अमेरिका–इरान सम्झौताका बुँदा
- लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम
- इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता
- ३० दिनभित्र अमेरिकी नौसेनाको नाकाबन्दी हट्ने
- इरानबाट अमेरिकी सेना फिर्ता हुने
- ३० दिनभित्र हर्मुज जलमार्ग पुनः खुल्ने
- अमेरिका र उसका सहयोगीले इरानका लागि कम्तीमा ३०० अर्ब डलरको पुनर्निर्माण योजना ल्याउने
- इरानी तेल र ऊर्जा उत्पादनमाथिको अमेरिकी प्रतिबन्ध अन्त्य गरिने
- आणविक हतियार उत्पादन नगर्ने प्रतिबद्धता इरानले दोहोर्याउने
- इरानवरपरको क्षेत्रमा आफ्नो सेना नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने अमेरिकी प्रतिबद्धता
अमेरिका र इरानबिच युद्ध अन्त्यको सहमति भएको छ । केही सातादेखि जारी युद्धविरामबिच आइतबार दुई देश युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा सहमत भएका हुन् । यससँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको छ । पाकिस्तानका प्रधानमन्त्री तथा दुई देशबिचको मध्यस्थकर्तामध्ये एक सहबाज सरिफले अमेरिका र इरानबिच शान्ति सम्झौता भएको बताएका छन् । उनका अनुसार लेबनानसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ । ‘गहन वार्तापछि अमेरिका र इस्लामिक गणतन्त्र इरानबिचको शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्न पाउँदा हामी खुसी छौँ,’ उनले एक्समा लेखेका छन्, ‘दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्यको घोषणा गरेका छन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच सम्झौता भएको पाकिस्तानको रिपोर्टलाई पुष्टि गरेका छन् । ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ,’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् । उक्त मार्ग खुलाउने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन आफूले आदेश दिएको ट्रम्पले जनाएका छन् ।
ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि ‘तेलको आपूर्ति पुनः सुरु हुने’ र विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने हर्मुज जलमार्गमा अवरोध नहुने बताएका छन् । इरानी अधिकारीहरूले पनि अमेरिकासँग सम्झौता भएको पुष्टि गरेका छन् । इरानको शीर्ष सैन्य कमान्डले सम्झौतालाई तेहरानको विजयको रूपमा स्वागत गरेको त्यहाँका उपविदेशमन्त्रीले बताएका छन् ।
सम्झौताको प्रारुपलाई अन्तिम रूप दिन कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको थियो । करिब १५ घन्टा लामो छलफलपछि इस्लामाबादमा तयार गरिएको प्रारुप टुंगोमा पुगेको थियो । अन्तिम सम्झौताका लागि ६० दिनभित्रमा वार्ता हुने तय भएको उपविदेशमन्त्रीले बताएका छन् । यसैबिच इरानी सञ्चार माध्यमले अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र अन्त्य गर्न सहमति भएको जनाएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सोमबार रातिदेखि लेबनानसहित सबै मोर्चामा युद्ध र सैन्य गतिविधि स्थायी रूपमा रोक्ने जनाएको छ ।
सम्झौतासम्बन्धी समझदारी पत्र (एमओयू)मा भने आगामी शुक्रबार (जुन १९) स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुनेछ । यो सहमतिपछि सोमबार प्रारम्भिक कारोबारमै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रारम्भिक कारोबारमा करिब चार प्रतिशतले घट्दा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्युटिआई) ४.६ प्रतिशतभन्दा बढीले घटेको छ । एसियाली सेयर बजारमा भने सामान्य वृद्धि देखिएको छ ।
अन्तिम सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावद्वारा अनुमोदन हुने इराको अर्ध सरकारी मिडिया मेहर समाचार संस्थाले जनाएको छ ।
सम्झौताको विश्वनेताले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले तत्काल र स्थायी युद्धविराम गर्ने, हर्मुज जलमार्ग खुला गर्ने तथा भावी वार्ताका लागि स्पष्ट रूपरेखा तय गर्ने सहमति गरेकोमा अमेरिका र इरान दुवैलाई बधाई दिएका छन् । ‘यो द्वन्द्वलाई शान्तिपूर्ण समाधानतर्फ लैजाने महŒवपूर्ण खुड्किलो हो,’ गुटरेसले भने । शान्ति सम्झौताको जापान, अस्ट्रेलिया, फ्रान्स, बेलायत, टर्की जर्मनी, न्युजिल्यान्डले स्वागत गरेका छन् ।
वार्ता सफल बनाउन पाकिस्तानले गरेको असाधारण मध्यस्थताको ती देशले प्रशंसा गरेका छन् । त्यस्तै, सम्झौता सफल पार्न साउदी र कतारले पुर्याएको सहयोगको पनि ती देशले स्वागत गरेका छन् ।
इजरायलले कसरी हेरेको छ सम्झौतालाई ?
सम्झौतापछि देशभित्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको तीव्र आलोचना भएको छ । विपक्षीहरूले इरानमाथिको अमेरिका–इजरायल युद्धमा इजरायलले आफ्नो मुख्य उद्देश्य प्राप्त गर्न असफल भएको तर्क गरेका छन् । इजरायली पत्रिका हार्तेजका स्तम्भकार गिडिअन लेभीले अलजजिरालाई बताएअनुसार यो सम्झौतालाई इजरायलमा ‘इजरायल र विशेषगरी नेतान्याहूको व्यक्तिगत हार’को रूपमा हेरिएको छ । इजरायललाई ‘वार्ताबाट पूर्ण रूपमा बहिष्कृत’ गरिएको तर्क गर्दै लेबीले भने, ‘इरान नेतन्याहुको जीवन परियोजना थियो । अब त्यो रहेन ।’
इजरायलको मध्य–वामपन्थी डेमोक्य्राट पार्टीका नेता यायर गोलानले सम्झौतालाई ‘धेरै वर्षको असफलताको पराकाष्ठा’ भने । उनको विचारमा नेतन्याहु ‘इजरायलका शत्रुसँग बलियो भएर आफ्नो कार्यकाल समाप्त गर्दै छन् ।’ अति–दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–ग्भिरले इजरायल यस सम्झौताको साझेदार नभएको र यसले देशको सुरक्षा नगर्ने बताए । ‘हामी लेबनानमा हाम्रा लडाकुले कब्जा गरेको कुनै पनि क्षेत्रबाट पछि हट्नुहुँदैन,’ उनले अगाडि भने ।
प्रारम्भिक रिपोर्टले इजरायलको घोषित रणनीतिक लक्ष्यमध्ये एक हिज्बुल्लाहलाई निःशस्त्रीकरण गर्ने कुनै उल्लेख नभएको पनि संकेत गरेको छ । इजरायल र लेबनानले जुन २२ मा वासिंटन डिसीमा अर्को चरणको वार्ता गर्ने तय भएको छ । हिज्बुल्लाहलाई उनीहरूको वार्तामा समावेश गरिएको छैन ।
एजेन्सी