बेलायतमा आप्रवासनविरोधी अभियान र सामाजिक सञ्जालको दुरुपयोग

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

गत जुन ६ को साँझदेखि समाजिक सञ्जाल प्रयोगकर्तामाझ एक भयानक चक्कु आक्रमणको फुटेज फैलिन थाल्यो । भिडियोमा सन् २०२३ तिर बेलायत प्रवेश गरेका ३० वर्षीय सुडानी शरणार्थीले कसैमाथि लगातार चक्कु हानिरहेका देखिन्छन् । उनीमाथि अहिले हत्या प्रयासको आरोपमा मुद्दा चलाइएको छ ।

भिडियो बाहिरिएलगत्तै परिस्थितिको फाइदा उठाउन उग्रदक्षिणपन्थी शक्तिले आप्रवासनविरोधी एजेन्डा अघि बढाउन द्रुत गतिमा काम सुरु गरिहाले । सोही घटनाका कारण मंगलबार (जुन ७) साँझ बेलफास्ट सहर र सहरबाहिरका सडकमा हिंसात्मक अशान्ति भड्कियो । घर, कार र बसहरूमा आगजनी र तोडफोड गरियो । अनुहारमा नकाब लगाएका मानिसहरू तोडफोड र आगजनीमा उत्रिए । 

चक्कु आक्रमणको भिडियो बाहिरिएपछि उग्रदक्षिणपन्थी अभियन्ता टमी रोबिन्सनले (वास्तविक नाम स्टिफन याक्सली–लेनन) समर्थकहरूलाई ‘आक्रमणकारीको हमला’विरुद्ध सडकमा उत्रिन आग्रह गरेका थिए । रोबिन्सनले समाजिक संजालमा ‘ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्ड’का विभिन्न स्थानमा तय गरिएका प्रदर्शनको योजना सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । सामाजिक सञ्जाल ‘एक्स’मा रोबिन्सनले गरेको पोस्ट प्रविधि अर्बपति एलन मस्कले समेत सेयर गरे । त्यसक्रममा मस्कले ब्रिटिस नागरिकहरूलाई आप्रवासन नीति बदल्न आह्वान गरेका छन् । 

तनाव बढिरहँदा उग्रदक्षिणपन्थी दल ‘रिस्टोर युके’का नेता रुपर्ट लोबले आफूहरू सत्तामा पुगे  ठुलो संख्यामा आप्रवासीलाई देश निकाला सुरु गर्ने घोषणा गरे । साथै, उनले ‘आततायीहरू’का आक्रमण रोक्न देशमा मृत्युदण्ड फर्काउने वाचासमेत गरे । उता उही समयमा, बेनामी एकाउन्टबाट व्हट्सएप सन्देश प्रसारित हुन थाले, जसमा उत्तरी आयरल्यान्डका १८ वर्ष र माथिका पुरुषहरूलाई ‘लड्न वा पक्राउ पर्न तयार हुन’ आह्वान गरिएको थियो ।

 शान्ति कायम गर्ने प्रयास 
तनाव कम गर्ने प्रयासमा उत्तरी आयरल्यान्डका मूलधारका राजनीतिज्ञले भने शान्तिको अपिल नगरेका होइनन् । अपिल गर्नेहरूमा मूलधारका सबै दलका नेताहरू सम्मिलित थिए । तिनले लोबजस्ता दक्षिणपन्थी राजनीतिज्ञहरूले आफ्नो स्वार्थका लागि घटनाको फाइदा उठाएकोमा निन्दा गरे । र, उत्तरी आयरल्यान्डको प्रहरी सेवा (पिएसएनआई)का चिफ कन्स्टेबल जोन बाउचरले सर्वसाधारणलाई अनलाइन माध्यममार्फत उपद्रव मच्चाउने उद्देश्यले भएका व्यक्तिको ‘बहकाउ’मा नपर्न आग्रह गरे ।

तर, यी आह्वानले एकजना व्यक्तिले गरेको हत्या प्रयासको भिडियोबाट उत्तेजित युवाहरूलाई रोक्न सकेन । बेलफास्ट सहरको ‘लोअर न्युटाउनाड्र्स रोड’मा बसमाथि आगजनीसँगै हिंसा सुरु भयो । जुन, बिस्तारै सहरभरि हिंसाका रूपमा फैलियो । प्रदर्शनकारी र प्रहरीबिच छिटपुट झडप भए । बल्लिक्लेयर र पोर्टाडाउनजस्ता सहरमा पनि हिंसा भड्किए । बल्लिक्लेयरमा एकजना टर्किस मूलका हजामको पसलमा आक्रमण गरियो । उत्तरी आयरल्यान्डबाहिर ग्लास्गोमा पनि प्रदर्शनको प्रयास भएको थियो, तर प्रहरी कारबाहीका कारण प्रदर्शनले ठुलो रूप लिन पाएन । 

