मोदीलाई बलियो हुन सघाइरहेको गान्धी परिवार

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण
  • मोदी र अमित शाहको शासनलाई सुदृढ बनाउनमा जानी–नजानी सोनिया गान्धी, राहुल गान्धी र उनीहरूका चाटुकारको पनि हात छ 

भारतको प्रमुख प्रतिपक्षी दल ‘भारतीय राष्ट्रिय कंग्रेस’का नेता राहुल गान्धीको नेतृत्वमा विगतमा भएको ‘भारत जोडो’ यात्राले उनको विश्वसनीयता बढाउन मद्दत गरेकोमा कुनै शंका छैन । तर, चुनावपछि पनि कंग्रेसलाई पारिवारिक फर्मको रूपमा जोड दिने कुराले त्यस यात्राका क्रममा हासिल भएको लाभमा धक्का पुग्यो । ‘भारत जोडो यात्रा’पछि सम्पन्न सन् २०२४ को लोकसभा चुनावमा कंग्रेसले ९९ सिट जित्दा राहुल गान्धीवरपरका चाटुकरको समूहले उनलाई ‘प्राइममिनिस्टर–इन–वेटिङ (भावी प्रधानमन्त्री)’का रूपमा पेस गर्न थाल्यो । नयाँदिल्लीका बुद्धिजीवी र पत्रकारले यी दाबीलाई बढावा दिन सघाए । तर, अहिले दुई वर्षपछि त्यो उत्साह क्षणिक भावावेश मात्र थियो भन्ने थाहा हुँदै छ ।

भारतका प्रभावशाली गुजरात, मध्यप्रदेश, हरियाणा अदि राज्यमा कुनै समय कंग्रेसको प्रभुत्व हुने गर्थ्यो । एकपछि अर्को गर्दै तिनमा ‘भारतीय जनता पार्टी (भाजपा)’को सरकार गठन भयो । राहुल गान्धी भने आफू नेतृत्वको पार्टीको हार रोक्न असमर्थ देखिए । हालै ‘द प्रिन्ट’मा प्रकाशित एक समाचारअनुसार सन् २००८ तिर राहुलले कंग्रेसको औपचारिक नेतृत्व सम्हालेदेखि देशभर कंग्रेस विधायकको संख्या लगभग आधाले घटेर एक हजार २०४ बाट ६७६ पुगेको छ ।

यस स्तम्भकारले पनि राहुल गान्धीलाई भेटेको छ । विभिन्न अवसरमा पत्राचार पनि भएका छन् । व्यक्तिगत रूपमा उनी सुसंस्कृत छन् । तर, राजनीतिमा उनको व्यवहार हेर्दा भने उनी आमा सोनिया गान्धीको मन नपरेको क्षेत्र (राजनीति)मा प्रवेश गरेका हुन् कि झैँ लाग्छ । सोनियाकै जोडबलले उनी कंग्रेसको नेतृत्वमा छन् भन्ने कुरामा कसैलाई शंका पनि छैन । राहुलमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रस्थापित गर्न सक्ने व्यक्तिमा हुनुपर्ने स्तरको राजनीतिक अनुशासन, गुरुत्व र अनुभव छैन । यसैले, व्यक्तिका रूपमा असल हुँदाहुँदै पनि राहुल भाजपाको घृणायुक्त शासनविरुद्ध सफल प्रतिरोध चाहने समूहका लागि आशा गर्न लायकका व्यक्ति होइनन् ।

उनले एक समय भारतको निर्वाचन आयोगको पक्षपाती आचरणजस्ता महत्वपूर्ण मुद्दा उठाए । तर, त्यस्तो महत्वपूर्ण मुद्दालाई उनले जति लामो समय लिएर हिँड्नुपर्थ्यो, हिँडेनन् । अर्को अवसरमा उनले अचानक ‘भोट चोरी’को विषयमा पत्रकार बोलाएको देखियो । र, जब त्यस विषयलाई जोडतोडका साथ अघि बढाउनुपर्थ्यो, उनी युरोप वा ल्याटिन अमेरिकाको भ्रमणमा निस्किए । यस्तो राजनीतिक अनुशासनहीनता भारतजस्तो देशको प्रमुख दलका नेतामा अनुपयुक्त हुन्छ ।

