फिफा विश्वकपका सात विशेषता

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

आगामी ११ जुनदेखि २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । विश्वकपमा सहभागी राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिको पुगिसकेका छन् । यसपटकको विश्वकप इतिहासकै लामो हुनेछ । ३९ दिनसम्म चल्ने प्रतियोगिताले १०४ खेलपछि विजेता पाउनेछ । पहिलोपटक ४८ राष्ट्रका एक हजार २४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

फिफाले अमेरिका, मेक्सिको र क्यानडालाई पहिलोपटक संयुक्त रूपमा विश्वकप आयोजक बनाएको हो । सन् २००२ मा एसियामा भएको विश्वकपमा पहिलोपटक दुई राष्ट्र दक्षिण कोरिया र जापान आयोजक थिए । कीर्तिमानी रूपमा मेक्सिकोको एस्टाडियो एज्टेका तीनवटा विश्वकप खेलाउने रंगशाला बन्ने भएको छ । साथै, मेक्सिको पनि तीनपटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बन्नेछ । फिफा आगामी विश्वकप भव्य बनाउने प्रयासमा छ । सकेसम्म यसलाई विशेषताले भरिपूर्ण बनाउन फिफा अग्रसर देखिन्छ । 

पहिलोपटक तीन देशमा आयोजना
सन् २००२ मा एसियाका दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । फिफाले पहिलोपटक दुई राष्ट्रलाई विश्वकप गर्न दिएको थियो । यो कीर्तिमान बुधबारदेखि सुरु हुने विश्वकपमा तोडिनेछ । फिफाले पहिलोपटक तीन राष्ट्रलाई विश्वकप आयोजक बनाएको छ । अमेरिका, मेक्सिको र क्यानडा यसपटकका आयोजक राष्ट्र हुन् । यसमा फिफाले अमेरिका मुख्य आयोजक र अन्य दुई राष्ट्रलाई सहआयोजक बनाएको छ । अमेरिकाले यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । यसपटक तीन राष्ट्रमा विश्वकप भइरहँदा सहभागी राष्ट्रहरूले तीनवट देशको भ्रमण गर्नेछन् । 

अमेरिका, मेक्सिको र क्यानडाले पहिलोपटक संयुक्त रूपमा आयोजना गर्ने विश्वकप ३९ दिनसम्म चल्नेछ । प्रतियोगिताले १०४ खेलपछि विजेता पाउनेछ भने ४८ राष्ट्रबाट १ हजार २४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

क्यानडा पहिलोपटक आयोजक
फिफाले उत्तर र दक्षिण अमेरिकी महादेशमा सन् २०२६ को विश्वकप आयोजना घोषणा गर्दा क्यानडाले आयोजक हुने अवसर पायो । तीनवटै देशले संयुक्त रूपमा विश्वकप आयोजनाको दाबी गरेका थिए । फिफाले विश्वकपलाई भव्य बनाउन सहजै तीनवटैलाई आयोजक राष्ट्रका रूपमा घोषणा गर्यो । अमेरिका र मेक्सिको विश्वकप आयोजनाका अनुभवी राष्ट्र हुन् । मेक्सिकोमा अहिलेसम्म दुईपटक विश्वकप भइसकेको छ । सन् १९७० र १९८६ मा मेक्सिको विश्वकपको आयोजक बनेको थियो । सन् १९८६ को विश्वकपमा अर्जेन्टिना च्याम्पियन हुँदा डिएगो म्याराडोनाको उदय भएको थियो । उनले मेक्सिकोमा एकल प्रयासमा आफ्नो राष्ट्रलाई विश्व च्याम्पियन बनाएका थिए । विश्वकप आयोजक राष्ट्रका रूपमा क्यानडा नयाँ हो । 

