- सामाजिक सञ्जालमा सम्बन्ध बनाउनु, माया–प्रेम र ‘केयर’ खोज्नुभन्दा आफ्नो घरभित्रैका सम्बन्धमा इमानदार रहनु जरुरी छ
सन् २०२६ मेसम्ममा फेसबुकमा नेपाली युजर जनसंख्याको ५४.७ प्रतिशत पुगेका छन् । जसमा ५५.९ प्रतिशत पुरुष प्रयोगकर्ता छन् भने महिला ४४.१ प्रतिशत छन् । त्यसैगरी, टिकटकमा नेपाली युजर ३५ लाखभन्दा बढी देखिएका छन् । यसमा पुरुष ८५.१ प्रतिशत र महिला १४.९ प्रतिशत देखिएका छन् । आमजनमानसमा भ्रम के छ भने महिलाहरू बढी सामाजिक सञ्जालमा छन् । टिकटक र फेसबुकमा संलग्न हुनेको तथ्यांक हेर्दा पुरुष नै बढी देखिएका छन् । नेपालमा समाजिक सञ्जालले केही मानिसको जीवनमा सकारात्मक र धेरैको जीवनमा नकारात्मक असर गरेको छ । अझै गहिरिएर हेर्ने हो भने हाम्रा सामाजिक सम्बन्ध काठमाडौंका बिजुलीका खम्बामा गुजुल्टिएका तारझैँ अल्झिएर कहाँ जोडिएका छन्, पत्तै पाइन्न ।
यी गुजुल्टिएका सम्बन्धको वाइफाईजस्तै कनेक्सन खोज्न सामाजिक सञ्जाल सहज माध्यम बनेको छ । सडकमा शरीरको मोलमोलाइ गरेर काठमाडौंका सस्ता होटेलमा जानेदेखि महँगा होटेल र अपार्टमेन्टमा बस्नेहरूसँग समेत पत्रकारिताकै क्रममा भेट भइरहन्छ । सडकमा पुगेकाहरू श्रीमान्ले अर्की ल्यायो, शरीर सडकमा पुगे । अपार्टमेन्ट र ठुला होटेलमा जानेहरू साथीको लहलहै, श्रीमान् वा प्रेमीले धोका दिएका भेटिन्छन् । अझ ‘जिगलो’ पुरुषहरू पनि आन्टीको ‘हनी’ बनेर जाने गरेकाहरू भेटिन्छन् । यी विषय हाम्रो समाजका ‘ओपन सेक्रेट’ भइसकेका छन् । अहिले समाजमा घटिरहेका घटना एकाएक देखिएका होइनन् । लामो समयदेखि भित्रभित्रै चल्दै आएको थियो र अहिले विस्फोट भएको मात्र हो ।
समाजमा महिला र पुरुष तथा श्रीमान् र श्रीमतीबिच जेजस्ता सम्बन्ध विकसित भइरहेका छन्, यो सबै एक–अर्काप्रति इमानदार नहुनुको परिणाम हो । श्रीमान् श्रीमतीप्रति, श्रीमती श्रीमान्प्रति, प्रेमी प्रेमिकाप्रति, प्रेमिका प्रेमीप्रति इमानदार नभएपछि तुलसाजस्ता महिला र कुमार चिमोरियाजस्ता श्रीमान् भेटिन्छन् । कुमार थापाजस्ता हत्यारा श्रीमान् बन्छन् । थापा र स्व. ईश्वरी भुजेलबिचको सम्बन्ध र घटना यहाँसम्म पुग्नुमा सामाजिक सञ्जालको ठुलो भूमिका छ भने तुलसाको जीवनमा आँधी आउनुमा पनि सामाजिक सञ्जाल जिम्मेवार देखिन्छ । अहिले सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत जीवन छताछुल्ल पार्नेहरूको पछिल्लो उदाहरण हुन् यी नाम ।
तुलसा अधिकारी नेपालको इतिहासकै पहिलो महिला हुन्, जसलाई इन्टरपोलको नोटिसद्वारा थाइल्यान्डबाट प्रहरीले नेपाल ल्यायो । तर, जीबी राईजस्ता सर्वसाधारणको करोडौँ ठगी गर्नेलाई भने नेपाल ल्याउन खोजिएकै छैन भन्दा हुन्छ । स्व. भुजेलको रगताम्य भएको स्थानका विभिन्न एंगलका तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । तुलसासँग सम्बन्धित भिडियो, फोटोको त कुरै गर्नुपरेन । तुलसा–चिमोरिया, थापा–भुजेलको व्यक्तिगत जीवनका सबै सामग्री सामाजिक सञ्जालमा छताछुल्ल छन् । महिलाका सन्दर्भमा हाम्रो समाज चाँडै निर्णायक बन्छ । महिलालाई सधैँ पीडित देख्ने बानी परेको छ, हाम्रो समाजलाई । महिला पीडक देखिएमा गालीको वर्षा नै हुन्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालदेखि घर–घरमा तुलसा निकै चर्चित छिन् । उनका विषयमा बोल्ने र उनका नाममा राखिएका टिकटिक, भिडियोमा भ्युज र कमेन्टको बाढी देखिन्छ । तुलसाका प्रशंसक धेरै छन् । त्योभन्दा बढी अहिले उनलाई भित्रभित्रै ‘सपोर्ट’ गर्ने तर बोल्न नसक्ने पनि छन् । उनका भिडियोको कमेन्ट बक्समा सुन्न र हेर्न नमिल्ने गाली पनि देखिन्छन् ।