वास्तवमा, लोकसभा सदस्यका रूपमा पहिलोपटक चुनिएयताको २२ वर्षमा राहुलले आफ्ना मुद्दालाई लामो समय निरन्तरता दिएको एक मात्र अवसर ‘भारत जोडो यात्रा’ नै थियो । त्यस अभियानका केही महिना मात्र राहुल निरन्तर मैदानमा कठोर परिश्रम गरिरहेका देखिए । जबकि, यस्तो मैदानमा मिहिनेत भाजपा नेता सधैँ गरिरहेका हुन्छन् । आजकल उनका राजनीतिक हस्तक्षेप प्रायः सामाजिक सञ्जाल ‘एक्स’मा सीमित देखिन्छ । सामाजिक सञ्जालले तत्काल केहीको ध्यान आकर्षित गर्न नसक्ने होइन, तर धेरैले २४ घण्टाभित्रै त्यहाँ के लेखिएको थियो, बिर्सिसकेका हुन्छन् ।

अनुभवको हकमा उनीसँग हालसम्म कुनै पनि सरकारी पदमा बसेर काम गरेको अनुभव छैन । मनमोहन सिंह नेतृत्वमा रहेको ‘युनाइटेड प्रोग्रेसिभ अलाइन्स (युपिए)’सरकारको दश वर्षसम्म विभिन्नपटक आग्रहका बाबजुद राहुलले मन्त्री पद लिन अस्वीकार गरे । भारतजस्तो विशाल र विविधतायुक्त देशको कुनै पदमा बसेर काम नगरेका व्यक्ति प्रभावकारी प्रधानमन्त्री हुन्छन् र भूराजनीतिक वातावरणमा काम गर्न सक्छन् भनेर आममतदाताले कसरी विश्वास गर्ने ?

राहुल गान्धीको अर्को कमजोर विगतका गल्तीबाट सिक्न नखोज्ने प्रवृत्ति पनि हो । सन् २०१९ को आमनिर्वाचनमा उनले मोदीविरुद्ध ल्याएको ‘चौकीदार चोर है’ अभियानलाई मोदीले चौकीदार समुदायविरुद्ध भएको बताएर उल्टै राहुललाई अप्ठ्यारोमा पारिदिए । त्यस अनुभवबाट पाठ सिकेर मोदीको शासकीय असफलतालाई निसाना बनाउनुको साटो राहुलले अझै प्रधानमन्त्रीमाथि ‘कायर’, ‘बिकेको’जस्ता व्यक्तिगत आक्रमण गर्न छाडेका छैनन् ।

कंग्रेसभित्रका शीर्ष नेताहरू राहुलविरुद्ध गरिएका यी सबै आलोचनालाई स्वीकार गर्छन् । तर, गान्धी परिवारप्रतिको जीवनभरको समर्पणले हुन सक्छ, उनीहरू राहुलकी बहिनीलाई राहुलका विकल्प मान्छन् । र, उनै प्रियंका सफल प्रधानमन्त्री हुन सक्ने सोच राख्छन् । ढिलो गरी राहुल ‘नयाँ नेहरू’ नभएको बोध गरेका कंग्रेसीहरू प्रियंका ‘नयाँ इन्दिरा’ हुन सक्ने आशा राख्न थालेका छन् । निश्चित रूपमा बहुसंख्यक उत्तर भारतीयले बुझ्ने हिन्दी भाषामा प्रियंकाको भाषण उनको दाइको भन्दा धेरै राम्रो छ । तथापि, उनीमाथि निश्चित पारिवारको सदस्य भएको भार छ । र, विगतमा परीक्षणकै आधारमा हेर्ने हो भने उनी थप असफल देखिन्छिन् । सन् २०२२ को उत्तर प्रदेश विधानसभा चुनावमा उनले कंग्रेस पार्टीको चुनावी अभियानको नेतृत्व गरेकी थिइन् । त्यस चुनावमा कंग्रेसले निकै दयनीय रूपमा २.२७ प्रतिशत मात्र मत पाएको थियो ।