तीनवटा राष्ट्रमै उद्घाटन खेल
फिफाका अध्यक्ष इन्फाटिनोले आगामी संस्करणको विश्वकप बृहत् र ऐतिहासिक बनाउने घोषणा गरेका छन् । विश्वकपको उद्घाटन खेल विशेष हुने गर्छ । धेरैले आयोजक राष्ट्रले उद्घाटन कस्तो गर्छ भन्ने प्रतीक्षा गर्छन् । इन्फाटिनोले तीनवटा आयोजक राष्ट्रमा उद्घाटन समारोह हुने बताएका छन् । अब क्यानडा, अमेरिका र मेक्सिकोले उद्घाटन समारोह भव्य बनाउन कसरत गरेका छन् । यी तीनवटै राष्ट्रमा उद्घाटन समारोहसँगै खेल हुने फिफाले जनाएको छ । हरेक उद्घाटन समारोह ९० मिनेटको हुनेछ ।

६४ बाट १०४ खेल हुने
फिफाले विश्वकपको सहभागी संख्या थप गर्दा खेल संख्या पनि बढेको छ । कतार विश्वकपसम्म ३२ राष्ट्रले भाग लिएका थिए । इन्फाटिनोले यसपटक कीर्तिमानी रूपमा ४८ राष्ट्रलाई विश्वकपमा सहभागी गराएका छन् । इतिहासमै ४८ राष्ट्रबिच विश्वकप हुनु लागेको यो नै पहिलोपटक हो । यसअघि कतार विश्वकपसम्म ६४ खेल भएका थिए । फिफाले प्र्रत्येक दुई दशकमा सहभागी संख्या बढाउँदै गएको छ । सन् १९९८ मा फ्रान्सले आयोजना गरेको विश्वकपमा फिफाले पहिलोपटक ३२ राष्ट्रबिच प्रतिस्पर्धा गराएको थियो । जसमा ब्राजिलमाथि जित निकाली फ्रान्सले उपाधि जितेको थियो । यसपटक फिफाले ४० खेल बढाएको छ । जसअनुसार समूह चरणमा ७२ खेल र नकआउट चरणमा ३२ खेल हुनेछन् । 

४८ राष्ट्र १२ समूहमा विभाजन
फिफाले यसपटकको विश्वकपमा नयाँ ढाँचा लागू गरेको छ । सहभागी ४८ राष्ट्रलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा समान चार टोली हुनेछन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली अर्को चरणमा प्रवेश गर्नेछन् । यसका साथ उत्कृष्ट तेस्रो स्थानमा रहने थप आठ राष्ट्र पनि दोस्रो चरणमा प्रवेश गर्ने फिफाले जनाएको छ । यसलाई फिफाले राउन्ड अफ ३२ भनेको छ । यसपछि मात्र प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

सहभागी संख्या थपिँदा यसपटक फाइनल पुग्ने टोलीले कम्तीमा आठ खेल खेल्नुपर्नेछ । अघिल्लो संस्करणसम्म फाइनलिस्टले सात खेल खेल्नुपर्ने थियो । फिफाले तेस्रो तथा चौथो स्थान यथावत् राखेको छ । यसैगरी, इतिहासमै पहिलोपटक फाइनलको हाफटाइममा हाफटाइम सो हुनेछ । फाइनलको बिचमा भव्य सांगीतिक कन्सर्ट हुने फिफाले जनाएको छ । 

एसियाबाट दुई राष्ट्रको डेब्यु 
कीर्तिमानी रूपमा तीन राष्ट्रहरूले आयोजना गर्ने विश्वकपमा चार राष्ट्रले फरक इतिहास बनाउनेछन् । अफ्रिकी महादेशबाट केप भर्डे, क्यारेबियन क्षेत्रबाट कुराकाओ र एसियाका जोर्डन र उज्वेकिस्तान पहिलोपटक विश्वकपमा छनोट भएका हुन् । फिफाले सहभागी राष्ट्र थप्दा एसियाबाट थप दुई राष्ट्रले मौका पाएका हुन् । 

राष्ट्रिय धुन बज्दा सबै  खेलाडी मैदानमा हुनुपर्ने
फिफाले यसपटकको विश्वकपमा केही नौलोपना दिने प्रयास गरेको छ । उसले खेल सुरु हुनुअघि बज्ने राष्ट्रिय धुनमा समेत नियम परिवर्तन गरेको छ । अब खेलअगाडि बज्ने राष्ट्रिय धुनमा विश्वकपका लागि घोषित सबै २६ खेलाडी मैदानमा उभिनुपर्नेछ । यसअघि प्रतिस्पर्धा गर्ने अन्तिम ११ खेलाडी मात्र मैदानमा बस्नुपर्ने थियो । साथै रेफ्रीहरू सबै मैदानको बिच भागमा एकसाथ उभिएर राष्ट्रिय गानमा सरिक हुनेपर्ने फिफाले जनाएको छ ।

