रोल्पामा सवारी दुर्घटना तथा विपतबाट ६ जनाको मृत्यु भएको छ। बुधबार र बिहीबार फरक–फरक दुर्घटनामा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डिएसपी) पञ्चबहादुर बाखुले जानकारी दिए। बिहीबार राति माडी गाउँपालिका– २, व्याङखोलामा एमएच १४ टिसिजे ४७१ अस्थायी नम्बरको सामान बोक्ने भ्यान दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेहरूमा चालक दाङको घोराही उपमहानगरपालिका– ७, देसाहीका वीरबहादुर चौधरी, गाडीमा सवार दाङको दंगीशरण गाउँपालिका– ७, श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका– १४ बस्ने जिउधन चौधरी र उनकी श्रीमती कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पामा सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । जस्तापाता, सिमेन्ट, प्लास्टिकको पाइपलगायत निर्माण सामग्री लिएर रोल्पाको घर्तीगाउँतिर गइरहेको उक्त भ्यान सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको प्रहरीको भनाइ छ । राति दुर्घटना भएका कारण चालक निदाएका कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यस्तै बिहीबार नै रोल्पाको रुन्टीगढी गाउँपालिका– ९, सखीका ४४ वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको छ । मृतक नेपाली आफ्नै घरनजिकैको पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए। उनी क्षयरोगका बिरामी रहेको प्रहरीको भनाइ छ । यता जिल्लाकै गंगादेव गाउँपालिका– ६, रातामाटामा खहरे खोलाको भेलले बगाउँदा विद्यालयबाट घर फर्किरहेका दुई बालकको ज्यान गएको छ। बुधबार बेलुकी विद्यालयबाट घर फर्कने क्रममा रातामाटाकै निमबहादुर खड्काका सात वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समीर केसीको मृत्यु भएको प्रहरीको भनाइ छ । अत्यधिक वर्षातका कारण बढेको खहरे खोला तर्न खोज्दा बगाएको हुन सक्ने प्रहरीको भनाइ छ।