विश्वको पहिलो एआई–डिजाइन खोपबाट उत्साहित छन् वैज्ञानिक

एआईद्वारा डिजाइन गरिएको खोप पहिलोपटक मानिसमा सफलतापूर्वक परीक्षण गरिएको छ

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर मौलिक रूपमा नयाँ प्रकारको खोपको विकास गरेका छन् । खोपको मुख्य तत्व वा घटक पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको र यसलाई पहिलोपटक मानिसमा परीक्षणसमेत गरिएको छ । लक्ष्य निकै महत्वाकांक्षी छ, एकल खोप, जसले सबै मानव कोरोना भाइरस भेरियन्टविरुद्ध मात्र काम गर्दैन, बरु चमेरोसँग सम्बन्धित भाइरसविरुद्ध पनि प्रभावकारी ढंगले काम गर्छ, जुन जनावरबाट मानिसमा सर्न सक्छ र भविष्यमा ठुलो महामारी निम्त्याउन सक्छ ।

परम्परागत खोपले हाम्रो प्रतिरक्षा प्रणालीलाई एउटा विशिष्ट भाइरस पहिचान गर्न तालिम दिन्छन् । समस्या यो हो कि समयको अन्तरालसँगै भाइरसहरू बारम्बार उत्परिवर्तन हुन्छन् । जब तिनीहरू पर्याप्त परिवर्तन हुन्छन्, खोपले काम गर्न छोड्छ र नयाँ विकल्प खोज्नुपर्छ । तसर्थ, मानव जीवन जोगाउनका लागि पनि हामीलाई प्रत्येक वर्ष नयाँ खोप चाहिन्छ । त्यही भएर सन् २०२१ देखि खोपहरू बारम्बार अद्यावधिक गरिएका छन् । एआईले यसैको सेरोफेरोमा एउटा सहज तरिका प्रदान गर्छ । हजारौँ सम्बन्धित भाइरसबाट आनुवंशिक डेटा विश्लेषण गरेर एआईले ती अंश पहिचान गर्न सक्छ, जुन विभिन्न प्रजातिमा समान रहन्छन् र समयसँगै परिवर्तन हुने सम्भावना हुँदैन । क्याम्ब्रिज टोलीले सार्बेकोभाइरस (कोरोना भाइरस परिवारको एक उपप्रजाति हो, जुन मुख्यतया संक्रमित चमेरोबाट मानिसमा रोग फैलन्छ) परिवारका भाइरस स्क्यान गर्न एआई प्रयोग गर्यो, जसमा सार्स र कोभिड दुवै निम्त्याउने भाइरसका साथै जनावरमा पाइने कोरोना भाइरसको दायरा पनि समावेश छ ।

महामारीको समयमा प्रयोग गरिएका एमआरएनए खोपसँग धेरै मानिस परिचित भए । तापनि, यो नयाँ खोपले डिएनए प्रयोग गर्छ । डिएनए खोपहरू सामान्यतया एमआरएनए खोपभन्दा बढी स्थिर हुन्छन् । यी खोपलाई लामो समयसम्म भण्डारण र ढुवानी गर्न सजिलो हुन्छ । कम आय भएका देशमा यो एक महत्वपूर्ण फाइदा हो, जहाँ लामो समयसम्म चिस्याउने पूर्वाधार सीमित छ । प्रायः ती खोपलाई सुईविना पनि लगाउन सकिन्छ । तरल पदार्थको उच्च दबाबको धारले छालामार्फत खोप पुर्याउँछ, जसले गर्दा खोप लगाउने प्रक्रिया कम पीडादायी र प्रकोपको समयमा मापन गर्न सजिलो हुन्छ ।

