परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी गएका हुन् ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार बेइजिङ विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले बेइजिङ डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आइतबार स्वागत समारोह आयोजना गर्ने भएको छ। कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको दूतावासले जनाएको छ। चीन बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग सोमवार द्विपक्षीय वार्ता गर्नेछन् ।
उनले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल गर्नेछन्। उनले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
मंगलबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनका क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री खनाल बुधबार स्वदेश फर्किने कार्यक्रम छ।