वंश परम्पराप्रति आम–असन्तोष
संयोगवश, हालै विभिन्न राज्यमा सम्पन्न विधानसभा चुनाव कमै ध्यान दिइएको एउटा समान प्रवृत्ति देखियो, वंश राजनीतिप्रति मतदाताको आम–असन्तोष । असाममा तरुण गोगोईका छोराले कंग्रेस अभियानको नेतृत्व गर्दा त्यहाँ भाजपालाई फाइदा पुग्यो । त्यस्तै, पश्चिम बंगालमा ममता बनर्जीले आफ्नो भदा अभिषेक बनर्जीलाई पदोन्नति गर्ने प्रयास गरेका थिए, जहाँ भाजपाले निकै राम्रो प्रदर्शन गर्यो ।

दक्षिणी राज्यमा पनि यही प्रवृत्ति देखियो । तमिलनाडुमा तत्कालीन मुख्यमन्त्री एम.के. स्टालिनले आफ्ना छोरा उदयनिधिलाई अगाडि बढाउन खोज्दा प्रतिद्वन्द्वीलाई फाइदा भयो । उता केरलामा कम्युनिस्ट मुख्यमन्त्री विजयनले आफ्ना ज्वाइँलाई अघि बढाउने प्रयास गरेका थिए । त्यहाँ कंग्रेसलाई फाइदा भयो । अवश्य पनि, ती राज्यको चुनावी परिणाममा अरू पनि धेरै कारकले काम गरेको थियो, तर वंश परम्पराप्रतिको आम–असन्तोष पनि एउटा प्रमुख कारण थियो ।

एउटा कुरा के स्पष्ट हुनुपर्छ भने कंग्रेसको ‘फस्ट फ्यामिली’ भनिने गान्धी परिवारको आलोचना वर्तमान मोदी सरकारको समर्थन अवश्य पनि होइन । सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएदेखि सार्वजनिक संस्थानको निरन्तर क्षय भइरहेको छ । प्रेस र न्यायपालिकालाई त्रसित बनाइएको छ । लोकतान्त्रिक प्रक्रिया दिन–प्रतिदिन कमजोर बनेको छ । त्यस्तै, मोदीको आगमनपछि देशका धार्मिक अल्पसंख्यकविरुद्ध क्रूर व्यवहार भइरहेको छ । मोदी सरकारले कैयौँ गलत विदेश नीति लियो । त्यस्तै, मोदीले ‘क्रोनी’ पुँजीवादलाई अँठ्याएर देशको वन, माटो, पानी र हावाको विनाश गरेको कुरा कसैबाट लुकेको छैन ।

मे २०१४ देखि भारतको गणतन्त्रको भइरहेको पतनका प्रमुख शिल्पकार नरेन्द्र मोदी, अमित शाह र उनीहरूको पार्टी भाजपा हुन् भन्ने कुरामा कुनै शंका छैन । तर, मोदी र अमित शाहको शासनलाई सुदृढ बनाउनमा जानी–नजानी सोनिया गान्धी, राहुल गान्धी र उनीहरूका चाटुकारको पनि हात छ । 

