको पुनर्मूल्यांकन गर्न र प्रभावशाली क्षेत्रीय खेलाडीको रूपमा इरानसँग सम्झौता गर्न पनि प्रेरित गर्नेछ ।
इरानी र अमेरिकी उपलब्ध गराएको सम्झौताका संस्करणमा दुवै पक्षले हर्मुजको जलमार्गमा डुंगा र जहाज पुनः सुरु गर्न र इरानको बन्दरगाहमा अमेरिकी नौसेना नाकाबन्दी हटाउन सहमत भएको देखिन्छ । इरानको आणविक कार्यक्रममा आगामी ६० दिनसम्म वार्ता पनि जारी रहनेछ । यसबाहेक, अन्य मुद्दामा दुवै पक्ष धेरै फरक देखिन्छन् ।
सम्झौतामा इजरायलले लेबनानमा गरेको बमबारीसहित सबै मोर्चामा लडाइँ रोक्ने कुरा पनि उल्लेख छ । ६० दिने वार्ताको क्रममा पश्चिमका बैंकमा फ्रिज रहेका करिब २४ अर्ब अमेरिकी डलरबराबरको इरानी सम्पत्ति रिहा गर्ने कुरा पनि छ । त्यस्तै, सम्झौताले अमेरिका र यसका सहयोगीलाई कम्तीमा ३०० अर्ब अमेरिकी डलरको इरानको लागि पुनर्निर्माण योजना प्रदान गर्न बाध्य पार्छ ।
अमेरिकी मिडिया आउटलेट एक्सियोसका अनुसार सम्झौताले तुरुन्तै विनाकुनै क्षति स्ट्रेट खोल्न आह्वान गर्छ । एक अमेरिकी अधिकारीले एक्सियोसलाई बताएअनुसार स्ट्रेट फेरि खोलेपछि इरानलाई तेल बेच्न अनुमति दिन ‘अस्थायी प्रतिबन्ध छुट’ दिइनेछ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा सम्झौताको घोषणामा लेबनानबारे पनि कुनै उल्लेख गरेनन्, यद्यपि पाकिस्तानी मध्यस्थकर्ताले लेबनानलाई सम्झौतामा समावेश गरेको बताए । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित धेरै विवादास्पद मुद्दा पनि समाधान हुन बाँकी छन् । यसमा इरानको अत्यधिक समृद्ध युरेनियमको भण्डारको भविष्य र शान्तिपूर्ण उद्देश्यका लागि सहमतस्तरमा इरानलाई युरेनियम समृद्ध गर्न अनुमति दिनुपर्छ कि पर्दैन भन्ने कुरा समावेश छ ।
ट्रम्प र नेतन्याहुले इरान युद्ध सुरु गर्दा इरानको खामेनी शासनलाई पतन गर्ने, यसको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र क्षमतालाई नष्ट गर्ने र यसका क्षेत्रीय सहयोगीहरू लेबनानी हिज्बुल्लाह, यमनी हुथी, इराकी सिया मिलिसिया र प्यालेस्टिनी हमास र इस्लामिक जिहादसँगको सम्बन्ध तोड्ने लक्ष्य घोषणा गरेका थिए । मुख्यत मध्यपूर्वको अवस्था अमेरिका र इजरायलको फाइदाका लागि परिवर्तन गर्नु थियो । यसले नेतन्याहुलाई इरानलाई कमजोर अस्तित्वमा परिणत गर्ने र रणनीतिक रूपमा महत्वपूर्ण र तेलका दृष्टिले धनी मध्यपूर्वमा ‘ग्रेटर इजरायल’को आफ्नो दृष्टिकोणलाई पछ्याउने आफ्नो लामो समयदेखिको उद्देश्य हासिल गर्न अनुमति दिनेछ ।