 इरान खेलकै दिन अमेरिकाबाट बाहिरिनुपर्ने
अमेरिकाले इरानलाई भिसा उपलब्ध गराएको छ, तर इरानले विश्वकप यात्रामा कडा नियम पालना गर्नुपर्नेछ । भिसा पाए पनि इरानको फुटबल टोली अमेरिकामा खेल भएको दिनमै बाहिरिनुपर्नेछ । यसअघि भिसाका कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखेको थियो । विश्वकपभरि नै इरानी टोली मेक्सिकोमा बस्नेछ । 

मेक्सिकोका लागि इरानी राजदूत अबोलफाजले आफ्नो टोलीका सदस्यलाई अमेरिकामा हुने खेलका दिन मात्र भिसा दिएको बताए । ‘हामीलाई अमेरिकामा हुने खेलको दिनका लागि भिसा दिइएको छ । खेल सकिनेबित्तिकै इरानले अमेरिका छाड्नुपर्नेछ,’ राजदूत अबोलफाजले भने । यसैगरी, इरान फुटबल महासंघका अध्यक्ष मेहदीले अमेरिकाले प्रतिशोध लिएको बताए । ‘अमेरिकाले अरू राष्ट्रलाई प्रतियोगिता अवधिभरको भिसा दिएको छ । तर, हामीलाई भने खेल भएको दिनको मात्र छ,’ संघका अध्यक्ष मेहदीले भने, ‘हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौँ र त्यही दिन फर्किनुपर्छ ।’

समूह ‘जी’मा रहेको इरानले १५ जुनमा लसएन्जलसमा न्युजिल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । २१ जुनमा बेल्जियमसँग र २६ जुनमा सियाटलमा इजिप्टविरुद्ध खेल्दै समूह चरणको अभियान पूरा गर्नेछ । इरानले टर्कीबाट भिसा आवेदन दिएको थियो । अमेरिकी अधिकारीका अनुसार खेलाडी, प्रशिक्षक, ट्रेनर तथा केही सहयोगी कर्मचारीलाई भिसा दिइएको हो । 

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले विश्वकपमा सहभागी इरानी प्रतिनिधिमण्डलमाथि कडा निगरानी हुने बताएका थिए । ‘इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्डस् कोर्ससँग सम्बन्धित व्यक्ति टोलीमा हुन सक्ने अनुमान छ,’ उनले भने, ‘हामीलाई खेलाडी वा सहयोगी स्टाफसँग समस्या छैन, तर खेलसँग सम्बन्ध नभएका र आइआरजिसीसँग जोडिएका व्यक्तिलाई टोलीमा राख्न दिँदैनौँ ।’ अप्रिलमा इरानी फुटबल महासंघका प्रमुख मेहदी ताजको क्यानडा प्रवेश भिसा रद्द गरिएको थियो । उनको आइआरजिसीसँग पुरानो सम्बन्ध रहेको आरोपका कारण क्यानडाले यस्तो निर्णय लिएको थियो ।

युद्धको प्रभाव
गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेपछि उसको विश्वकपमा सहभागिता अनिश्चित बनेको थियो । युद्धका कारण घरेलु फुटबल लिगसमेत प्रभावित बनेको थियो ।  इरानले गत साता विश्वकपमा सहभागी हुने अन्तिम टोली घोषणा गरेको थियो । जसमा १७ जना घरेलु क्लबका खेलाडी समावेश छन् । गत मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको स्थानमा इटालीलाई विश्वकपमा स्थान दिनुपर्ने प्रतिक्रिया दिएका थिए । यद्यपि, इटलीले कसैको स्थानमा विश्वकप नखेल्ने घोषणा गरेको थियो । यसपटक पनि इटलीले विश्वकपको छनोट चरण पार गर्न सकेन ।
 

सुझावित समाचार