निजगढ र ललितपुरबिच भगिनी सम्बन्ध स्थापनाकाे तयारी

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

निजगढ नगरपालिका र ललितपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना हुने भएको छ। निजगढले भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया सुरु गरेपछि छलफलका लागि सोमबार निजगढ आएका ललितपुरका मेयर चिरिबाबु महर्जनले आफूहरू पनि भगिनी सम्बन्धका लागि इच्छुक रहेको र थप छलफलपछि निर्णयमा पुगिने बताए।

निजगढ नगरपालिकाबाट सम्बन्ध कायम गर्न पत्राचार भएपछि मेयर महर्जन कार्यालयका प्रशासन प्रमुख सागर थापासहित निजगढ आएका थिए। निजगढका नगरप्रमुख सुरथ पुरीको कार्यकक्षमा भएको छलफलको क्रममा निजगढ नगरपालिकाको बारेमा जानकारी लिनुको साथै ललितपुर महानगरपालिकाले सम्पादन गरेका विकास निर्माणलगायतका योजनाहरूको बारेमा पनि जानकारी दिइएकाे थियो।

निजगढ–काठमाडाैं द्रुतमार्गको बुंगमतीमा विवाद उत्पन्न भएपछि आफूहरूकै पहलमा हाल नेपाल सरकारले ललितपुरकै फर्सिडोलबाट वैकल्पिक सडक निकाल्ने तयारी गरेको नगरप्रमुख महर्जनले बताए।

निजगढका मेयर सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, विभिन्न वडाका अध्यक्षहरूले मेयर महर्जनको स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले ललितपुर निजगढबाट सबैभन्दा नजिकको महानगरपालिका भएको र भगिनी सम्बन्ध कायम भएपछि दुवै पालिकाले लाभ लिन सक्ने बताए। ‘ललितपुर निजगढबाट अहिले पनि नजिकै छ,’ उनले भने, निजगढ–काठमाडाैं द्रुतमार्ग निर्माण भएपछि एक घण्टाभित्रमै पुग्न सकिन्छ।’

नगरप्रमुख पुरीले निजगढको सामाजिक, आर्थिक, भौगोलिक र भविष्यको सम्भावनाबारेमा पनि मेयर महर्जनलाई जानकारी गराएका थिए। निर्माणाधीन द्रुतमार्ग, पूर्व–पश्चिम र रक्सौल–काठमाडाैं रेल्वे तथा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको निजगढसँगको भगिनी सम्बन्धबाट दुबै पालिकाका बासिन्दाले लाभ लिन सक्ने मेयर पुरीको भनाइ थियो।

‘ललितपुरलाई यहाँको खाद्यान्न, फलफूल र वन पैदावारको उपयोग गर्न सहज हुनेछ,’ उनले भने, ‘निजगढका किसानको आफ्नो उत्पादनले पनि सुरक्षित, सहज र भरपर्दो बजार प्राप्त गर्नेछन्।’

नगरप्रमुख पुरीले दुवै पक्षमा रहेका लाभकारी सम्भावनालाई दृष्टिगत गर्दै निजगढ नगरपालिकाले ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्ध बनाउने प्रस्ताव गरेको बताए। उनले नगर कार्यपालिकाको बैठकबाट प्रस्ताव अघि बढाउने निर्णय गरेको पनि जानकारी दिए।

नेपालको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भगिनी सम्बन्ध स्थापना गर्न सक्ने व्यवस्था गरेको छ। यस्तो सम्बन्धले आपसी सहकार्य, अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्ध विस्तार तथा विकासका क्षेत्रमा साझेदारी गर्न मद्दत पुग्ने विश्वास छ।

सो अवसरमा निजगढका नगरप्रमुख पुरी र उपप्रमुख थिङले ललितपुरका प्रमुख महर्जनलाई उपहारस्वरूप निजगढमा उत्पादन गरिएको माल्भो केराको घारी र दुधको खुवा दिएका छन्।

सुझावित समाचार