विश्वकपअन्तर्गत सोमबार राति बेल्जियम र इजिप्टबिच प्रतिस्पर्धा हुँदै छ । समूह ‘जी’को दोस्रो बहुप्रतीक्षित यो खेल अमेरिकाको सियाटलमा हुनेछ । बेल्जियम युरोपियन तथा इजिप्ट अफ्रिकन राष्ट्र हुन् । फरक महादेशका फुटबल खेल्ने शैलीका कारण यो खेल रोमाञ्चक हुने अपेक्षा छ । इजिप्ट र बेल्जियम पाँचौँपटक आमने–सामने हुन लागेका हुन् । पाँचमध्ये तीन खेलमा इजिप्ट विजयी भएको छ । सन् २०२२ को नोभेम्बरमा इजिप्टले बेल्जियमलाई २–१ ले हराएको थियो ।
फिफा वरीयतामा बेल्जियम नवौँ स्थानमा छ । रोमेलु लुकाकुको अनुभवसँगै बेल्जियमलाई धेरै फाइदा पुग्ने विश्वास छ । कतार विश्वकपमा बेल्जियम राम्रो खेल्दाखेल्दै समूह चरणबाटै बाहिरिएको थियो । रुदी गार्सियाको प्रशिक्षणमा रहेको बेल्जियम इतिहासकै उत्कृष्ट फर्ममा छ । अहिले यस टोलीलाई गोल्डेन जेनेरेसन भनिएको छ ।
लुकाकुसँगै टिबो कोर्टुवा, केभिन डी ब्रुएना र थिबाउट कोर्टोइसजस्ता अनुभवी खेलाडी बेल्जियममा छन् । जेरेमी डोकु र लियान्ड्रो ट्रोसाडसँगै युवा क्षमतावान् खेलाडी फर्नान्डेज पेड्रोको साथ छ । सन् २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा बेल्जियम फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित बनेको थियो । इजिप्ट भने पूरै मोहम्मद सलाहवरिपरि घुमेको हो । यद्यपि, अफ्रिकन राष्ट्र इजिप्ट कमजोर भने छैन । फिफा वरीयतामा इजिप्ट २९औँ स्थानमा छ ।
छनोट चरणमा अपराजित इजिप्ट
इजिप्टको यो चौथो विश्वकप सहभागिता हो । इजिप्टले आठ वर्षपछि फिफा विश्वकप खेल्न लागेको हो । इजिप्ट कतार विश्वकपमा छनोट भएन । रसिया विश्वकपमा टोली समूहको पुछारमा रहँदै बाहिरिएको थियो । अफ्रिकन छनोटमा इजिप्टले सर्वाधिक २६ अंक जोडेको थियो । छनोट चरणम अपराजित इजिप्ट गत सिजनमा वर्ष अफ्रिकन कप अफ नेसन्समा सेमिफाइनलबाट बाहिरिएको थियो । यसपटक सलाहको कप्तानीमा इजिप्ट चार गोलरक्षक, आठ डिफेन्डर, नौ मिडफिल्डर र पाँच स्ट्राइकरका साथ विश्वकप खेल्ने तयारीमा छ ।