यद्यपि, यसको अधिनायकवादी प्रकृति र यसको सामना गरिरहेका सबै घरेलु तथा विदेशी नीतिगत चुनौतीका बाबजुद इरानको इस्लामिक शासन प्रणाली कायम रह्यो । अर्थात, यसको निर्माण सामान्य धक्कामा नढल्ने गरी बनाइएको रहेछ । यसले आफ्नो नेतृत्वको हत्या, अमेरिका–इजरायलको विशाल सैन्य बमबारी र त्यसपछि इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी सहेको छ ।
इरानमा निश्चित रूपमा आफ्नो पूर्वाधार र अर्थतन्त्रमा ठुलो क्षति भएको छ, साथै नागरिक हताहत पनि भएको छ । तर, वर्तमान इस्लामिक शासनले अमेरिका, यसको क्षेत्रीय खाडी अरब सहयोगी र इजरायलका लागि धेरै महँगो साबित गर्ने प्रतिक्रिया दिन सक्षम भयो । युद्धअघि तेहरानको कहिल्यै नभएको हर्मुज जलमार्गमाथिको प्रभावलाई विश्वव्यापी ऊर्जा र मलसंकट निम्त्याउन प्रयोग गर्यो र तेहरानलाई ठुलो लाभ प्रदान गर्न सक्यो ।
यसैबिच, ट्रम्पले युद्धको बढ्दो घरेलु विरोध, घट्दो हवाई रक्षा अवरोधकहरू र परम्परागत अमेरिकी सहयोगीबिचको समर्थनको अभावसँग जुधिरहेका थिए । यी सबैलाई ध्यानमा राख्दै ट्रम्पसँग द्वन्द्वलाई लामो समयसम्म चल्न नदिने मुख्य कारण आउँदो उपनिर्वाचन हो । यो सम्झौता नेतन्याहुका लागि धेरै निराशाजनक हुन सक्छ ।
लेबनानमा निरन्तर आक्रमण गरेर र सायद औपचारिक रूपमा गाजा र वेस्ट बैंकलाई कब्जा गरेर नेतन्याहुले अझै पनि शान्ति सम्झौतालाई कमजोर पार्ने प्रयास गर्न सक्छन् । आफ्नो सैन्य क्षमता र राजनीतिक अस्तित्व कायम राख्न नेतन्याहुको अमेरिकामाथिको निर्भरतालाई ध्यानमा राख्दै ट्रम्पसँग उनी र उनको मन्त्रिपरिषद्का उग्र दक्षिणपन्थी मन्त्रीहरूलाई आफ्नो पक्ष्यमा ल्याउन बाध्य पार्ने ठुलो शक्ति चाहिन्छ ।
अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर भएपछि त्यसले इरान र अमेरिकाबिचको कुनै प्रकारको सम्बन्धका लागि बाटो खोल्ने सम्भावना राख्छ । यसले थप स्थिर र शान्तिपूर्ण मध्यपूर्वको बाटो खुलाउन सक्छ । तर, अत्यधिक खुसि मनाउने समय अझै आएको छैन । दुवै पक्ष पहिले पनि आजको अवस्थामा आएका थिए ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा महिनौँअघिदेखि उनीहरूले इरानको आणविक कार्यक्रमबारे सम्झौताको वार्ता गरिरहेका थिए । ओमानी मध्यस्थकर्ताका अनुसार बम खस्न थालेपछि सम्झौता ‘पहुँचभित्र’ थियो । यसको अर्थ अहिले भएको कुनै पनि युद्धविराम धेरै कमजोर हुन सक्छ । यसले यो प्रश्न पनि उठाउँछ कि यो युद्ध अन्तर्राष्ट्रिय कानुन वा अमेरिकी कंग्रेसको अनुमोदनको कुनै चासोविना भएको थियो ।
द कन्भर्सेसनबाट
(सैकल अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालय, पश्चिमी अस्ट्रेलिया विश्वविद्यालय र भिक्टोरिया विश्वविद्यालयमा ‘मध्यपूर्वी अध्ययन’का प्राध्यापक हुन् ।)