अहिले मोदी र उनको नेतृत्वमा रहेको भाजपा कसैले हराउन नसक्ने शक्ति देखिँदै छ । तर, केही अघिसम्म हंगेरीमा भिक्टर ओर्बान र उनको पार्टी फिडेज पनि त्यस्तै देखिन्थ्यो । तैपनि, उनीहरूलाई कमैले चिनेको पिटर मग्यार र उनी नेतृत्वको भर्खरै खोलिएको टिस्जा पार्टीले असाधारण हार चखायो । जित निकाल्न मग्यारले ठुलो मिहिनेत गरेका थिए । 

चुनाव आउन दुई वर्ष बाँकी छँदै उनी देशको कुनाकुना पुगे । यस क्रममा उनले साना सहर मात्र होइन, हंगेरीका गाउँगाउँसम्म पुगे । भ्रमणका क्रममा उनी ओर्बानको शासनमा संस्थानमा पुगेको क्षयबारे आफ्नो तर्क पेस गर्थे । त्यति मात्र होइन, मग्यारले ओर्बानविरुद्ध वामपन्थी, उदारवादी र मध्य दक्षिणपन्थी सबै दलको विपक्षी गठबन्धन निर्माण गर्न लगनशीलतापूर्वक काम गरे । उनी एक नयाँ अनुहार थिए, यसैले भ्रष्टाचार तथा वंश राजनीतिको छाप लगेको थिएन । र, त्योभन्दा बढी उनको कठोर परिश्रम उनको सबैभन्दा अतुलनीय सम्पत्ति थियो ।

फाइनान्सियल टाइम्सले उद्धृत गरेअनुसार हंगेरीका एक सम्पादकले मग्यारबारे यस्तो भनेका छन्, ‘उनी अविश्वसनीय रूपमा सक्रिय र उत्प्रेरित देखिन्छन् । अरूसँग साधनस्रोत थिए होलान्, तर उनले भित्रसम्म पसेर मिहिनेत गरे ।’ दुर्भाग्यवश, भारतमा राहुल वा प्रियंका गान्धीबारे कसैले यस्तो भन्न सक्दैनन् ।

मोदी नेतृत्वको भाजपामा अहिले कसैले हराउन सक्दैन भन्ने एक भावना व्याप्त छ । तर, आगामी वर्षमा यो भावनामा धक्का लाग्ने सम्भावना उच्च छ । मोदीको शासनमा सार्वजनिक शैक्षिक क्षेत्रमा ठुलो गडबडी भएको छ, पछिल्लो ‘निट परीक्षा प्रकरण’ यही गडबडीको लक्षण मात्र हो । केन्द्र सरकारको आर्थिक कुप्रबन्धनको मार सबैले भोग्दै छन् । पछिल्लो समय कक्रोच जनता पार्टीमार्फत सरकारविरुद्ध चलेको व्यंग्यात्मक ‘मिम्स’ अभियानको सफलताले पनि आमभारतीय युवाले सत्तारुढ दलको झुट र प्रचारबाट बुझ्न थालेको संकेत गर्छ । (सरकारले यो व्यंग्यात्मक अभियानसमेत सहन सकेन र तीमािथ प्रतिबन्ध लगाउन थालेको छ ।)

तर, यहाँ पनि एउटा गम्भीर प्रश्न उठ्छ । जब वर्तमान शासनप्रति मोहभंग गहिरिँदै जान्छ, तब कसले यसलाई प्रभावकारी राजनीतिक प्रतिरोधको रूप देला ? कुन नेताले वर्तमान सरकारको असफलतामा मात्र जोड नदिई रचनात्मक आर्थिक तथा सामाजिक नवीकरणका कार्यक्रम प्रस्तुत गरेर देशभरका मतदातालाई प्रेरित गर्न सक्छ ? विगतको रेकर्डलाई हेर्दा यो काम राहुल गान्धी र प्रियंका गान्धीका दाजुबहिनीमध्ये एक वा दुवैबाट हुन सक्ने सम्भावना लगभग असम्भव छ ।

गुहा भारतीय इतिहासकार तथा वातावरणविद् हुन् । 

– द टेलिग्राफबाट

सुझावित समाचार