‘२४ घण्टाभित्र अमेरिका–इरान सम्झौता’

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

इरान र संयुक्त राज्य अमेरिकाबिचको वार्तामा मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले आगामी २४ घण्टामा दुई पक्षबिचको सम्झौताले अन्तिम रूप पाउने बताएका छन् । अमेरिका र इरान दुवैले आफूहरू शान्ति सम्झौतातर्फ अगाडि बढिरहेको संकेत गरिरहेका वेला प्रधानमन्त्री सरिफको भनाइ सार्वजनिक भएको हो । सम्झौताले अन्तिम स्वरूप तय भएपछि ‘शान्ति सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर’ हुने अपेक्षा गरिएको छ ।

तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आइतबार दस्ताबेजमा हस्ताक्षर नहुने तर ‘आगामी दिनमा हस्ताक्षर’ हुन सक्ने कुरालाई अस्वीकार गर्न नसकिने बताए । विदेशमन्त्री बघाईले युद्ध अन्त्यका निम्ति अमेरिकासँग सहमतिनजिक पुगेको र त्यसमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने कुरा पनि समावेश रहेको बताएका छन् ।

यसैबिच, अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजलाई निसाना बनाउने इरानी ड्रोन खसालिदिएको बताएको छ । अमेरिकी सेन्ट्रल कमान्ड ‘सेन्टकम’ले ‘इरानले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजलाई निसाना बनाउने प्रयास गरेका ड्रोनलाई नष्ट गरिदिएको बताएको हो । ‘अमेरिकी सेनाले पछिल्ला केही घण्टामा ती सबै ड्रोन खसालिदिएको छ र स्ट्रेटमा जहाजबाट ढुवानी विनाअवरोध जारी छ ।’

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसको जवाफमा इरानले खाडीमा रहेका अमेरिकाका सहयोगी राष्ट्र र इजरायलमा हमला गरेको थियो । युद्ध बढ्दै जाँदा विश्वका निम्ति तेल र ग्यासको मुख्य ढुवानी जलमार्ग स्ट्रेट अफ हर्मुज बन्द भएको थियो ।

इरान–अमेरिका वार्तामा प्रगति भए पनि दक्षिणी लेबनानमा इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । इरानको राज्य सञ्चालित मिडियाले इरानका मारिएका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि जुलाई ४ मा तेहरानमा सुरु हुने र जुलाई ९ मा मसहदमा अन्त्येष्टि हुने बताएको छ ।

सुझावित समाचार