विश्वविद्यालयमा एआईको प्रयोगले निम्त्याउने जोखिम

अहिलेको एआई युगमा प्रविधिलाई विनासोचविचार स्विकार्ने प्रवृत्तिको जोखिममा छन् विश्वविद्यालय

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

आगामी दिनमा सबै कुराको जवाफ कृत्तिम बुद्धिमत्ता अर्थात एआई होला त ? अमेरिकी विश्वविद्यालयमा स्नातक उत्तीर्ण विद्यार्थीलाई चर्चित व्यक्तित्व बोलाएर दिइने मन्तव्य अर्थात् ‘कमेन्समेन्ट स्पिच’मा यो वर्ष बोल्ने अधिकांश दिग्गजले यस्तै प्रश्न गरे । ग्र्याजुएसनपछि श्रमबजारमा प्रवेश गर्न लागेका विद्यार्थीका लागि ‘एआई’ उनीहरूले सिक्नुपर्ने सिपभन्दा पनि सम्पूर्ण श्रमबजार बदल्न सक्ने शक्तिको रूपमा ब्यर्थ प्रचार गरिँदै छ । यद्यपि, एआईले विद्यार्थीलाई रोजगारीमा मात्र नभई धेरै हिसाबमा चुनौती दिँदै छ ।

पछिल्लो समय एआईलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई पुनर्संरचना गर्न प्रोत्साहित गरिँदै छ । विश्वविद्यालयको बजेट अभाव, प्रशासनिक बोझ र श्रमिकको उच्च माग सबैको समाधान ‘एआई हो’ भनिँदै छ । तर, यही कुरामा वास्तविक जोखिम  छ । ‘एआईको युग’मा, विश्वविद्यालयहरू प्रविधिलाई विनाआलोचना स्विकार्ने प्रवृत्तिको सिकार हुने जोखिममा छन् । उच्च शिक्षा प्रदायक संस्था गहिरो वित्तीय अभावमा परेको समयमा प्रविधि उद्योगले ती संस्था (विश्वविद्यालयजस्ता शैक्षिक संस्था) लाई  आफ्नो स्वार्थपूर्ति गर्न साधनका रूपमा प्रयोग गर्ने जोखिम बढेको छ ।

अमेरिकी नेटवर्किङ तथा प्रविधि कम्पनी ‘सिस्को’ले प्रायोजन गरेको पछिल्लो एक आलेखले दाबी गरेअनुसार ‘अग्रगामी सोच भएका संस्थाले एआईलाई उनीहरूको स्रोत सीमितताको समाधानको रूपमा हेर्छन् ।’ उक्त आलेखमा अगाडि भनिएको छ, ‘एआईले नियमित कामलाई स्वचालित बनाउन सक्छ । विद्यार्थीलाई दिइने सेवामा सुधार गर्न सक्छ र विश्वविद्यालयलाई अझ कुशलतापूर्वक सहयोग गर्न सक्छ ।’ आलेखले विश्वविद्यालयहरूले ‘एआईसँग सम्बन्धित सिपका लागि आपूर्ति शृंखलाको रूपमा आफ्नो भूमिका’लाई स्विकार्नुपर्नेमा पनि जोड दिएको छ । रोजगार क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीले एआईको साथ खोज्ने र रोजगारदाताले पनि एआईबारे ज्ञान भएका कामदारको माग गर्न थालेको सन्दर्भलाई समेत आलेखमा जोडिएको छ ।

एआई अहिलेसम्म प्रशासनमा सीमित देखिन्छ । भोलिका दिनमा यो शिक्षण र विद्यार्थीको मूल्यांकनमा प्रयोग हुन थालेपछि समस्या झन् गम्भीर हुनेछ । कक्षा सञ्चालन शैलीदेखि कठिन पाठको सारांश तयार गर्न एआई सहयोगीसिद्ध हुने एआई समर्थक बताउँछन् । तर, यस्ता गतिविधिले गोपनीयता र जवाफदेहितालाई बेवास्ता गर्छन् ।

