रघुगंगा गाउँपालिकाको ५६ करोड बढीको बजेट पारित

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

म्याग्दीको रघुगंगा गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। बिहीबार २१औँ गाउँसभाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि रु. ५६ करोड बढीको बजेट पारित गरेको हो। 

गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१औँ गाउँसभाबाट आगामी वर्षका लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालू आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकमसमेतलाई स्रोत अनुमान गरी रु. ५६ करोड ४ लाख २० हजार ७ सयबराबरको बजेट पारित गरिएको हो।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले सभामा प्रस्तुत गरेको बजेट छलफलपछि सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए। उनका अनुसार आगामी आर्थिक वर्षको बजेट पारित गर्ने रघुगंगा गाउँपालिका नेपालमै पहिलो स्थानीय तह बनेको छ।

रघुगंगाले चालूतर्फ रु. ३८ करोड २ लाख २० हजार ७ सय र पुँजीगततर्फ १८ करोड २ लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाले पारित गरेको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. ९ करोड ३१ लाख, ससर्त अनुदानतर्फ रु. २२ करोड ७४ लाख, विशेष अनुदानतर्फ रु. १ करोड ५० लाख, समपूरक अनुदानतर्फ रु. ७० लाख गरी रु. ३४ करोड ३५ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान रु. १ करोड १ लाख ७ हजार, समपूरक अनुदानतर्फ रु. ६० लाख, विशेष अनुदानतर्फ रु. ३९ लाख ९८ हजार समावेश गरिएको छ। बजेटमा संघीय सरकारको राजस्व बाँडफाँटतर्फ रु. १० करोड ६२ लाख ७७ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु. १ करोड ५ लाख ३३ हजार, आन्तरिक आम्दानीतर्फको राजस्व रु. १ करोड ५ लाख तथा चालू आर्थिक वर्षमा खर्च नभई बाँकी रहने रु. ७ करोड ७६ लाख रकमलाई समावेश गरिएको छ।

पूर्वाधार विकासतर्फ रु. १३ करोड ४५ लाख ७२ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु. १४ करोड २१ लाख ५१ हजार, सामाजिक विकासतर्फ रु. २६ करोड ६९ लाख ७० हजार, आर्थिक विकासमा रु. १ करोड ५६ लाख २७ हजार ७ सय तथा वन, वातावराण तथा विपत् व्यवस्थापनतर्फ रु. ११ लाख बजेट विनियोजन भएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमसमेत पारित भएको छ। पालिकाले कृषि, पशुपालन, पर्यटन क्षेत्रको विकास, शिक्षा र स्वास्थ्यको सुधार तथा पूर्वाधार निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ।

सुझावित समाचार