चीनको विकासबाट के सिक्ने नेपालले ?

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण
  • चीनले आफ्ना नागरिकको रक्षा र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न उच्च प्रविधिमा आधारित डेटा सेन्टर निर्माण गरेको छ

सामान्यतया विकासलाई विगतको अवस्थामा भएको परिवर्तन भनेर बुझ्ने प्रचलन छ । विकासलाई हेर्ने पनि विभिन्न राजनीतिक दृष्टिकोण हुन्छन् । कस्तो विकास ? कुन वर्गका लागि विकास ? केका लागि विकास ? कसरी गर्ने विकास ? किन गर्ने विकास ? विकास गरेर के परिणाम आउँछ ? आदि विकाससम्बन्धी बहसका प्रारम्भिक तर महत्वपूर्ण प्रश्न हुन् । 

केही समयपहिले ‘जिजाङ प्रोभिन्स’ले आयोजना गरेको ‘चीनको उच्चस्तरीय विकास र बिआरआई देशहरू’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा चीनको उच्चस्तरीय विकासको स्थितिबारे थप बुझ्ने अवसर प्राप्त भयो । जिजाङ प्रोभिन्सको राजधानी होन्जाओलाई चिनियाँ सिलिकन भ्याली भनेर पनि चिनिने रहेछ । होन्जाओमा ठुल्ठुला अन्तर्राष्ट्रिय प्रविधि तथा एआई कम्पनी रहेछन् । ‘च्याट जिपिटी’लाई मात खुवाएको ‘डिपसिक’को ‘हेड अफिस’, अलिबाबा, युनिभ्यु, एन्टावर्क, होन्जाओ ब्रेन सेन्टर आदि पनि यहीँ रहेछन् । होन्जाओमा रहेको ‘वेस्ट’ लेक विश्व ‘हेरिटेज साइट’ रहेछ । सयौँ वर्ष लगाएर सिमेन्ट र रडको प्रयोग नगरी विशाल मानव निर्मित वेस्ट लेक भव्य रहेछ । त्यही ठाउँमा २०१६ मा ‘जी–२०’ समिट भएको थियो, जहाँ विश्वका शक्तिराष्ट्रका नेता भेला भएका थिए ।  

चीनको उच्चस्तरीय विकास
चीनले आफ्नो विकासलाई उच्चस्तरीय विकासको परिभाषामा व्याख्या गरिरहेको छ । यथार्थमा के हो त उच्चस्तरीय चिनियाँ विकासको मोडेल ? विकासका लागि चीनले अपनाइरहेका मापदण्ड हेर्दा असाध्यै वातावरणमैत्री तथा दिगो विकासकेन्द्रित देखिन्छन् । सडक निर्माण गर्दा अपनाइएको हरियाली, सडक सुरक्षा, फराकिला सडक, गुणस्तरीय निर्माण, एआईमा आधारित कृषि तथा उद्योग, एआई तथा प्रविधिमा जोड, इभी गाडीको प्रवर्द्धन, ग्रामीण क्षेत्रको पुनरुत्थान, ग्रिन अर्थतन्त्र, नवप्रवर्तनमा आधारित शिक्षा, सहर र गाउँको योजनाबद्ध विकासले चिनियाँ विकास मोडेललाई प्रस्ट पार्न सघाउँछन् । मुख्य कुरा सबै क्षेत्र प्रविधिको उच्चतम प्रयोग र पूर्णतया प्रविधिको निगरानीमा हुँदा रहेछन् । 

प्रविधिको अत्यधिक उपयोग
गुडिरहेको गाडीमा अचानक कुनै समस्या आएमा राज्यको प्रविधियुक्त ‘ब्रेन सेन्टर’मा तत्काल सूचना पुग्दो रहेछ र त्यसबाट मानवीय तथा भौतिक क्षति हुन नदिन तत्काल प्रभावकारी कदम चालिँदो रहेछ । हरपल राज्यले प्रविधिमार्फत नागरिकसम्म पहुँच पुर्याएको देख्दा राज्यको महत्व नागरिकका लागि कति महत्वपूर्ण छ भन्ने थाहा हुन्छ । चीनले ठुला सहरमा सहरी ‘ब्रेन सेन्टर’ निर्माण गरिरहेको रहेछ । तीमध्येको एक होन्जाओ ब्रेन सेन्टर जाँदा सहरभरि के भइरहेको छ, त्यहीँ बसीबसी हेर्न सकिने रहेछ । कुनै ठाउँमा दुर्घटना वा आगलागी भयो भने सबैभन्दा पहिला ब्रेन सेन्टरमा ‘वार्निङ’ आउँदो रहेछ । जसपश्चात् त्यहाँ तत्कालै राज्य पुग्दो रहेछ । यसरी चीनले आफ्ना नागरिकको रक्षा र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न उच्च प्रविधिमा आधारित डेटा सेन्टर निर्माण गरेको छ ।