उत्तरी आयरल्यान्डमा हिंसा मच्चाउन प्रयोग गरिएको शैली धेरैका लागि सुने–सुनेजस्तो लाग्न सक्छ । हुन पनि विगत दुई वर्षको अवधिमा, उग्रदक्षिणपन्थी शक्तिहरूले आफ्नो आप्रवासनविरोधी अभियान उचाल्न अनलाइन प्लाटफर्मलाई व्यापक प्रयोग गर्न थालेका छन्, जहाँ उनीहरूले अल्पसंख्यकका ससाना अपराधलाई हतियार बनाउँछन् । यही शैली उनीहरूले बल्लिमेनामा एक किशोरीमाथि भएको बलात्कार प्रयासको आरोपपछि र साउथपोर्टमा तीन युवतीको हत्या र साउथह्याम्प्टनमा हेनरी नोवाकको हत्यापछि प्रयोग गरे । 

उल्लेखित घटनामा संदिग्धहरूको जातीयता र बेलायतमा तिनको शरण स्थितिबारे अनलाइनमा व्यापक अनर्गल हल्ला चलेपछि प्रशासन दोषीबारे जानकारी साझा गर्न बाध्य भएको थियो । बेलफास्ट घटनामा पनि प्रहरीले पछि झुटो खबर छिटो फैलिन सक्ने डरले संदिग्धको जानकारी छिट्टै सार्वजनिक गरेको थियो ।

हिंसा रोक्न प्राविधिक कम्पनीले चालेनन् कदम
आप्रवासीविरुद्ध हिंसा मच्चाउन उद्दत समूहका लागि तथ्य र वास्तविकताले त्यति महत्व राखेको देखिँदैन । राजनीतिज्ञ प्रायः यस्ता हिंसापछि उग्रदक्षिणपन्थी अभियन्ताको विरोध र प्रविधि कम्पनीले आफ्नो प्लाटफर्ममा हिंसा भड्काउने व्यक्तिका गतिविधि रोक्न पर्याप्त काम नगरेको भन्दै उनीहरूको आलोचना हुने गर्छ । जबकि, कतिपय राजनीतिज्ञले हिंसा भड्काउन अझै बढी काम गर्न सक्छन् । आप्रवासनसम्बन्धी विषाक्त वातावरण सिर्जना गर्न मद्दत गरेकोमा उनीहरूले पनि आफ्नो दोष स्विकार्नुपर्छ । 

राजनीतिक रूपमा स्वीकार्य तर्क पछिल्लो समय दक्षिणपन्थतर्फ सर्दै गएको यसको मापनविधि ‘ओभरटन विन्डो’ले देखाउँछ । यो कुरा रिस्टोर युकेका नेता लोबको टिप्पणी स्वीकार्य हुनुले पुष्टि गर्छ । तथापि, बेलायतका केही समुदायमा आप्रवासनबारे निकै गलत धारणाले जरा गाडेको छ । विशेषतः शरणार्थीबारे अनेक गलत हल्ला सुनिरहेकाले उनीहरूमा यस्तो धारणा बनेको हुन्छ । मूलधारका राजनीतिज्ञ नै शरणार्थीले अधिक धेरै कल्याणकारी सेवा लिइरहेको भन्दै उनीहरूको विरोधमा उत्रिएको पाइन्छ ।  जबकि यी दाबीलाई समर्थन गर्ने प्रमाण भेटिँदैन । यस भाष्यले अल्पसंख्यक समुदायहरूलाई ती मुद्दाका लागि दोषी ठहराउँछ, जुन तिनीहरूसँग कुनै सरोकार नै छैन ।

आप्रवासनसम्बन्धी दक्षिणपन्थी विचारलाई मिडिया कभरेजले थप सबल बनाउँछ । शरणार्थीहरूले ठुलो परिमाणमा कल्याणकारी लाभ लिइरहेको भन्ने दाबीको ‘फ्याक्ट–चेक’ गर्न र सही तथ्य दिन सञ्चार माध्यम असफल भइरहेका छन् । यो साता बेलफास्ट र अन्यत्र देखिएको हिंसालाई कसरी प्रतिक्रिया दिने भनेर निर्णय गर्ने राजनीतिज्ञहरूको हो । भड्काउ पोस्ट हटाउने कुरामा अनलाइन प्लाटफर्महरूले थप काम गर्न सक्छन् । सार्वजनिक व्यक्तित्वले  उनीहरूले निम्ताएको समस्या समाधान गर्न सघाउनुपर्छ । आमजनतालाई आप्रवासनसम्बन्धी तथ्यमा आधारित भाष्यको आवश्यक छ । यस्तो भाष्य, जसले देशको सबैजसो सामाजिक समस्याका लागि शरणार्थीलाई दोष दिन बन्द गरोस् । 
द कन्भर्सेसनबाट

सुझावित समाचार