रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

भारतको पाँचदिने औपचारिक भ्रमणमा रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन र नयाँ सरकारसँग सहकार्य गर्न आफू उत्सुक रहेको मोदीले बताए ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल मार्फत भनेका छन्, 'नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण ऐक्यबद्धता छ। 'हाम्रो छिमेकी पहिलो' नीति अन्तर्गत नेपाल एक प्राथमिकताको साझेदार हो र हाम्रा दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउनका लागि नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौँ।'

भेटमा भारतीय पक्षबाट भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश मन्त्री डा एस जयशंकर समेतकाे उपस्थिती रहेको थियो ।

यसअघि मंगलबार सभापति लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा भव्य स्वागत गरिएको थियो । नेपालका शीर्ष नेताका रूपमा उच्च महत्त्व दिएअनुसार उनलाई नयाँदिल्लीस्थित ६ ए–पण्डित दीनदयाल उपाध्याय मार्गस्थित भाजपा मुख्यालयमा पुष्पगुच्छा र रातो कार्पेटले स्वागत गरिएको थियो । सभापति लामिछानेलाई भाजपा अध्यक्ष नितिन नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गरेका थिए ।

लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले मंगलबार नै भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्वअध्यक्ष अमित शाह र विदेशमन्त्री डा. एस जयशंकरसँग छुट्टाछुट्टै छलफल गरेको थियाे । 

सुझावित समाचार