आर्थिक अभाव र एआई प्रयोगको दबाबबिच मिनिसोटा विश्वविद्यालय, डार्टमाउथ कलेज र सिराक्युज विश्वविद्यालयले एआई कम्पनीसँगको सम्झौतामा हस्ताक्षर गरेका छन् । सन् २०२५ मा क्यालिफोर्निया स्टेट युनिभर्सिटीले आफ्ना पाँच लाखभन्दा बढी विद्यार्थी र संकायलाई कम्पनीको ‘शिक्षाकेन्द्रित’ च्याटबट बनाइदिन ‘ओपन–एआई’ नामक कम्पनीसँग १.७ करोड अमेरिकी डलरको सम्झौता ग¥यो । तथापि, सो विश्वविद्यालयका विद्यार्थी र शिक्षकमाझ गरिएको एक सर्वेक्षणमा धेरैले ‘एआईका सुनौला वाचा’प्रति विश्वस्त नभएको जवाफ दिए ।

विश्वविद्यालयहरूले जब आफ्ना कामलाई स्वचालित गर्न सकिने वा एआईमार्फत सस्तो बनाउन सकिने ठान्न थाल्छ, तब के होला ? यस सम्बन्धमा हामीले एरिजोनाको ‘ग्लेन्डेल कम्युनिटी कलेज’मा भएको ग्र्याजुएसन समारोहमा एउटा सानो तर उल्लेखनीय घटना देख्यौँ । कलेजको नेतृत्वले पास भएका विद्यार्थीलाई प्रमाणपत्र दिँदा एआई प्रणाली प्रयोग गरेको थियो । तर, प्रणालीले विद्यार्थीको सही नाम उच्चारण गर्न सकिरहेको थिएन । जिसिसीका अध्यक्ष टिफनी हर्नान्डेजले पछि यस घटनाको स्पष्टीकरण दिनुप¥यो । तथापि, उनले बोलिरहँदा पास भएका विद्यार्थी र तिनका परिवारले विरोध जनाए ।

एआई अहिलेसम्म प्रशासनमा सीमित देखिन्छ । भोलिका दिनमा यो शिक्षण र विद्यार्थीको मूल्यांकनमा प्रयोग हुन थालेपछि समस्या झन् गम्भीर हुनेछ । एआईले लागत घटाएर प्रशासनिक बोझ कम गर्न सक्ने समर्थक बताउँछन् । त्यस्तै, कक्षा सञ्चालन शैलीदेखि कठिन पाठको सारांश तयार गर्न पनि यो सहयोगी हुने उनीहरूको तर्क छ । तर, त्यस्ता गतिविधिले गोपनीयता, पूर्वाग्रह र जवाफदेहितासम्बन्धी चिन्तालाई भने बेवास्ता गर्ने गरेको छ । साथै, कक्षाकोठामा एआईको प्रयोगमाथि एउटा गम्भीर प्रश्न पनि छ : यदि विश्वविद्यालय जीवनको अधिकांश हिस्सा स्वचालित बनाउने हो भने यी संस्थाले प्रदान गर्ने सिकाइ र परामर्शको पारिस्थितिक प्रणालीमा कस्तो प्रभाव पर्ला ?

एआईले विद्यार्थीको मूल्यांकन गर्नेसम्बन्धमा हालसम्म भएका प्रयोगको नतिजा सुखद छैन । क्याम्ब्रिज विश्वविद्यालयको नेतृत्वमा रहेको एउटा समूहले मूल्याकंनका लागि तीन ‘फ्रन्टियर’ प्रणालीको परीक्षण गरेको थियो । त्यसमा एआईले नियमित रूपमा ‘शिक्षकले उच्च अंक प्रदान गरेका कामलाई अवमूल्यन गरेको र कम अंक दिएको निबन्धहरूलाई उच्च मूल्यांकन दिएको’ पाइयो । मानव परीक्षकभन्दा भिन्न रूपमा परीक्षणमा प्रयोग भएका सबै एआई प्रणाली ‘भाषिक विशेषताप्रति अति संवेदनशील’ पाइयो ।

अध्ययनको नेतृत्व गर्ने डेबोरा तालमीले चेतावनी दिदैं भनिन्, ‘विश्वविद्यालयमा गरिने विद्यार्थी मूल्यांकन केवल अंक वितरण गर्ने विषयसँग मात्र जोडिएको छैन । यसले विद्यार्थीमा नकारात्मक असर पार्छ ।’ यही नै मुख्य कुरा हो । विद्यार्थीहरू केवल लब्धांकपत्र प्राप्त गर्न वा पाठ्यक्रम पूरा गर्न विश्वविद्यालय जाँदैनन् । उनीहरू क्याम्पस प्रवेश गर्दा आफ्ना रुचि प्रवद्र्धन होस् भन्ने चाहन्छन् । त्यस्तै, आफ्नो स्थान बुझाइदिने सहयोगी चाहन्छन् ।