हाई स्पिड रेल सेवा
हाई स्पिड रेल प्रविधिले त चीनको यातायात क्षेत्रमा क्रान्ति नै ल्याइदिएको रहेछ । सांघाईबाट बेइजिङ पुग्न पहिला ३० घण्टा लाग्दो रहेछ । तर, अहिले पाँच घण्टामै पुग्न सकिँदो रहेछ । यसरी विशाल चीनभरि हाई स्पिड रेल्वे प्रणालीमार्फत नागरिकलाई द्रुत सेवामा आबद्ध गराइएको रहेछ । रेल्वे स्टेसनहरू अन्तर्राष्ट्रिय हवाई टर्मिनलजस्तै भव्य बनाइएको रहेछ । एयरपोर्टहरूमा रोबर्ट एआई, डिजिटल प्रविधि र भौतिक संरचना हेर्दा चीनको विकास साँच्चै अद्भूत लाग्दो रहेछ । कुन्मिङतिरका डाँडाकाँडाभरि ठुल्ठुला विद्युत् उत्पादन गर्ने पंखा, सहर र गाउँको प्लानिङ हेर्दा कुनै वेलाको औपनिवेशिक अपमान र भोकमारीले पीडा भोगेको चीन यही हो त ? भनेर पत्याउन मुस्किल हुने रहेछ । त्यसैले, चीनको विकासलाई चामत्कारिक मान्न सकिन्छ । नेपालको प्रजातान्त्रिक र चीनको जनवादी गणतन्त्रको यात्रा १९५० वरिपरि एकै समयमा सुरु भएको थियो । तर, आजको चीनले नेपाललाई धेरै पछाडि छाडेर विश्वकै शक्तिशाली राष्ट्र बनिसकेको छ । नेपालले कठोर प्रतिज्ञा गरेर अगाडि बढ्न ढिला भइसकेको छ । 

नागरिक र राज्यको भूमिका 
नागरिक र राज्यको भूमिकाबारे इतिहासदेखि नै बहस हुँदै आएको छ । राज्यको भूमिका एकदमै सीमित हुनुपर्छ भन्ने एकथरीको मत छ भने अर्काथरीले राज्य भनेकै जनताको जीवनरक्षाका लागि निर्माण भएकाले राज्य जनताप्रति पूर्ण उत्तरदायी हुनुपर्छ भन्ने मान्यता राख्छन् । चीनको विकासलाई हेर्दा राज्यले नागरिकका लागि कसरी कार्य गरिरहेको छ, त्यो देख्न पाइन्छ । उदारवादी विचारधाराले राज्यको भूमिका कम र निजी क्षेत्रको भूमिका बढी हुनुपर्ने मान्यता राख्छ, तर समाजवादी चीनले राज्य नागरिकप्रति जवाफदेही र जिम्मेवार हुनुपर्ने मान्यता राखेको देखिन्छ । 

ड्रोनमार्फत छिटो र प्रभावकारी सेवा प्रवाह
बढ्दो सहरीकरणले गर्दा चिनियाँ सहरमा गाडीको औसत गति २५ को ‘स्पिड’मा हुने रहेछ । यसको विकल्पका रूपमा तीव्र गतिका रेल सञ्चालन भइरहेका छन् भने सहरभित्र छिटो सुविधा उपलब्ध गराउन ‘एन्टावर्क’ले सहरी तथा ग्रामीण क्षेत्रमा हवाई रुटको प्रयोग गरी ड्रोनमार्फत छिटो सुविधा दिइरहेको रहेछ । जस्तै– रगतका नमुना संकलन र ‘रिपोर्ट’हरू तुरुन्तै अस्पतालमा पुर्याउने, खानेकुरा र औषधि पनि त्यसरी नै ढुवानी गरिने व्यवस्था रहेछ । कोभिडको समयमा यस कम्पनीले अत्यधिक सेवा प्रदान गरेपछि ड्रोन प्रविधिको प्रयोग चिनियाँ सहरमा दिन–प्रतिदिन बढिरहेको रहेछ । विभिन्न प्रविधिको प्रयोग गरी चीनले सबै क्षेत्रलाई सहज बनाउने कार्य गरिरहेको पाइन्छ । प्रविधि र नवप्रवर्तनमा आधारित विकास नै उच्चस्तरीय विकासको कडी रहेछ । 

