- प्रधानमन्त्री तारिक रहमान नेतृत्वको नयाँ सरकार आफ्नो पहिलो १०० दिनमा अपेक्षाको तुलनामा धेरै परिपक्व, संयमी र तर्कसंगत देखिन्छ । रहमान आफैँले पनि यस अवधिमा शान्त, दृढ र राज्यकला प्रदर्शन गर्न खोजेझैँ देखिन्छन् ।
कुनै पनि सरकारको शासन १०० दिनभित्र मूल्यांकन गर्न गाह्रो हुन्छ, तर नयाँ नेतृत्वको प्रवृत्ति अवलोकन गर्न यो पर्याप्त समय हो । बंगलादेशको नवगठित सरकारबारे छलफल गर्दा आशा र सावधानी दुवै महसुस हुन्छ । आशा यस अर्थमा कि सरकारले अहिलेसम्म उपेक्षित मुद्दालाई सम्बोधन गर्न पहल, आत्मविश्वास र दृढता प्रदर्शन गरेको छ । अर्कोतर्फ, देशका समस्या अझै जस्ताको तस्तो छ । तसर्थ, यी समस्या समाधान गर्न थप समय चाहिन्छ ।
फेब्रुअरी १२ मा सम्पन्न १३औँ संसदीय चुनावमार्फत सत्तामा पुगेको नयाँ सरकारसँग दबाब र अवसरको असामान्य संयोजन छ । राजनीतिक द्वन्द्व, सामाजिक अविश्वास र वित्तीय अस्थिरताका कारण देश कठिन अवस्था सामना गरिरहेको थियो । तोकिएको समयमा निर्वाचन गर्नु नै तत्कालीन सरकारका लागि ठुलो सफलता थियो । निर्धातिर समयमा सम्पन्न निर्वाचनको परिणाम बिएनपीको पक्षमा आयो । समाजका विभिन्न तह र तप्काबाट पार्टीप्रति अत्यन्त उच्च अपेक्षा रह्यो ।
प्रधानमन्त्री तारिक रहमानले पहिलो सय दिनमा प्रतिशोध, चर्का बयानबाजी र नाटकीयताको सट्टा शान्त, दृढ संकल्प र राज्यकला प्रदर्शन गर्न खोजेका छन् । सत्ता सञ्चालनमा प्रधानमन्त्रीले आफ्नो हालसम्म नदेखिएको नरम पक्ष पनि उजागर गरेका छन् । वर्षौं रहमान देशका सबैभन्दा विवादास्पद राजनीतिक व्यक्तित्वमध्ये एक थिए । उनका समर्थकले उनलाई अभूतपूर्व विश्वास गरे पनि धेरैले अविश्वास गर्थे । यसबाहेक, उनले धेरै वर्ष निर्वासनमा बिताए । उनले राजनीतिक जीवनमा फर्कन निकै कठिनाइको सामना गरे । यद्यपि, पहिलो १०० दिनले समर्थकको नजरमा उनलाई पहिलेभन्दा बढी नम्र नेताका रूपमा चित्रित गर्ने प्रयास गर्यो ।
प्रधानमन्त्रीले आफ्नो सार्वजनिक भाषणमा धैर्य र संयम प्रदर्शन गर्ने गरेका छन् । कूटनीतिक बैठकले उनले कठोरताको सट्टा नरम मनोवृत्ति रोजेको खुलासा गरे । बंगलादेशमा राजनीति सामान्यतया चर्को स्वर, टकराव र आक्रामकताले दिशानिर्देश गरेको हुन्छ, तथापि प्रधानमन्त्रीले नम्रता अपनाउने निर्णय गरे । निरन्तर शत्रुताले थकित देशका लागि नम्रताले पनि केही हदसम्म फाइदा दिन सक्छ ।
यस सरकारको एउटा सकारात्मक पक्ष यसले राजनीतिक विरोधलाई ‘ट्याकल’ गर्न अझ समझदार तरिका रोजेको छ । नीतिहरूको सन्दर्भमा सरकारले आफ्नो गतिविधि प्रदर्शन गर्छ । पहिलो, जनताले अपेक्षा गरेअनुसार मुद्रास्फीति, ऊर्जा, रोजगारी र कानुन कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको छ । दोस्रो, किसान र गरिब नागरिकलाई सहयोग गर्न डिजाइन गरिएका कदम चालिएका छन् । तेस्रो, यो सरकारले बुझेको छ कि सफल हुनका लागि यसले देशलाई प्रभावकारी रूपमा शासन गर्ने आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा बिएनपी सरकारले तर्कसंगत रूपमा काम गरिरहेको देखिन्छ, किनकि देश साहसिक नीति वहन गर्न असमर्थ छ । आज बंगलादेशले छिमेकी देशहरू, प्रमुख शक्तिहरू, दाता देशहरू र क्षेत्रीय खेलाडीहरूसँग एकैचोटि राम्रो सम्बन्ध कायम राख्ने तरिका खोज्नुपर्छ । अहिलेसम्म सरकार यस विषयमा सफल भएको छ ।
यद्यपि, आगामी महिनामा बिएनपी सरकारले सामना गर्ने चुनौती धेरै छन् । आज, बंगलादेशको राजनीतिक जीवनको सबैभन्दा कठिन पक्ष यसको संस्कृति हो । सत्तारुढ दलहरू जितले प्रभुत्व जमाउने अधिकार दिन्छ भन्ने विचारको सिकार हुन्छन् । यसका आधारमा ती संरक्षण प्रणाली र आफ्नै बफादारीमा अत्यधिक विश्वासको गर्ने अवस्थाको सिकार हुन्छन् । यदि सरकारले पनि उही गल्ती दोहोर्यायो भने यसको लोकप्रियता द्रुत गतिमा घट्ने सम्भावना छ । अर्को समस्या सरकारबाट अपेक्षाहरूको स्तरसँग सम्बन्धित छ । सत्तारूढ दलले चुनाव जितेपछि, यसको राजनीतिक पुनरागमन, लचिलोपन र देशको सुधारबारे मिथक देखा परेका छन् । यद्यपि, संकेतले वास्तविक परिवर्तनको नेतृत्व गर्नुपर्छ ।
नयाँ सरकारले आफ्नो पहिलो १०० दिनमा अपेक्षाको तुलनामा धेरै परिपक्व, संयमी र तर्कसंगत देखिन्छ । यसलाई राजनीतिबाट पीडित भएको व्यक्तिगत अनुभव वा देश परिवर्तन भएको बुझाइद्वारा व्याख्या गर्न सकिन्छ । बंगलादेश अब अनन्त टकराव चाहँदैन । मानिसहरू काम गर्ने संस्थाहरूसँग मिलेर सामान्य रूपमा बाँच्न चाहन्छन् । यसबाहेक, तिनीहरू तर्कको आवाज सुन्न चाहन्छन् । पूर्ण मूल्यांकनका लागि एक सय दिन धेरै छोटो छ । तथापि यस अवधिले एक महŒवपूर्ण प्रवृत्ति भने गर्छन्, जुन हो सम्भावना ।
(लेखक सेन्टर फर गभर्मेन्स स्टडिज (सिजिएस) का राजनीतिक विश्लेषक हुन्)
बंगलादेशको डेली स्टारबाट