तर, विश्वविद्यालयले यी काम क्रमशः एआईलाई सुम्पिँदै गए भने उनीहरूले उच्च शिक्षालाई अर्थपूर्ण बनाउने विश्वविद्यालय र विद्यार्थीबिचको सम्बन्धलाई कमजोर बनाउनेछन् । अध्ययनहरूले एआईको प्रयोगले विद्यार्थीको आलोचनात्मक सोचमा असर गर्ने देखाएको छ । थप रूपमा यसले विश्वविद्यालयबाहिरको संसारमा आफ्नो मार्ग पहिल्याउन विद्यार्थीलाई आवश्यक पर्ने संज्ञानात्मक सिप कमजोर पार्न सक्छ । यसैले विश्वविद्यालय ‘एआई क्रान्ति’को भाष्यबाट सावधान हुनुपर्छ । यस भाष्यका सबैभन्दा ठुलो वकालत गर्नेहरू ठुला प्रविधि कम्पनी र तीसँग आबद्ध व्यक्ति छन् । तिनले प्रविधि र यसको पूर्वाधारमा ठुलो लगानी गरेका छन् । तथापि, लगानी र प्रचारअनुरूप आवश्यक नाफा सिर्जना भइरहेको छैन । यस सन्दर्भमा आलोचकहरूले ‘एआई बबल’को खतराबारे चेतावनी दिन थालेका छन् । यसै परिपे्रक्ष्यमा तिनले किन विश्वविद्यालयको साथ खोजिरहेका छन् भन्ने बुझिन्छ ।

विश्वविद्यालयहरू यस परियोजनाका लागि विशेष मूल्यवान् छन् : तिनीहरूले एआई कम्पनीलाई वैधता मात्र नदिई भविष्यका श्रमिकमाथि पहुँचसमेत प्रदान गर्छन् । साथै, प्रविधि कम्पनीले यस सहकार्यमार्फत एआई केवल अनुमानात्मक विषय मात्र नभई सार्वजनिक जीवनको अभिन्न अंग हो भनेर देखाउन पाउनेछन् । समस्या के हो भने ठुला प्रविधि कम्पनले विश्वविद्यालयलाई अहिले नै नाफा उत्पन्न गर्ने संस्थाको रूपमा व्यवहार गर्न थालेका छन् । र, यस क्रममा विद्यार्थीलाई एआईको वित्तीय फाइदाको खोजी गर्ने ‘प्यादा’जस्तो महसुस गराइन्छ । यसले विश्वविद्यालयको मूल कार्यलाई नै कमजोर बनाउँछ ।

वित्तीय दक्षता विकास गर्ने संस्थाको रूपमा विश्वविद्यालयको परिकल्पना गरिएको थिएन । न त तिनको प्राथमिक उद्देश्य श्रमबजारमा दक्ष कामदार आपूर्ति गर्नु हो । विश्वविद्यालयको परिकल्पना शिक्षण र उच्च शिक्षाप्रदायक संस्थाको रूपमा गरिएको थियो, जसको उद्देश्य यस संसारलाई अझ राम्रो बनाउन उत्सुक आलोचनात्मक चेत भएका नागरिक हुर्काउनु हो । यहीँनेर हालै ‘कमेन्समेन्ट स्पिच’ दिने वक्ताको भाषणको विरोधमा भएका हुटिङलाई बुझ्न सकिन्छ । विद्यार्थीको आक्रोश एआई, बिग टेक वा उच्च शिक्षाको भविष्यप्रति भन्दा पनि वास्तविक विषयप्रति इंगित हुन सक्छ– उनीहरूले त्यस्तो प्रणालीलाई अस्वीकृति जनाएका हुन सक्छन् जसले उनीहरूलाई विद्यार्थीका रूपमा नभई भावी कामदार, डेटाका स्रोत र सम्हाल्नुपर्ने उपभोक्ताको रूपमा व्यवहार गर्छ । यस्तोमा ‘एआईको युगमा’ विश्वविद्यालयको उद्देश्यमा शिक्षक, विद्यार्थी र सर्वसाधारण पनि समावेश हुनुपर्छ ।
अलजजिराबाट
 

सुझावित समाचार