सामाजिक सञ्जाललाई माध्यम बनाउँदै तुलसाले आफ्नो रूप, पहिरन र छुराझैँ बोलीलाई विज्ञापनको माध्यम बनाइन् । प्रायः पुरुषले यस्ता विज्ञापनमा महिलालाई नै ती सामानको मोडल बनाउँछन् । उनले भने पित्तृसत्तात्मक दर्शनमा आधारित रहेर उल्टै पुँजीवादीको उत्पादन र उत्पादकको प्रचारक आफैँ बनिन् । पहिलो श्रीमान्सँग डिभोर्सपछि अधिकारीलाई एकजना पुरुषको साथ र आँट चाहिएको थियो भने चिमोरियालाई घरबाहिर एउटी सुन्दर जवान युवती चाहिएको थियो । समाजमा प्रतिष्ठाको खोक्रो खोल ओडेर उनले तुलसालाई आफ्नी बनाए । एउटा अवस्थासम्म हरेक सम्बन्ध र माया सही हुन्छ । मन मिलुन्जेल माया र मन भाँचिएपछि बलात्कारका केस आउनुको कारण पनि त्यही हो । पुरुषहरू श्रीमती चरित्रवान् होस् भन्ने चाहन्छन्, तर आफू कति चरित्रवान् छन्, तिनैलाई थाहा हुँदैन ।
तुलसाले आफू पीडित हुनुभन्दा पनि अरूलाई पीडित बनाइन् । उनले पीडित महिलाझैँ रुँदै प्रहरीकहाँ जानुपरेन, कुनै पीडित महिलाझैँ जलेर मर्नुपरेन । उनले पछि रुनुभन्दा पहिल्यै हरेक समयको मूल्य लिइन् । तुलसाको सामाजिक सञ्जालमा देखिएको चुरीफुरीले चिमोरियाको निदहराम भयो । यस घटनामा तुलसाको ५० प्रतिशत गल्ती छ भने चिमोरियाको पनि त्यति नै गल्ती छ ।
व्यक्तिको चरित्रको मानक पनि दृष्टिकोणअनुसार फरक–फरक हुने रहेछ । तुलसाकी छोरीलाई आफ्नी आमा संघर्षशील र शक्तिशाली लाग्छिन् भने चिमोरियाका सन्तानले पीडित बाबुले न्यायका लागि संघर्ष गरिरहेको देख्छन् । चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार बादी रहेको यस मुद्दामा तुलसा अधिकारी र अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरूमाथि आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोप लगाइएको छ ।
यस्ता घटना यसपछिका दिनमा रोकिन्छन् त ? यो प्रश्न पेचिलो छ । अहिले पनि गुजुल्टिएका सम्बन्धहरू आफ्नै घरभित्र भन्दा सामाजिक सञ्जालमा खुसी खोजिरहेका छन् । भुसमा लागेको आगो भित्रैभित्रै दन्किरहेको छ । धेरैले भोगिरहेको समस्या हो, तर सेयर गर्न कसैले सकिरहेका छैनन् । कतिपयले सामाजिक सञ्जालमा आफैँले के गरिरहेको छु भन्नेसमेत भेउ पाएका छैनन् । ‘सुगर ड्याडी’, ‘हनी ट्र्याप’, जिगलो, यौन हिंसालगायत शब्दहरू जति सहजै उच्चारण गर्न सकिन्छ, यी विषय त्यति नै अप्ठ्यारा छन् । त्यसैले, सामाजिक सञ्जालमा सम्बन्ध बनाउनु, मायाप्रेम र ‘केयर’ खोज्नुभन्दा आफ्नो घरभित्रैका सम्बन्धमा इमानदार रहनु जरुरी छ । यस्ता डिजिटल सम्बन्धका लागि डिजिटल कानुन ल्याउन सरकारले ढिलाइ गर्नुहुँदैन । प्रविधिलाई नियन्त्रण गर्न नसकिए पनि नागरिकमाथि नियमन भने गर्न सकिन्छ ।