पूर्वगृहमन्त्री सुधन गुरुङको लगानी र सम्पत्तिबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्षताको समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको हो ।
बिचौलिया दीपक भट्टका कम्पनीसँग साझेदारी र स्रोत नखुलेको सम्पत्तिको विषयमा प्रश्न उठेपछि गुरुङले गत ९ वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । १८ वैशाखमा सरकारले छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहमहान्यायाधिवक्ता अच्युतमणि न्यौपाने थिए ।
भट्टको नेतृत्वमा खुलेका कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा उनको २५–२५ लाखको सेयर छ । भट्टसँगको निकटताकै आधारमा उनले सो सेयर पाएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए ।
पछि सरकारले एक महिनाको समय दिएर छानबिन समिति गठन गरेको हो । समितिका अध्यक्ष भण्डारीका अनुसार ७७ जिल्लाबाटै विवरण मगाएर उनको सम्पत्तिको विषयमा छानबिन गरिएको छ । ‘वस्तुगत रूपमा व्याख्या गरेर प्रमाण जता भारी छ, त्यहीअनुसार निचोड निकालेका छौँ,’ उनी भन्छन्, ‘यसलाई सम्बन्धित निकायले नै छिटो सार्वजनिक गरिदियोस् र सबैजना सुसूचित हुने मौका पाऊन् भन्ने हाम्रो अपेक्षा छ ।’
आयोगले उनको गाडी र हाउजिङमा लगानी, धनकुटाको जग्गा खरिद तथा पोखराको जग्गा लिज प्रकरणमा समेत छानबिन गरेको छ। आफ्नो सम्पत्तिको स्रोत पुष्टि गर्न उनले वडामा कागज गरेर ऋण लिएकोदेखि विदेशबाट पठाएको रेमिट्यान्सको प्रमाण पेस गरेका छन् ।
स्रोतका अनुसार गुरुङले आफ्नो सम्पत्तिमध्ये कतिपय आफन्तले विदेशबाट रेमिट्यान्सका रूपमा पठाएको भनेर बयानमा बताएका छन् । ती व्यक्तिहरूसँग पनि समितिले कागज गरेको छ । कतिपयसँग अनलाइनमार्फत नै कागज गरिएको अध्यक्ष भण्डारीले बताए । उनका केही सम्पत्तिको विषयमा भने आयोगले कैफियत निकालेको स्रोत बताउँछ ।
सांसद गुरुङ भने गृह मन्त्रालयमै फर्कने प्रयासमा छन् । प्रतिवेदनबारे सरकारले आगामी साता निर्णय गर्ने सम्भावना छ ।