युद्धको चपेटामा परेको इराकले दोस्रोपटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गर्न ४० वर्ष प्रतीक्षा गर्यो । सन् १९८६ मा इराकले पहिलोपटक विश्वकप खेलेको थियो । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउन इराकले चार दशक लगायो । प्ले–अफ खेलमा इराकले मेक्सिकोमा बोलिभियालाई स्तब्ध पार्दै विश्वकपको टिकट पक्का बनाएको हो ।
सन् १९८६ मा इराकका प्रमुख खेलाडीमध्ये करिम अलावी थिए । अहिले उनी समर्थकका रूपमा विश्वकप हेर्ने तयारीमा छन् । उनले प्रतिस्पर्धा गरेको विश्वकपमा इराक लगातार खेलमा पराजित भएको थियो । पाराग्वे, बेल्जियम र आयोजक राष्ट्रसँग इराक त्यसवेला नराम्रोसँग पराजित भएको थियो । विश्वकपको डेब्युमा स्मरणीय बनाउन नसक्दा करिम दुःखी छन् । ‘हामीले त्यसवेला जित निकाल्न सक्थयौँ, तर युरोप र दक्षिण अमेरिकी राष्ट्रविरुद्ध इराकले राम्रो खेल्न सकेन,’ सन् १९८६ को विश्वकप सम्झँदै करिमले भने, ‘यसपटक पनि हामी कठिन समूहमा छौँ, तर जितका लागि प्रयास गर्छौँ ।’ इराकले यसपालि नर्वे, फ्रान्स र सेनेगलविरुद्ध खेल्दै छ । चार करोड ६० लाख जनसंख्या भएको इराकले बोस्टनमा नर्वेसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।
‘यो समूहलाई अगाडिदेखि नै डरलाग्दो भनेको छ,’ करिमले भने, ‘सन् १९८६ को तुलनामा यसपटक अलि कठिन यात्रा हुनेछ, तर चार दशकपछि विश्वकपमा पुगेको इराकले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास छ ।’ उनले फ्रान्स र सेनेगललाई कठिन प्रतिद्वन्द्वीका रूपमा लिएका छन् । उनी भन्छन्, ‘फ्रान्स विगतका विजेता र सेनेगल अफ्रिकन च्याम्पियन हुन् । उनीहरूसँग हामीले योजनाबद्ध रूपमा खेल्नुपर्छ । नर्वेका इंग्लिस प्रिमियर लिगका स्टार खेलाडी हाल्यान्ड छन् ।’ फिफा वरीयतामा इराक ५७औँ स्थानमा छ । इराकको सबैभन्दा बलियो पक्ष नै घोषित सबै खेलाडीसँग युरोपियन फुटबलको अनुभव छ । लामो अन्तरालपछि विश्वकपमा इराक पुगे पनि उसका खेलाडीहरू युरोपियन भूमिमा व्यावसायिक फुटबल खेलिरहेका छन् । यसकारण पनि इराकले सन् १९८६ पछि राम्रो नतिजा निकाल्नमा करिमले बताए । ‘हामीहरू चार दर्शकपछि विश्वकपमा पुगे पनि खेलाडीहरू अनुभवी छन्,’ करिमले भने ।
युरोपियन लिगमा आबद्ध इराकी खेलाडी
इराकका अली अल हमादी इस्विच टाउनमा आबद्ध छन् । यसैगरी, म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पनि जिदान इक्वाल पनि अनुभवी खेलाडीमा पर्छन् । उनी पछिल्लो समयमा नेदरल्यान्ड्सको क्लबमा छन् । यसैगरी, केभिन याकोब आबद्ध डेनमार्कको क्लबले पछिल्लो सिजनमा एजिएफ लिग जितेको थियो । इराकलाई प्रशिक्षण दिइरहेका हिरिङ ग्राहमको प्रशिक्षणमा पछिल्लो संस्करणमा अस्ट्र्लेिया विश्वकपको दोस्रो चरणमा पुगेको थियो । उनले योपटक इराकलाई पनि पहिलो चरण पार गराउने लक्ष्य राखेको छ ।
‘हामीलाई समूहमा कमजोर रूपमा हेरिएको छ, तर हाम्रो शक्ति हामीलाई थाहा छ,’ इराकका पूर्वखेलाडी अल रिकावीले भने, ‘९० मिनेटको प्रतिस्पर्धामा जसले राम्रो खेल्छ । जित उसैको हुन्छ । हामी अप्रत्याशित नतिजा निकाल्न तयार छौँ ।’ इराकले विश्वकपमा दबाबरहित खेल्ने उनले बताए । ‘इराकको समूहमा अरू टोली दबाबमा हुनेछ । किनभने, हामी दोस्रोपटक विश्वकप खेल्दै छोँ । फ्रान्स र सेनेगल अनुभवी राष्ट्र हुन् । उनीहरूलाई जितको दबाव हुने छ । यसको फाइदा इराकले उठाउने छ,’ रिकावीले भने, ‘फेरि इराकसँग क्षमतावान् खेलाडीहरूको कुनै कमी छैन ।’
इराकले डेढ सातापछि सुरु हुने विश्वकपमा एक गोल गर्दा पनि ठुलो सफलता मिल्ने पूर्व खेलाडी करिमले बताए । ‘जित मात्र होइन इराकले योपटक विपक्षी पोस्टमा एक गोल गर्दा पनि ऐतिहासिक प्रदर्शन हुनेछ,’ उनले भने, ‘सन् १९८६ पछिको नतिजा सुधार्ने प्रयास हो ।’
अस्थिर राजनीति र युद्ध
इराकमा सद्दाम हुसेन रहँदासम्म फुटबल लगभग प्रतिबन्ध जस्तै थियो । सद्दामले सन् १९८४ मा आफ्नो छोरालाई इराक फुटबल संघको जिम्मा दिए । उदय हुसेनले राष्ट्रिय टोलीमाथि आतंकको शासन चलाए । २००३ मा सद्दामको पतनपछि इराकमा फुटबल ब्युँतिएको हो । ‘सद्दामको समयमा खेलाडीलाई क्रूर सजाय र यातना दिइएको थियो । खेलाडीहरूलाई कंक्रिट बलले प्रशिक्षण दिन बाध्य पारिएको थियो,’ करिमले भने, ‘खेलमा पराजित हुँदा खेलाडीलाई कोर्रा लगाइयो अनि जेल हालिन्थ्यो ।’ अमेरिकाले सद्दामको शासन अन्त्य गरेपछि मात्र खेलाडीहरूले राहत पाएको करिमको अनुभव छ । ‘सद्दाम हुसेनको फाँसीपछि इराक एक किसिमले स्वतन्त्र भएको थियो । त्यसपछि मात्र यहाँ विभिन्न खेलहरू गतिविधि अगाडि बढे,’ करिमले भने, ‘त्यसमध्ये फुटबलले छिट्टै आफ्नो पुरानै बाटो समायो । अहिले इराक विश्वकपमा पुगेको छ ।’