नेपाली विकासको ‘डिपार्चर’
नेपाली जनताको विकास र समृद्धिको चाहना अधिक छ । जनताको चाहनाअनुसार विकासले ‘डिपार्चर’ भने लिन सकिरहेको छैन । नयाँ सरकारलाई विकासमा डिपार्चर दिने सुनौलो अवसर छ । अवसरको उपयोग हुन्छ वा पहिलेका सरकारले झैँ ‘टाइम बाई’ हुन्छ, त्यो भने समयक्रममा देखिँदै जानेछ । चीन हाम्रो उत्तरी छिमेकी देश हो, जसले छोटो समयमै गरेको विकासले संसारलाई चकित बनाउँदै गएको छ । छिमेकी हुनुका नाताले नेपालले त्यसको लाभ लिन सकिरहेको देखिँदैन । चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरई) परियोजनामार्फत निर्माण गर्न खोजेको नेपालमार्फत दक्षिण एसियाको कनेक्टिभिटीमा पनि कुनै प्रगति भएको पाइँदैन । 

चिनियाँ परियोजनामा समेत भूराजनीतिक चासो बढ्दै गएका देखिन्छन् । नेपाल विकासको महत्वपूर्ण चरणमा रहेकाले उत्तरी छिमेकी चीनको उच्चस्तरीय विकास मोडेलबाट लाभान्वित हुन सक्ने अवसर छ । नागरिकलाई सुविधा, सुरक्षा र जिम्मेवारी बहनमा चिनियाँ प्रविधि सार्थक हुन सक्छ । काठमाडौं महानगरपालिकाले होन्जाओको ‘युनिभ्यु’ प्राविधिक कम्पनीसँग सहकार्य गरी काठमाडौं उपत्यकाको रिङरोडमा सिसिटिभी क्यामेरा जडान गरी काम गरिरहेको छ । ‘फेस रिडिङ’मा चिनियाँ प्रविधि विश्वकै अब्बल मानिन्छ । चीनमा त्यस प्रविधिको प्रयोगपछि अपराध निकै कम भएको र ज्येष्ठ नागरिक पार्कमा घुम्दाघुम्दै हराएको अवस्थामा छिट्टै भेटिने क्रम पनि उल्लेख्य रूपमा बढेको रहेछ । नेपालमा पनि ठुला सहर र अपराध बढी हुने ठाउँमा चिनियाँ प्रविधिको सहयोगमा ‘फेस डिटेक्सन’ जडान गरी अपराध कम गर्न सघाउ पुग्छ । 

सही ठाउँमा आवश्यक विकास भएमा त्यसले आर्थिक विकासको ढोका खोल्छ । नेपालमा नीति र आर्थिक क्षेत्र उच्चस्तरमा चलायमान बनाउने क्षेत्रको मेल आवश्यक छ । ‘एक घर एक रोजगार’ नीतिका आधारमा चीनले गरिबी निवारणमा ऐतिहसिक सफलता हासिल गर्यो । नेपालमा पनि विभिन्न प्रदेश तथा विभिन्न स्थानमा विकासको डिपार्चर के हो ? र कसरी हुन्छ ? आदि विषयमा छलफल हुँदै आएका छन् । ती छलफलका निष्कर्ष र चीनको उच्चस्तरीय विकासलाई सरकारले ध्यान दिँदै आगामी दिनमा आवश्यक योजना समावेश गरी गति दिनु आवश्यक छ । 

(शाही त्रिभुवन विश्वविद्यालयमा विश्व व्यवस्था र भूराजनीतिक मामिलाका पिएचडी स्कलर हुन्) 

सुझावित समाचार