राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । ३५८ मत पाएर विष्ट सभापतिमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् । धामी कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
विष्ट यसअघि पनि रास्वपाको प्रदेश सभापति थिए । चुनावअघि सभापतिका लागि धेरै आकांक्षी देखिए पनि अन्तिममा विष्ट र धामीबिच प्रतिस्पर्धा भएको थियो । रास्वपा सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन सोमबार धनगढीमा सुरु भएको थियो ।
अधिवेशनले सभापतिसहित उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र बाँकी सदस्य गरी ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
सभापतिसहित भूगोलबाट १६ जना र खुला तथा समावेशीतर्फ १५ जना सदस्य चयनका लागि मतदान भएको थियो । अब अर्को चरणमा पदाधिकारी चयनका लागि मतदान हुने रास्वपाको निर्वाचन समितिले जनाएको छ ।