के यसले भविष्यमा आउने महामारीबाट बचाउन सक्छ ?
यदि खोप आफैँले कुनै पनि विद्यमान खोपले गर्न नसक्ने काम गर्न सक्छ भने यी व्यावहारिक फाइदा सबैभन्दा महत्वपूर्ण छन्, हामीले अहिलेसम्म सामना नगरेका भाइरसबाट बचाउने । प्रभावकारी र बृहत् खोपले उदीयमान संक्रामक रोगप्रति विश्वको प्रतिक्रिया परिवर्तन गर्न सक्छ । परम्परागत खोपभन्दा व्यापक सुरक्षा प्रदान गरेर तिनीहरूले नयाँ र उदीयमान भाइरलको जोखिमविरुद्ध पनि तीव्र ढंगले प्रतिरक्षा प्रदान गर्न सक्छन् । यसले विश्वव्यापी महामारीमा परिणत हुने मौका पाउनुअघि भविष्यमा हुने प्रकोप रोक्न सार्वजनिक स्वास्थ्य अधिकारीलाई आवश्यक उपकरण प्रदान गर्नेछ । तिनीहरूले हाम्रो दृष्टिकोणलाई अझ परिचित रोगमा पनि रूपान्तरण गर्न सक्छन् । इन्फ्लुएन्जा एक प्रमुख लक्ष्य हो, किनभने यो धेरै फरक प्रजातिको रूपमा अस्थित्वमा छ र तीव्र विकसित हुन्छ । वैज्ञानिकले प्रत्येक फ्लू मौसममा कुन प्रजाति हाबी हुनेछन् भनेर भविष्यवाणी गर्नुपर्छ, । तर, दुर्भाग्यवश भविष्यवाणी सधैँ सही साबित हुँदैन । कहिलेकाहीँ तिनीहरूले गलत अनुमान गर्छन्, जसका कारण खोपको प्रभावकारितामा गहिरो असर पर्न सक्छ । धेरै प्रजातिमा साझा गरिएका सुविधालाई लक्षित गर्ने विश्वव्यापी फ्लू खोपले अन्ततः भाइरससँग मिलेर बस्ने वार्षिक दौड समाप्त गर्न सक्छ ।

र, इबोला भाइरसले यो अहिले किन महत्वपूर्ण छ भनेर देखाउँछ । कंगो र युगान्डाको लोकतान्त्रिक गणतन्त्रमा हालैको प्रकोप बुन्डिबुग्यो प्रजातिद्वारा प्रेरित छ । यो प्रजातिले विद्यमान खोपलाई बाइपास गर्छ । अनुसन्धानकर्ता यस प्रजातिका लागि विशेष रूपमा नयाँ खोप सिर्जना गर्न हतार गर्छन्, किनकि स्थानीय समुदाय उच्च जोखिममा छन् । सम्पूर्ण भाइरस परिवारलाई समेट्न डिजाइन गरिएको व्यापक परिदृश्यको खोपले त्यो चित्रणलाई रूपान्तरण गर्न सक्छ ।

परीक्षणले के पत्ता लगायो ? 
यो एआईद्वारा डिजाइन गरिएको खोपको पहिलो मानव परीक्षण हो । नतिजाले देखाए कि यो डिएनए खोपले विभिन्न प्रकारका सार्बेकोभाइरस पहिचान गर्न सक्ने एन्टिबडी उत्पादन गर्न र प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्न सक्षम थियो । प्रविधि सुरक्षित र राम्रोसँग सहन सकिने पाइयो । यो एक रोमाञ्चक प्रगति हो, किनभने यसले भविष्यमा महामारीको खतराविरुद्ध प्रभावकारी र उपयोगी खोप डिजाइन गर्ने क्षमता एआईसँग छ भनेर देखाउँछ । सुईमुक्त डेलिभरी प्रणालीले खोपलाई विश्वव्यापी रूपमा व्यवस्थापन र वितरण गर्न पनि सजिलो बनाउन सक्छ ।

यद्यपि, अझै धेरै काम गर्न बाँकी छ । यस अध्ययनका नतिजा उत्साहजनक भए पनि खोप लगाइसकेपछिको प्रतिरक्षा प्रतिक्रिया सामान्य थियो । सुरक्षा कति समयसम्म रहन्छ र थप बुस्टर डोज आवश्यक पर्छ कि पर्दैन भन्ने कुरा पनि अनिश्चित थियो । खोपले वास्तविक संसारमा भाइरस संक्रमणलाई रोक्न वा कम गर्न सक्छ कि सक्दैन भनेर निर्धारण गर्न ठुला परीक्षण पनि आवश्यक छन् । विश्वव्यापी खोप आउन केही वर्ष बाँकी छ । र, कुनै पनि नयाँ खोप सुरक्षित, प्रभावकारी र दिगो सुरक्षा प्रदान गर्छ भनेर प्रमाणित गर्न अझै ठुला परीक्षण पास गर्नुपर्छ । तर, यो अध्ययनले लक्ष्य नजिकिँदै गएको देखाउँछ र एआईले हामीलाई त्यहाँ छिटो पुग्न मद्दत गर्न सक्छ ।

द कन्भर्सेसनबाट

माबोट एडिनबर्ग विश्वविद्यालयको इम्युनोप्याथोलोजीका अध्यक्ष हुन् ।

सुझावित समाचार