बाराको कोल्हवी नगरपालिका– ३, जुगुवा टोलमा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब १:३० बजे चौधरी आफ्नै एकतले पक्की घरको छतबाट पिसाब फेर्ने क्रममा अचानक सन्तुलन गुमाएर तल खसेका थिए।
छतबाट लड्दा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। घटनापछि परिवार तथा स्थानीयवासीले उनलाई तत्काल उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल पुर्याएका थिए। त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई परवानीपुरस्थित एलएस न्युरो अस्पताल रेफर गरिएको थियो।
अस्पतालमा उपचारकै क्रममा बिहान करिब ५ बजे चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ। चौधरीको अकाल निधनले परिवार तथा स्थानीयवासी शोकमा डुबेका छन्।